‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’
विजयपुर । धरानमा कम्युनिष्टको सत्ता धेरैपटक आए । आधुनिक नगर भएपनि सहरका गल्ली गल्लीमा दैनिक ज्याला मजदुरी गरेर खानेको जमात छ । सुकुम्वासी वस्ती कहिलएका क्षेत्रहरूमा सामान्य बनिबुत्तो गरेर खानेहरूको समूह छ । पहाडबाट झरेका र मधेशबाट आएका समुदायहरूले प्राचीन नगरी विजयपुरलाई आफ्नो घर बनाएको छ । यहीँ सहरमा कुनै बेला पसिनाले निथ्रुक्क हुने गरी रिक्सा कुदाउने मजदूरहरू देखिन्थे । अहिले सिटी सफारी र सफा टेम्पोहरूले रिक्सा र रिक्सा चालकहरू अन्यत्रै मोडिएका छन् ।
‘दिन बिताउँछु, रिक्सा कुदाउँछु
सहरको गल्ली गल्ली
मन भुलाउँछु, तिमीलाई हेर्छु
परबाट फर्की फर्की
मेटिसक्यो हातको रेखी
सुकिसक्यो शरीरको पसिना’
धन्न रिक्सा कुदाउनेहरूलाई स्मरण गरेर यो गज्जबको गीत तयार भएको छ । धराने रङ्गमञ्चको पछिल्लो पुस्ता जसलाई तन्नेरी र तरुनी रङ्गकर्मीहरूले हाकेका छन् । उनीहरू क्रमशः छोटा चलचित्र र भिडियो निर्माणहरूको काममा लम्केका छन् । यसैको एउटा नमुना हो – ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको गीत । सर्जक विशाल नाल्वोको शब्दमा मजदुरको प्रेम कहानी कुदिएको छ । उनले भुइँ तहका मान्छेको निजी जीवन र नितान्त व्यक्तिगत क्रियाकलापको कल्पना गरेर गीत रचना गरेका छन् । गरिखाने मान्छेको जीवनजस्तो सरल र सादगीपनले भरिएका । गीत सहजै मनमा बस्न सक्छ ।
गीतलाई भोजपुर आइडल भएर चर्चामा आएका कुमार प्रधान कल्पितले सङ्गीत दिएका छन् । उनकै स्वरमा रेकर्ड भएको गीतमा प्रिय लामा तामाङले साथ दिएका छन् । गीतले कता कता ‘तीपाते’ गीतपछाडिको तलतललाई मेटेको भान हुन्छ । कम्पोजिसन, भिडियोको कथा, पृष्ठभूमिमा केही आंशिक समानता भएर पनि त्यसो भएको हुन सक्छ । स्वरमा निखारता र फिल्मी स्वाद भने पक्कै छ । गायक प्रधानको स्वर चलचित्रको पाश्र्व गायनका लागि उपयुक्त छ ।
गीतमा अभिनय गर्ने विष्णु मोक्तान र तुलसा थापा अब त चिरपरिचित अनुहार भइसकेका छन् । रङ्गभूमि एकेडेमीका उन्नत उत्पादन हुन् दुवै कलाकारहरू । थिएटर र फिल्ममा राम्रो अनुभव लिइसकेका मोक्तान र नाटकहरूमा राम्रो अभिनय क्षमताका लागि प्रशंसा कमाएका थापा दुवैले यस भिडियोबाट वाहवाही पाउनेमा कुनै दुई मत छैन । गीतमा मोक्तान रिक्सा चालक र थापा सब्जी बेच्ने तरकारीवालीको भूमिकामा छन् । गीतमा सुजता राई, अश्मिन सुवेदी र सन्देश दाहालको अभिनय पनि देख्न सकिनेछ ।
सबैभन्दा उल्लेख गर्नुपर्ने पक्षचाहिँ यस गीतका भिडियोका निर्देशक हरि इवाहाङ लिम्बुको रहेको छ । यसअघि रङ्गकर्ममा कलाकारका रूपमा रहेका इवाहाङले पहिलोपटक म्युजिक भिडियोको निर्देशकका रूपमा परिचय दिएका छन् । उनको अवधारणा गज्जब पनि देखिन्छ । एक सब्जी व्यापारीको कामका सिलसिलामा कृषि उपज बजार केन्द्रमा रिक्सा चालकसँग भेट हुन्छ । तरकारीवालीको सादगीपन, रूप र मायालु व्यवहार देखेर यात्राका क्रममा रिक्सा चालकको मन पग्लिन्छ । उनलाई भेट्ने लालसमा रिक्सा चालकको दैनिकी फेरिन्छ । बाटामा अरू कसैलाई भेट्दा पनि उनी ठानेर झस्किन्छन् । आफ्नो भाग्यको कुरा थाहा पाउन कर्ममा विश्वास गर्ने मजदुर ज्योतिषीकहाँ पनि पुग्छन् । अन्त्यमा, उनी प्रस्ताव लिएर तरकारीवालीकहाँ पुग्छन् । बिस्कुटको पुरिया बोकेका उनले एक टुक्रा आफू खान्छन् । आधा उनलाई दिन्छन् । आधा भाग टोकेपछि दुवैको प्रेम कहानीको पाङ्ग्राले गति लिन सुरु गर्छ ।
कथा सरल छ । निर्माता मिलन चाम्लिङ राईले निर्माण गरेको भिडियोको छायांकन देवराज सिग्देल(मोती)ले उत्कृष्ट ढंगले गरेका छन् । धरान रंगशाला, कृषि फर्म र विकास निर्माणले चिल्ला बनाएका सडकहरूको चित्रणका लागि उनले क्यामेरालाई भरपूर उपभोग गरेका छन् । सट छनोटमा उनको सीप देख्न सकिन्छ । भिडियोको सम्पादन अनिल राना मगरले गरेका छन् । जसले गर्दा अन्तिम रूप दर्शक श्रोताका लागि प्रियकर बनेको छ । मनिष गन्धर्वको सारङ्गी र रत्न विकेको बाँसुरी वादनले मन चसक्कै बनाउँछ । सम समीरले एरेन्ज गरेको गीत कपिल सुनुवारले अपार रेकर्डिङ स्टुडियोमा मिक्सिङ, मास्टरिङ र रेकर्डिङ गरेका छन् । भिडियोलाई सहज रूपले निर्माण गर्न श्रंगारमा महेश सिग्देल, प्रकाशमा रञ्जित लवार र सुशील अधिकारी, यातायातमा सुरेश थापा मगर र राजेन्द्र आचार्यले साथ दिएका छन् ।
गत अक्टोबर एक तारिखमा सार्वजनिक भएको साढे पाँच मिनेट लामो गीतलाई कुपी क्रिएसनको आफ्ने युट्युब च्यानलबाट सुन्न र हेर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्