May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुहरू खास याक्थुुङ कि लिम्बु ?

लिम्बुहरू खास याक्थुुङ कि लिम्बु ?

हाल लिम्बु भनिने जाति खास याक्थुङ हुन् । याक्थुङ उनीहरुको मौलिक नाम हो । याक्थुङ भन्दा उनीहरु गर्व गर्छन् । उनीहरुको भाषा याक्थुङ पाःन् (याक्थुङ भाषा) हो । याक्थुङ भाषामा अर्थ सरल र स्पष्ट रूपमा खुल्छ । उनीहरुको बसोबास याक्थुङलाजे हो । पहिले याक्थुङलाजे छुट्टै देश थियो ।

याक्थुङ कहिलेदेखि भन्न थालियो यकिन छैन । यो इतिहासको हजारौँ हजार वर्ष पहिलेबाट सुरु भएको अनुमान छ । याक्थुङहरूको राजालाई याक्थुङहाङ भनिन्थ्यो । उनीहरूको संविधान र विधानलाई याक्थुङथिम भनिन्थ्यो । पुरुष र महिलालाई क्रमश याक्थुङ भाषामा याक्थुङ्बा र याक्थुङ्मा भनिन्छ । सामूहिक नामको रुपमा याक्थुङ भनिन्छ ।

Advertisement

अब लिम्बु कसरी भयो त भन्दा यो याक्थुङलाजेमा अन्य देशको आधिपत्य भएपछि उनीहरूले याक्थुङहरुलाई लिम्वु भने । लिम्बु के आधारले भने यकिन छैन । तर विभिन्न अर्थ लगाएर भने । अलिक हेला होचोको रुपमा भनेको देखिन्छ । कता कता याक्थुङ भाषाकै अर्थ लाग्लाकि जस्तो भएकोले र सरकारी पक्षले लिम्बु भनेपछि स्वीकारेका थिए । नस्वीकार्दा पनि दण्ड सजाय हुन सक्थ्यो । यो शव्द वि.सं. १८०० पछि सुरु भएको अनुमान गर्न सकिन्छ । त्यो बेला याक्थुङलाजेमा मकवानपुरको सेन वंशको बोलवाला थियो । याक्थुङलाजेलाई अधीनस्थ गरेको थियो । सेनले याक्थुङहरुलाई राय पनि भन्थे । राय भनेको राजा हुन्थ्यो ।

याक्थुङलाजे वि.सं. १८३१ देखि गोरखा नेपालमा सहराज्यमा प्रवेश पछि लिम्बु र लिम्बुवान भनिन थालियो । याक्थुङलाई लिम्बु भनियो भने याक्थुङलाजेलाई लिम्बुवान भनियो ।
पहिले अहिले जस्तो नामको पछि थर लिम्वु लेख्नु पर्दैनथ्यो । नाम मात्र लेख्ने चलन थियो । यो नामको पछि थर लेख्ने चलन यहीँ वि.सं. २००० सालपछि मात्र देखिन्छ । अनि स्कुल जान थाले पछि । त्यसपछि मात्र आआफ्नो थर । लिम्बु लेख्न लगाइयो ।

लेखक पालुङ्वा ।

यो लिम्बु शव्द हाईब्रिड जस्तो भएकोले याक्थुङ भाषामा मेल खाँदैन । याक्थुङ पाःन् भाषामा आङगा याक्थुङ्वा (म याक्थुङवा हो) भनेझै याक्थुङ पाःनमा भन्दा आङ्गा लिम्बु मिल्दैन, हुँदैन । त्यसैले स्पष्ट हुन्छ कि लिम्बु याक्थुङ भाषा होईन । तर हाल यो लिम्बु शव्द याक्थुङको पर्यायवाची जस्तो भएको छ ।

याक्थुङ अभियान किन ?

अहिले युवा पुस्तामा याक्थुङ अभियान चलेको छ । याक्थुङ युवाहरू लिम्बुको सट्टामा याक्थुङ स्थापित गर्न चाहन्छन् । यो कुरा उनीहरूले राम्ररी बुझिसकेका छन् । त्यसैले वि.सं. २०७८ को नेपालको राष्ट्रिय जनगणनामा जातिमा लिम्बु नलेखेर याक्थुङ लेख्न गईरहेका छन् ।

के लिम्बु नलेख्दा असर पर्छ त ?

