April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

लन्डन । बढ्दो वातावरणीय असन्तुलनलाई नियन्त्रण गर्न पर्यावरण साहित्यले महत्वपूर्ण भूमिका खेल्ने इको साहित्यकार एवम् अभियन्ताहरूले बताएका छन् । प्रकृति र मानवबीचको सम्बन्धलाई पर्यावरण साहित्यले उजागर गर्ने भन्दै मानवीयताका लागि इको साहित्य र दर्शनलाई अघि बढाउन उचित हुने समेत राय अगाडि सारेका छन् ।


विश्व नदी दिवसका अवसरमा आइतबार स्वतन्त्रता सङ्ग्रामी प्रसाद सिंह सुब्बा अकादमी, असमले आयोजना गरेको भर्चु्अल कार्यक्रममा साहत्यिकार एवम् समालोचकहरूले पर्यावरण साहित्यले पृथ्वी र मानव सभ्यता बचाउका लागि मार्गदर्शन गर्ने समेत औँल्याएका छन् । अकादमीले पर्यावरणीय साहित्य र समालोचनाबारे राखेको अन्तर्राष्ट्रिय भर्चुअल संगोष्ठीमा बोल्दै समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले पर्यावरण साहित्यले वातावरण असन्तुलनको मात्रै कुरा मात्रै नगरी मानवीय संस्कृति, माटो विज्ञान, जीव विज्ञान लगायत विज्ञानका धेरै हाँगाहरू र जनजीवनबारे चिन्तन गर्ने बताए ।

Advertisement


‘प्रकृतिको वर्णन् मात्रै इको साहित्य होइन । यसले प्रदूषणको विषय मात्रै हलुका ढंगले उठाउँदैन,’ उनले भने, ‘मान्छे र प्रकृतिबीचको विशिष्ट सम्बन्ध यसले बताउँछ । यसले जीवनको मूल्यबोध गराउँछ ।’ डा. भट्टराईले जलवायु परिवर्तनका मुद्दामा शक्तिशाली राष्ट्रहरूले मुख खोले पनि पर्यावरण संरक्षणका लागि पर्याप्त काम हुन नसकेको भन्दै दुखेसो पोखे । ‘सबैभन्दा ठूला प्रदूषक राष्ट्रहरू नै मौन छन् । गरीब मुलुक र सिमान्तकृत समुदाय पीडित छन् । अब पृथ्वी, पर्यावरण र मानव सभ्यता जोगाउनेका लागि नोबेल पुरस्कार स्थापना हुनुपर्छ,’ प्रा.डा. भट्टराईले भने । उनले सन् २००७ मा लेखेको चर्चित पुस्तक उत्तरआधुनिक विमर्शमा समेत पर्यावरणीय चेतनाबारे उल्लेख गरेका छन् । त्यसैगरी, त्रिविका अङ्ग्रेजी विभागका पूर्व प्रमुख भट्टराईले नेपालमा पहिलोपटक पान्थरका स्रष्टा स्व. अमर नेम्वाङले पर्यावरणीय चेतले साहित्य सिर्जना गरेको समेत तथ्य अगाडि सारे । उनले विज्ञान अचेत र नैतिकताबिनाको मुढा भएको समेत भन्दै कटाक्ष गरे । ‘विज्ञान अन्ध भएको छ । विष बनाउँछ । पेस्तोल बनाउँछ । किसानलाई सुखी बनाउने भन्दै झारसँगै पूरै जीव मार्ने कीटनाशक औषधी उत्पादन गर्छ । यसकारण, सर्जकहरूले विवेक प्रयोग गरेर विषय उठान गर्नुपर्छ,’ उनले थपे ।

भर्चु्अल कार्यक्रममा सहभागीहरू ।

त्यसैगरी, बेलायतमा रहेर विगत एक दशकभन्दा बढी समयदेखि इको साहित्यबारे वकालत गर्दै आएका वातावरणविद् एवम् साहित्यकार विजय हितानले पर्यावरण साहित्य अबको शताब्दीको साहित्य भएको बताए । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका अध्यक्ष समेत रहेका हितानले इको साहित्यका लागि आफूले जैविक विविधता संरक्षण, जलवायु परिवर्तनको असर, आदिवासी र प्रकृतिबीचको सम्बन्ध लगायत दश बुँदे विषयहरू उपर लेखिएको साहित्य नै इको साहित्य हुने विचार राखे । ‘अबको स्रष्टाले क्ला–फाई(क्लाइमेट फिक्सन) पनि लेख्नुपर्छ,’ हितानले भने । उनको पछिल्लो कथा संग्रह ‘ब्लू प्लानेट’ फिनिक्स प्रकाशन काठमाडौँले प्रकाशन गरेर सार्वजनिक हुने क्रममा समेत रहेको छ ।

यसैगरी, सिक्किममा रहेका समालोचक डा. देवचन्द्र सुब्बाले पर्यावरण साहित्यमा प्रकृति र मान्छे छुट्न नहुने भन्दै त्यसतर्फ लेखक सर्जकहरूलाई सचेत रहन आग्रह गरे । उनले प्रायोजित लेखन भन्दा पनि सचेततापूर्वक विषयवस्तुको गम्भीर बोध गरेर लेख्नुपर्नेमा जोड दिए । ‘प्रायोजित भएर लेख्नु ठीक हुन्न । हामी पनि प्रकृतिकै अंग हौँ । यसकारण प्रकृतिकै भाग सम्झेर इको साहित्य लेख्नुपर्छ,’ उनले भने ।

अकादमीका अध्यक्ष छत्रमान सुब्बाको अध्यक्षता तथा सचिव अञ्जन बाँस्कोटाको सञ्चालनमा भएको कार्यक्रममा समीक्षक ज्ञान बहादुर क्षेत्रीले गोष्ठीको औचित्यबारे बोलेका थिए । गोष्ठीमा आधा दर्जन बढी सर्जकहरूले कविता, गीत समेत सुनाएका थिए । सिर्जना सुनाउनेहरूमा बेलायतबाट अमित थेवे, काठमाडौँबाट शशी भट्टराई श्रेष्ठ, असमबाट मुक्ति उपाध्याय, अमर बानियाँ, निलीमा आचार्य, डा. देवेन सापकोटा, रञ्जु पाण्डे, बिलोक शर्मा, तिलक शर्मा रहेका थिए । अकादमीले यसअघि डायस्पोरा साहित्यबारे गोष्ठी राखेका थिए ।