April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘पहिचानवादी दलसँग कम्तीमा चुनावी मोर्चा र गठबन्धन गर्नुपर्छ भन्ने  हाम्रो धारणा हो’

‘पहिचानवादी दलसँग कम्तीमा चुनावी मोर्चा र गठबन्धन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’

नेपालको पूर्वी भेगमा विगत डेढ दशकअघिदेखि सङ्खुवा–अरूण–सप्तकोसीपूर्व लिम्बुवान प्रदेशको स्थापनाको माग राख्दै आन्दोलनरत राजनीतिक सङ्गठनमध्ये सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च एक हो । मञ्चको प्रवास सङ्गठनका रूपमा सङ्घीय लिम्बुवान सामाजिक मञ्च दर्जन बढी मुलुकमा क्रियाशील छ । सबैभन्दा ठूलो प्रवास समिति रहेको यूके समितिको शनिबार तेस्रो महाधिवेशन लन्डनको फेल्थाममा हुँदैछ । यसै सेरोफेरोमा रहेर सन् २०१८ देखि संलिसाम यूके अध्यक्ष रहेका टङ्क खापुङसँग सिलौटी टाइम्सका सम्पादक अमित थेवेले गरेको कुराकानीको सारसंक्षेप तल प्रस्तुत छ :

कोरोना महामारीका बीच महाधिवेशन कसरी सम्पन्न हुँदैछ ?
पुग नपुग दुई वर्षदेखि यूके लगायत विश्वका सबैजसो मुलुकहरू महामारीबाट अछुतो रहन सकेन । यसबाट सबैखाले सामाजिक, साँस्कृतिक र राजनीतिक गतिविधिहरू प्रभावित भए । हाम्रो संगठनले पनि यस विषम परिस्थितिको सामना गर्नु प¥यो । यसका बावजुद हामी आफ्नै ठाउँमा सक्रिय रह्यौँ । लकडाउन हटेर सार्वजनिक भेला हुने वातावरण बढेसँगै हामीले पनि तेस्रो महाधिवेशन गर्ने निर्णय गरेका छौँ । र, प्रबुद्ध अतिथि वर्ग र संगठनहरूको उपस्थितिमा हामी विशेषावस्थामा महाधिवेशन सम्पन्न गर्दैछौँ ।

Advertisement

यूकेमा अन्य राजनीतिक दलका प्रवास संगठनहरूको तुलनामा मञ्चको उपस्थिति कहाँ छ ?सन् २०१२ मा मञ्च स्थापना भएको हो । नेपालमा संसदमा प्रतिनिधित्व गरेको दलका हिसाबले केही सानो भएपनि यूकेमा चाहिँ मजबुत राजनीतिक संगठनका रूपमा रहेका छौँ । हाम्रा १२ शाखाहरू सक्रिय छन् । दुई सय बढी क्रियाशील सदस्यहरू छन् । सङ्गठित र साधारण सदस्य गरेर हामी राम्रो संख्यामा छौँ । संगठन दर्विलो, चुस्त र दुरुस्त छ । केन्द्रीय समितिको आकार हेर्ने हो भने त हामी यूकेमै अग्र स्थानमा छौँ ।

सन् २०१८ मा तपाई उपाध्यक्ष हुँदै दोस्रो महाधिवेशनबाट नेतृत्वमा आउनुभयो । तेस्रो महाधिवेशनसम्म आइपुग्दा संगठन केमा बढी व्यस्त भयो ?
पहिलो कुरा त, दोस्रो महाधिवेशन हुँदै गर्दा पार्टी अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले चार वर्षे रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । हामी प्रवासमा रहेर पनि सोहीमुताबिक चल्यौँ । यसको मूल लक्ष्य अब हुने संघीयदेखि प्रादेशिक चुनावहरूमा प्रतिस्पर्धात्मक शक्तिका रूपमा संगठनलाई उभ्याउने हो । ०७२ को संविधानमा हाम्रो असहमतिका बुँदाहरू छन् । संविधान संशोधन गर्दैै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत लिम्बुवान प्रदेशसहित १० जोड एक प्रदेश स्थापना गर्नु अहिलेको कार्यभार हो ।

