April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा नेपाली गीत सार्वजनिक

बेलायतमा नेपाली गीत सार्वजनिक

लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो ।

जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ गीतकार दिनेश अधिकारी र यूकेबाट सम्पादक गुरूङले एकसाथ पुस्तकको कभर सार्वजनिक गरेका थिए । पुस्तकमा बेलायतमा ८० गीतकारका १६० गीतहरू समावेश छन् । सर्जकका रचनासहित संक्षिप्त परिचय पनि अटाइएको सम्पादक गुरूङले बताए ।

Advertisement

यसैगरी, प्रमुख अतिथिका रूपमा रहेका साहित्यकार सरुभक्तले बोल्दै कृतिले बेलायतमा रहेका नेपाली सर्जकहरूको सिर्जनात्मक क्षमतालाई उचित स्थान दिएको बताए । उनले गीतको विधामा लेखिरहेका र छुटेका अन्य स्रष्टाहरू समेटेर दोस्रो संस्करण निकाल्न समेत सम्पादकलाई आग्रह गरे ।

कृति विमोचन गर्दै अतिथिहरु र सम्पादक ।

विमोचित किताबउपर बोल्दै गीतकार अधिकारीले प्रवासमा बसेर भएर पनि गीतमार्फत् मातृभूमिप्रतिको प्रेमदेखि मानवीय संवेदनासम्मका विषयहरू आएको बताए । यद्यपि, गीतमा कोमलतासँगै अनुशासन पनि महत्वपूर्ण तत्व हुने भन्दै त्यसतर्फ सर्जकहरू सजग हुनुपर्ने जनाए ।

कार्यक्रम मञ्चका अध्यक्ष गौरी तमुको अध्यक्षता र महासचिव रोशनी गुरूङको सञ्चालनमा भएको थियो । कार्यक्रममा उपाध्यक्ष रोशन गुरूङले स्वागत मन्तव्य राखेका थिए ।