March 27, 2024, Wednesday
२०८० चैत्र १४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको कार्यालयको भव्य उद्घाटन

एनआरएनए यूकेको कार्यालयको भव्य उद्घाटन

अल्डरसट । आफ्नो चुनावी अभियानका क्रममा प्रचार गरेको प्रतिबद्धतालाई पूरा गर्दै गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेले आफ्नो कार्यालयको औपचारिक रूपमा उद्घाटन गरेको छ । आइतबार एनआरएनएका पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घलेले अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

सबैभन्दा ठूलो पञ्जीकृत सदस्यहरू भएको राष्ट्रिय परिषद(एनसीसी) भएपनि डेढ दशक पुरानो समितिको अहिलेसम्म व्यवस्थित कार्यालय थिएन । इङ्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्ड गरेर संयुक्त अधिराज्य(यूके)को साढे ११ हजारभन्दा बढी सदस्यहरू रहेका छन् । अगष्ट पहिलो सातामा निर्वाचित भएका अध्यक्ष प्रेम गाहा मगरसहितको प्यानलले महत्वकाङ्क्षी नेपाल हाउससँगै व्यवस्थित कार्यालय स्थापना गर्ने प्रतिबद्धता समेत पटक पटक व्यक्त गरेको थियो । योजना मुताबिक आइतबार दिउँसो भव्य कार्यक्रमबीच कार्यालय उद्घाटन गर्न सफल भएको अध्यक्ष गाहा मगरले प्रतिक्रिया दिए । ‘अब दैनिक कार्यालयीय काम गर्न सहज हुने छ । मैले यसअघि भनेअनुरुप अब एनआरएनए सातै दिन नेपाली समुदायको सेवाका लागि हाजिर छ,’ उनले भने ।

Advertisement

करिब दुई महिनाको तयारीपश्चात कार्यालयको उद्घाटन गर्न आफूहरू सफल रहेको भन्दै एनआरएनए यूकेका प्रवक्ता एवम् कार्यालय व्यवस्थापन कार्यदलका संयोजक भरतमणि चोङवाङ लिम्बुले एनआरएनएका भावी कार्यक्रम तथा क्रियाकलपाहरू सञ्चालन गर्न सहजता आएको बताए । ‘अब हामी व्यवस्थित भएर अघि बढ्नेछौँ । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हामीलाई कार्यालयमै आएर भेटघाट गर्न सक्नेछन्,’ प्रवक्ता लिम्बुले भने ।

एनआरएनएका पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घलेले अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै ।

वेलिङ्टन रोडस्थित कार्यालयको उद्घाटनपश्चात बोल्दै मुख्य अतिथि घलेले बेलायत एनआरएनको महत्वपूर्ण स्तम्भ भएको बताए । उनले बेलायत, अमेरिका, अष्टे«लिया, जापानका अभियन्ता र परिषदका कारण एनआरएनएले व्यापकता पाएको उल्लेख गरे । ‘तपाईहरू महत्वपूर्ण पिलर हुनुहुन्छ । यूके परिषदको भूमिका र सक्रियता उच्च छ । सबैभन्दा ठूलो सदस्यहरूको संख्या भएको ठाउँमा कार्यालय खडा हुनु निकै महत्वपूर्ण कुरा हो,’ उनले भने । अष्ट्रेलियाका प्रबुद्ध उद्यमीमध्येका एक घलेले एनआरएनएमा आजीवन सदस्यताको प्रणाली विकास हुनुपर्ने भन्दै आफूले प्रस्ताव गरेको ‘बियोन्ड २०२० भिजन’ लागू हुन नसकेकोमा गुनासो पोखे ।

उद्घाटन कार्यक्रममा नेपाली दूतावासकी नियोग प्रमुख रोशनी खनाल, यूकेका म्रमुख संरक्षक शेरबहादुर सुनार लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु उपस्थित थिए ।उपस्थित अतिथिहरूलाई गुल्मी समाजका कलाकारहरूले पञ्चे बाजाले स्वागत गरेका थिए । एनआरएनए यूकेका महासचिव खुसी लिम्बुले कार्यालयपश्चात अब ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको नेपाल हाउसको निर्माणमा संघ केन्द्रित हुने सिलौटी टाइम्सलाई जनाए । उनले चाँडै यसका लागि अभियान सुरु गर्ने बताए ।