April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कवि कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

कवि कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

काठमाडौँ । छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना वरिष्ठ कविहरूलाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष २५००० हजार रुपैयाँ नगदसहितको छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेका हुन् ।

Advertisement

उक्त कार्यक्रममा प्रमुख अतिथि कुलपति उप्रेतीले कँडेल र न्यौपाने दुवै स्रष्टाहरूले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गरे । उनले भने, “डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीले सिर्जना र प्रशिक्षणका माध्यमबाट नेपाली छन्दकवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आएका छन् । उनीहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानका साथै थप हौसला प्रदान गर्ने छ ।”

छन्द पुरस्कार वितरणपश्चात् स्रष्टाहरु ।

यसै अवसरमा कुलपति उप्रेतीले कवि घनश्याम कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित ‘चन्दयुग : चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचनसमेत गरेका थिए ।

यस कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै घनश्याम कँडेलमा उच्च कवित्व प्रवाह रहेको र चन्द्रप्रसाद न्यौपाने नेपाली कविताका क्षेत्रमा एक अद्भुत प्रतिभा रहेको विचार व्यक्त गरेका थिए भने अर्का विशिष्ट अतिथि प्राज्ञ माया ठकुरीले छन्द–तरङ्गले धेरै कविहरूलाई उच्च सम्मान दिएको विचार व्यक्त गरेका थिए ।

डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राज्ञ डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सु? गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेपछि कोभिड–१९ का कारण हाल स्थगित रहेको तर वातावरण सहज हुनासाथ पुनः सञ्चालन गरिने जानकारी दिनुहुँदै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिएको बताए । उनले भने, “हामी दुई संयोजकका अतिरिक्त विभिन्न दाताहरूबाट प्राप्त रकमबाट हामीले ७,८२,५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छौँ, जसको व्याजबाट यो पुरस्कार प्रदान गर्ने गरिएको छ । साथै हामीले पुरस्कृत स्रष्टालाई सम्मान–पत्र पनि कवितामा नै प्रदान गर्ने, स्रष्टाको नवप्रकाशित कृतिको विमोचन गरिदिने र स्रष्टाका साथै उहाँकी जीवनसँगिनीलाई पनि सम्मान गर्ने परम्परा बसाएका छौँ ।”

कार्यक्रममा पुरस्कृत प्रतिभाहरू कवि चन्द्रप्रसाद न्यौपानेले यस पुरस्कारले आफूलाई थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गरेका थिए । त्यस्तै, कवि प्रा.घनश्याम कँडेलले आफूले सकेसम्म छन्द कविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

युवाकवि रूपक अलङ्कारले सञ्चालन गरेको उक्त कार्यक्रममा मधु न्यौपाने, देव लुइँटेल र डी.पी. दाहालले पुरस्कृत कविहरूका छन्दकविता वाचन गरेका थिए भने कवि ज्ञानु विद्रोही र ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले पनि कवि, कृति र कार्यक्रमका बारेमा बोलेका थिए ।