April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनएको विश्व सम्मेलन स्थगन

एनआरएनएको विश्व सम्मेलन स्थगन

काठमाडौँ । गैरआवासीय नेपाली महासंघ(एनआरएनए)को दसौँ विश्व सम्मेलन स्थगन भएको छ । दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा सम्मेलनमा प्रतिनिधिको विवाद उत्पन्न हुँदा परराष्ट्र मन्त्रालयले पत्र लेख्दै ‘हस्तक्षेप’ गरेपछि एनआरएनएको सचिवालयले सम्मेलन स्थगित भएको जनाएको हो ।

आइतबार बसेको कार्यकारी सचिवालयको भर्चुअल बैठकले अक्टोबर २३ देखि २५ सम्म तय गरेको दसौँ सम्मेलन तत्काललाई स्थगन गर्ने निर्णय गरेको थियो । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले सम्मेलन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डी बी क्षेत्रीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । मन्त्रालयको पत्रको सम्बन्धमा कानूनविद् र सम्बन्धितहरूसँग परामर्श गरी महाधिवेशनको नयाँ मिति समेत तय गर्ने पनि उनले जनाए ।

Advertisement

एनआरएनएको विज्ञप्ति ।

एनआरएनएको १० औँ विश्व सम्मेलन साथै निर्वाचनका लागि चयन हुने प्रतिनिधि छनोट प्रक्रियामा ‘धाँधली’ भएको भन्दै संस्थापन पक्षबाहेका समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएको थियो । उजुरीपश्चात् विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले विवाद समाधान नहुँदासम्म निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो । एनआरएनएमा अध्यक्षका प्रत्यासी कुल आचार्य लगायतका समूहले अध्यक्ष पन्तले प्रतिनिधि चयनमा गडबडी गरेको आरोप लगाउँदै आएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी)का लागि हुने चुनावमा प्रतिनिधित्व गर्ने ठूला राष्ट्रिय समन्वय परिषद(एनसीसी) मा बेलायत, अमेरिका, अष्टे«लिया, जापान लगायतका मुलुकहरू पर्छन् ।

एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, बद्री केसी र रविना थापाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । एनआरएनएको सम्मेलन स्थगन भएसँगै चुनावी कार्य तालिका पनि प्रभावित भएको छ ।