दोस्रो, प्रदेश नम्बर एक र दुई अहिले नामविहीन छ । हामी चाहन्छौँ कम्तीमा प्रदेश दुई मधेश र प्रदेश नम्बर एक लिम्बुवान–किरात खम्बुवान रहनुपर्छ । हाम्रो मूल शक्ति यसैमा लागेको छ । तेस्रो, बेलायतमा हामी आन्तरिक संगठन विस्तार र सुदृढीकरण अभियानमा हिँड्यौँ । मेरो कार्यकालमा पार्टीका लागि संगठन विस्तार होस् भनेर गाडी खरिद गर्यौँ । वैचारिक प्रशिक्षणका लागि भनेर सह–अस्तित्व पत्रिका प्रकाशन गर्न सहयोग पु¥यायौँ । सङगठनभित्रका सदस्यहरूको देहान्त हुँदा आर्थिक सहायता उपलब्ध गराउने कार्य पनि गर्दै आएका छौँ ।

संलिसाम यूके अध्यक्ष टङ्क खापुङ ।

नेपालमा दशकौँ अघिदेखि स्थापना भएर बलियो छाप छाडेका राजनीतिक दलहरू र यहाँको पार्टी के कुरामा फरक या समान छ त ?
निश्चय पनि पहिलो कुरा त दर्शन नै हो । हामी सहअस्तित्वादी दर्शनमा विश्वास गर्छौँ । नेपालका ठूला भनिएका दलहरू एकलवादी छन्, एकात्मकवादी संरचनाका पृष्ठपोषक छन् । अर्को, पार्टी संरचना पनि हो । अन्य पार्टी केन्द्र शाषित छन् । हामी हरेक प्रान्तमा स्वायत्त र स्वशाषित छौँ । पहिचानको मूल मुद्दाले मञ्च भनेर जोडिए पनि भूगोल र साँस्कृतिक मनोविज्ञानअनुसार हामी मौलिक पाराले चल्छौँ ।

लिम्बुवान दललाई जातिवादी, क्षेत्रीयतावादी पार्टी भनेर टिप्पणी गर्नेहरू पनि छन् । यसबारे के भन्नुहुन्छ ?
मूल कुरा हाम्रो पार्टी जातिवादी होइन । आज नेतृत्व तहसम्म गैरलिम्बु, गैरआदिवासी पनि पुगेका छन् । लिम्बुवान आन्दोलनमा मनिल तामाङ सहिदसम्म भएका छन् । ‘लिम्बुको पार्टी’, ‘क्षेत्रीबाहुनविरोधी पार्टी’ आदि जस्ता कुरा सङ्कुचित, बेतुक, खोटो नियत र पहिचानको मुद्दालाई धमिल्याउने कुरा मात्रै हुन् । लिम्बुवान, खम्बुवान, थरुहट भनेका ऐतिहासिक भूगोलको नामहरू हुन् । जहाँसम्म क्षेत्रीयतावादीको आरोप छ । यो चाहिँ सरासर गलत छ । लिम्बुवान पहिचानको आन्दोलनका लागि सशक्त भूगोल र पार्टीको पनि आधार इलाका भएकोले त्यसो लागेको हुन सक्छ । आज दलित/शिल्पी मञ्च लिम्बुवानदेखि कर्णाली प्रदेशसम्म सशक्त र संगठित छ ।

लिम्बुवान आन्दोलन विघटनको दिशामा गइरहेको भन्ने पनि एकथरीको विश्लेषण छ । कुनै बेला उत्कर्षमा पुगेको आन्दोलनबाट उठेको पार्टीमा बारम्बार भइरहने विभाजन, टुटफुट किन रोक्न नसिकएको हो ?
टुट्नु आफैँमा राम्रो कुरा होइन । पार्टी यसको शिकार भएकै हो । तर, के पनि हो भने मूल कुरा विचार, सिद्धान्त पनि रहेछ । लिम्बुवानमा मात्रै होइन । नेपालका प्रायः सबै पार्टीले कुनै न कुनै रूपमा विभाजन खेपेका छन् । दुई तिहाईको दम्भ देखाउने कम्युनिष्ट शक्ति फुट्यो । अझ कैयौँ चिरा चिरामा विभक्त छन् । लोकतान्त्रि भनिएका काँग्रेस पनि दुई वटा भएको देखेकै हो । पछिल्लो समय पहिचानवादी दल भनेर भनिएको जसपा पनि दुई खेमा भयो । सबैको हविगत उस्तै छ । ठूला पार्टी सत्ता मोहका कारण फुट्दा केही नहुने । हामी सिद्धान्त र मुद्दाका हिसाबले बाटो अलग बनाउनु नाजायज होइन ।

