April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

विजयपुर । धरानमा कम्युनिष्टको सत्ता धेरैपटक आए । आधुनिक नगर भएपनि सहरका गल्ली गल्लीमा दैनिक ज्याला मजदुरी गरेर खानेको जमात छ । सुकुम्वासी वस्ती कहिलएका क्षेत्रहरूमा सामान्य बनिबुत्तो गरेर खानेहरूको समूह छ । पहाडबाट झरेका र मधेशबाट आएका समुदायहरूले प्राचीन नगरी विजयपुरलाई आफ्नो घर बनाएको छ । यहीँ सहरमा कुनै बेला पसिनाले निथ्रुक्क हुने गरी रिक्सा कुदाउने मजदूरहरू देखिन्थे । अहिले सिटी सफारी र सफा टेम्पोहरूले रिक्सा र रिक्सा चालकहरू अन्यत्रै मोडिएका छन् ।

‘दिन बिताउँछु, रिक्सा कुदाउँछु
सहरको गल्ली गल्ली
मन भुलाउँछु, तिमीलाई हेर्छु
परबाट फर्की फर्की
मेटिसक्यो हातको रेखी
सुकिसक्यो शरीरको पसिना’

Advertisement

धन्न रिक्सा कुदाउनेहरूलाई स्मरण गरेर यो गज्जबको गीत तयार भएको छ । धराने रङ्गमञ्चको पछिल्लो पुस्ता जसलाई तन्नेरी र तरुनी रङ्गकर्मीहरूले हाकेका छन् । उनीहरू क्रमशः छोटा चलचित्र र भिडियो निर्माणहरूको काममा लम्केका छन् । यसैको एउटा नमुना हो – ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको गीत । सर्जक विशाल नाल्वोको शब्दमा मजदुरको प्रेम कहानी कुदिएको छ । उनले भुइँ तहका मान्छेको निजी जीवन र नितान्त व्यक्तिगत क्रियाकलापको कल्पना गरेर गीत रचना गरेका छन् । गरिखाने मान्छेको जीवनजस्तो सरल र सादगीपनले भरिएका । गीत सहजै मनमा बस्न सक्छ ।


गीतलाई भोजपुर आइडल भएर चर्चामा आएका कुमार प्रधान कल्पितले सङ्गीत दिएका छन् । उनकै स्वरमा रेकर्ड भएको गीतमा प्रिय लामा तामाङले साथ दिएका छन् । गीतले कता कता ‘तीपाते’ गीतपछाडिको तलतललाई मेटेको भान हुन्छ । कम्पोजिसन, भिडियोको कथा, पृष्ठभूमिमा केही आंशिक समानता भएर पनि त्यसो भएको हुन सक्छ । स्वरमा निखारता र फिल्मी स्वाद भने पक्कै छ । गायक प्रधानको स्वर चलचित्रको पाश्र्व गायनका लागि उपयुक्त छ ।

गीतमा अभिनय गर्ने विष्णु मोक्तान र तुलसा थापा अब त चिरपरिचित अनुहार भइसकेका छन् । रङ्गभूमि एकेडेमीका उन्नत उत्पादन हुन् दुवै कलाकारहरू । थिएटर र फिल्ममा राम्रो अनुभव लिइसकेका मोक्तान र नाटकहरूमा राम्रो अभिनय क्षमताका लागि प्रशंसा कमाएका थापा दुवैले यस भिडियोबाट वाहवाही पाउनेमा कुनै दुई मत छैन । गीतमा मोक्तान रिक्सा चालक र थापा सब्जी बेच्ने तरकारीवालीको भूमिकामा छन् । गीतमा सुजता राई, अश्मिन सुवेदी र सन्देश दाहालको अभिनय पनि देख्न सकिनेछ ।

सबैभन्दा उल्लेख गर्नुपर्ने पक्षचाहिँ यस गीतका भिडियोका निर्देशक हरि इवाहाङ लिम्बुको रहेको छ । यसअघि रङ्गकर्ममा कलाकारका रूपमा रहेका इवाहाङले पहिलोपटक म्युजिक भिडियोको निर्देशकका रूपमा परिचय दिएका छन् । उनको अवधारणा गज्जब पनि देखिन्छ । एक सब्जी व्यापारीको कामका सिलसिलामा कृषि उपज बजार केन्द्रमा रिक्सा चालकसँग भेट हुन्छ । तरकारीवालीको सादगीपन, रूप र मायालु व्यवहार देखेर यात्राका क्रममा रिक्सा चालकको मन पग्लिन्छ । उनलाई भेट्ने लालसमा रिक्सा चालकको दैनिकी फेरिन्छ । बाटामा अरू कसैलाई भेट्दा पनि उनी ठानेर झस्किन्छन् । आफ्नो भाग्यको कुरा थाहा पाउन कर्ममा विश्वास गर्ने मजदुर ज्योतिषीकहाँ पनि पुग्छन् । अन्त्यमा, उनी प्रस्ताव लिएर तरकारीवालीकहाँ पुग्छन् । बिस्कुटको पुरिया बोकेका उनले एक टुक्रा आफू खान्छन् । आधा उनलाई दिन्छन् । आधा भाग टोकेपछि दुवैको प्रेम कहानीको पाङ्ग्राले गति लिन सुरु गर्छ ।

कथा सरल छ । निर्माता मिलन चाम्लिङ राईले निर्माण गरेको भिडियोको छायांकन देवराज सिग्देल(मोती)ले उत्कृष्ट ढंगले गरेका छन् । धरान रंगशाला, कृषि फर्म र विकास निर्माणले चिल्ला बनाएका सडकहरूको चित्रणका लागि उनले क्यामेरालाई भरपूर उपभोग गरेका छन् । सट छनोटमा उनको सीप देख्न सकिन्छ । भिडियोको सम्पादन अनिल राना मगरले गरेका छन् । जसले गर्दा अन्तिम रूप दर्शक श्रोताका लागि प्रियकर बनेको छ । मनिष गन्धर्वको सारङ्गी र रत्न विकेको बाँसुरी वादनले मन चसक्कै बनाउँछ । सम समीरले एरेन्ज गरेको गीत कपिल सुनुवारले अपार रेकर्डिङ स्टुडियोमा मिक्सिङ, मास्टरिङ र रेकर्डिङ गरेका छन् । भिडियोलाई सहज रूपले निर्माण गर्न श्रंगारमा महेश सिग्देल, प्रकाशमा रञ्जित लवार र सुशील अधिकारी, यातायातमा सुरेश थापा मगर र राजेन्द्र आचार्यले साथ दिएका छन् ।

गत अक्टोबर एक तारिखमा सार्वजनिक भएको साढे पाँच मिनेट लामो गीतलाई कुपी क्रिएसनको आफ्ने युट्युब च्यानलबाट सुन्न र हेर्न सकिन्छ ।

सार्वजनिक भएको गीत ।