जनगणनामा याक्थुङ लेखेर लिम्बु नलेख्दा असर पर्दैन । यदि सबै लिम्बु लेख्नेले याक्थुङ लेखे भने धेरै राम्रो हो । याक्थुङ स्थापित भैहाल्थ्यो । तर यसपालि त्यस्तो नहोला । यसपालि कसैले याक्थुङ लेख्छन्, कसैले लिम्बु लेख्छन्, कसैले याक्थुङ लिम्बु लेख्छन्, थोरैले सुब्बा र किरात लेख्लान् । किरात लेख्ने छुट्याउन नसकेर अन्य जातिमा जान्छ । तर याक्थुङ, लिम्बु, याक्थुङ लिम्बु र सुब्बा एउटै भएकोले लिम्बु जाति मात्र उल्लेख गर्नेछन् या याक्थुङ लिम्वु उल्लेख हुनेछ ।

लिम्बुवानका लागि असर होला त ?

लिम्बुवानका लागि याक्थुङ या लिम्बु जे लेखेपनि असर पर्दैन । किनकि लिम्बु भनेको याक्थुङ र लिम्बुवान भनेको याक्थुङलाजे हो । याक्थुङलाजेको समस्या जातीय होईन राष्ट्रिय समस्या हो । यो बुझेर पनि काम गर्नुपर्ने हुन्छ । यसको लागि सरोकारवालाले बुझेर काम गर्नु पर्ने हुन्छ ।

याक्थुङ थोरै भए याक्थुङ भाषालाई असर पर्ला ?

खासै पर्दैन । किनकि अहिलेको स्थानीय सरकारको संरचनाले स्थानीय भाषालाई पनि पठनपाठन तथा सरकारी कामकाजको भाषा बनाउने हुनाले याक्थुङ बाहुल्य क्षेत्रमा याक्थुङ भाषालाई प्रोत्साहन दिनुपर्ने हुन्छ र स्थानीय स्तरवाट प्रयोग र विकास हँुदै आउनेछ । सरकार पनि पहिलेको राणा शासन र पञ्चायती शासनजस्तो नभएको र प्रजातान्त्रिक भएकोले डराउनु पर्दैन ।

याक्थुङ नै लेख्दा के फाइदा छ त ?

याक्थुङ लेख्दा आफ्नो असली पहिचान देखिन्छ । याक्थुङलाजेको मूलवासीको रूपमा परिचय गराउनेछ । याक्थुङ या याक्थुङ्सा भन्ने बित्तिकै खाम्बोङवासा लुङबोङवासाको पहिचान खुल्नेछ । आदिवासीको पहिचान हुनेछ । विश्व आदिवासीको साथ र समर्थन रहनेछ । संयुक्त राष्ट्रसंघको नजर पर्नेछ ।

याक्थुङ पहिचान कायम गराउने भूमिका कसको ?


खासमा याक्थुङ पहिचान स्थापित गराउने मूख्य भूमिका याक्थुङ चुम्लुङ संस्थाको हो । तर उल्टो याक्थुङ चुम्लुङले अगाडि किरात राखेर किरात र लिम्बुलाई बढी प्राथमिकता दिएर याक्थुङको अस्तित्व नष्ट गर्न लागिरहेको छ । उसले याक्थुङ पुरानो र मौलिक पहिचानको शव्द हो भनेर भुलेर नयाँ आगन्तुक शब्द किरात र लिम्बुलाई प्राथमिकता दिएको छ ।
तर याक्थुङ जुझारु याक्थुङ अभियन्ता युवाहरुको कारण याक्थुङ शव्दको सम्मान भैरहेको छ र स्थापित हुने क्रममा छ । याक्थुङ अभियन्ताहरु कसैको बहकाईमा नलागी स्वस्फुर्त रूपमा संसारभरवाट लागि परिरहेका छन् । साथै संस्थागत रूपमा युमा साम्यो महासभाले कार्य गरिरहेको छ ।

अब के हुन्छ ?

अव याक्थुङ र लिम्बु बीच वैचारिक द्वन्द्व हुन्छ । अन्तमा याक्थुङ विचारले जित्दछ । केही वर्ष पछि सवैले याक्थुङ स्वीकार्नेछन्, लेख्नेछन् । त्यसका लागि याक्थुङ चुम्लुङले किरात शब्द हटाउन बाध्य हुनेछ र युमा साम्योसँग मिलेर नेपाल सरकारलाई जानकारी गराउनेछन् र लिम्बुको सट्टा याक्थुङलाई लिपिबद्ध गराउनेछन् ।