उसो भए पहिचानवादी दलहरूको मात्रै एकताचाहिँ किन हुन नसकेको हो त ?
यो गम्भीर सवाल हो । हामीले पहिचान र लिम्बुवान स्थापनाका लागि नेपालका सबै राजनीतिक दलका नेतृत्वसँग हातेमालो गरेकै हो । प्रचण्डको २९ दलीय गठबन्धन, वैद्यको ३३ दलीय मोर्चा, उपेन्द्र यादवको ३१ दलीय गठबन्धन सबैमा सामेल भयौँ । तर, पटक पटक उहाँहरूको यात्रा सत्तामा गएर सोझियो । हामी अल्मलियौँ मात्रै । पहिचानवादी दलसँग कम्तीमा चुनावी मोर्चा र गठबन्धन गर्नुपर्छ भन्ने पार्टीको धारणा हो । एकता र विभाजनको तीतो मीठो सबै अनुभव भइसकेकोले सम्हालिएर बढ्नुपर्छ भन्ने मात्रै हो । हामी एकताविरोधी चाहिँ पटक्के होइनौँ ।

प्रदेश नम्बर एकको संसदमा यहाँको दलको पनि प्रतिनिधित्व छ । संसदमा के कस्तो आवाज उठिरहेको छ नि ?
मञ्चले पाएको एक सिटमा माननीय विष्णु तुम्बाहाङ्फे (राई) जानु भएको छ । उहाँले पहिलो दिनबाट नै लिम्बुवान प्रदेशको स्थापना र धरान विजयपुरलाई ऐतिहासिकताका आधारमा प्रादेशिक राजधानी तोकिनुपर्ने भनेर निरन्तर आवाज उठाइरहनुभएको छ । विजयपुर दरबार परिसर क्षेत्रमा भएको डोजर प्रकरणबारे कुरा उठाउनुभएको छ । साँस्कृतिक र भाषिक अतिक्रमणको विषयमा संसदको ध्यानाकृष्ट गर्नुभएको छ । गत अगष्टमा लन्डनमा गोर्खा सैनिकहरूले सत्याग्रहको नामबाट आन्दोलन मच्चाइरहँदा सांसद तुम्बाहाङ्फेले भूपू ब्रिटिस सैनिकहरूको आन्दोलनले उठाएका मागहरूबारे सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

लिम्बुवान क्षेत्रमा बसोबास गर्ने मुख्य आदिम जाति भनेर चिनिएको याक्थुङ लिम्बु समुदायमा अहिले तीव्र आन्तरिक साँस्कृतिक र धार्मिक बहस छताछुल्ल भइरहेको छ । यसले लिम्बुवान आन्दोलनलाई असर पुग्ने कतिको देख्नुहुन्छ ?
स्वाभाविक रूपमा प्रभाव त पर्छ नै । मलाई लागेको के हो भने अहिले शिक्षित नयाँ पुस्ता देखा परेका छन् । यसकारण बहस अलि बाक्लो भएको चाहिँ हो । तर, पहिले देखा नपरेको बहस अकस्मात् देखा पर्दा हामी केही आश्चर्यमा चाहिँ परेका छौँ । शक्ति केन्दहरू लिम्बुवानको मुद्दा तुहाउन अवसर कुरेर बसेका छन् । यसकारण केही सचेतचाहिँ हुनुपर्छ । बहस, संवाद, वादविवाद, तर्क नराम्रो कुरा होइन । व्यवस्थित, शालीन, भद्र र तार्किकचाहिँ हुनुपर्छ । दुई पक्ष या सर्वपक्षीय सम्मेलन या संवादबाट हल खोजिनुपर्छ । पार्टीका हिसाबले हामी अहिले रिजभ्र्डचाहिँ बसेका हौँ । भविष्यमा हुने सहजकीरणका लागि भने हामी सकारात्मक भूमिका खेल्न सक्छौँ ।