April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
किशोरी हत्याका आरोपी पक्राउ

किशोरी हत्याका आरोपी पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा किशोरीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका वडा नं. १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।


तीन दिनअघि अर्थात गएको शुक्रबार बिहान फुङ्लिङ नगरपालिका–७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको सव फेला परेको थियो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई हाल सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बस्दै भएकी पुष्पाको सव शंकास्पद अवस्थामा फेला परेपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

Advertisement


पीडित परिवारले समेत पुष्पाको हत्या भएको र हत्यामा संलग्नता हुनसक्नेभन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवकमाथि नै किटानी जाहरी दिएका थिए । पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैंले हत्या गरेर सव फालेको भनी स्वीकारेपछि प्रहरीले सार्वजनिक गरेको हो ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हत्या आरोपी कार्की र किशोरीबीच आठ–नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत भएको र विवाहको प्रशंग उठाउँदा अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् । लामो समयदेखि नै आफूलाई गालीगलौज गर्ने तथा अनावश्यक तनाव दिने गरेका कारण योजनामै हत्या गरेकोसमेत कार्कीको बयान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता घटना भएको सुरुकै दिनदेखि आफन्तले भने पुष्पाको हत्या भएको र हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म सव जिम्मा नबुझ्ने बताउँदै आएका थिए । आइतबार बिहान मात्र पीडित परिवारले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउनमा प्रहरी प्रशासन उदासिन भएको आरोप लगाएका थिए । आफूहरुले आशंका गरेका व्यक्तिविरुद्ध सुरुमै किटानी जाहेरी दिँदासमेत प्रहरीले बेवास्था गरेको पनि उनीहरुको गुनासो थियो ।


हत्या गरिएकी पुष्पाका बुबा बीरबहादुर लिम्बूले छोरीको हत्या नै भएको आशंकामा किटानी जाहेरी दिएको र घटनामा संलग्नलाई पक्राउ नगरेसम्म न्यायका लागि आन्दोलित हुने साथै महिनौ दिनसम्म पनि सव नबुझ्ने पत्रकार सम्मेलनमा बताउनुभएको थियो । प्रहरी उदासिनता वा बेवास्ताले पीडित परिवारलाई थप पीडा र उत्तेजनामा पु¥याएकाले घटनाको सत्यतथ्य पत्ता नलगाउनमा अधिकारकर्मी, सञ्चारकर्मी समेतलाई सहयोग गर्न उहाँले आग्रह गर्नभएको थियो ।


यसरी पीडित परिवारले घटना शंकास्पद भएको र सत्यतथ्य पत्ता नलगाएसम्म सव नबुझ्ने साथै हत्यामा संलग्नलाई चाँडो पक्राउ गरी सार्वजनिक गर्न माग गरिरहेका बेला आइतबार नै प्रहरीले घटनाका दोषीलाई सार्वजनिक गरेको हो । हत्या आरोपी सार्वजनिक गरेपछि आफन्तले सव पनि बुझेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा सव पोष्टमार्टम गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार जिल्ला अदालतबाट म्याद थपेर आरोपीउपर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।


ती किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत रहनुभएको थियो । शंकास्पद र रहस्यमय अवस्थामा पुष्पाको सव भेटिएपछि घटनामा संलग्नलाई पक्राउ नगरेसम्म सवको पोष्टमार्टम गर्नसमेत नदिई तीन दिनसम्म नै सव जिम्मा नबुझ्ने बताउँदै आएका थिए ।