April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेले कानूनी कार्वाही सुरु गर्ने, पूर्व नेतृत्वले पौने ४ करोड समितिलाई नबुझाएको आरोप

एनआरएनए यूकेले कानूनी कार्वाही सुरु गर्ने, पूर्व नेतृत्वले पौने ४ करोड समितिलाई नबुझाएको आरोप

लन्डन । गैर आवासीय  नेपाली संघ यूकेले यस अगाडिको कार्यसमितिले संस्थाको हिसाब किताव नबुझाएकोले त्यस विरुद्ध कानुनी कारवाही सुरु गर्ने भएको छ । संघको मगलबार बसेको कार्यसमितिको पूर्ण बैठकले संघको हिसाब किताब नगदी जिन्सी लगायतको सम्पत्ति हस्तान्तरण नगर्ने पूर्व कार्यसमितिको नेतृत्व विरुद्ध कानुनी प्रकृया अगाडी बढाउने निर्णय गरेको हो । बैठकले संघका अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा उपाध्यक्ष नारायण कडेल, कोषाध्यक्ष विष्णु खरेल र सदस्य आवेश राई समेत भएको एउटा समिति  बनाएर कानुनी कारबाही अगाडी बढाउने जिम्मेवारी दिएको छ । संघको नाममा करिब २ लाख २७ हजार पाउण्ड अर्थात अर्थात ३ करोड ७४ लाख नेपाली रुपियाँ भन्दा बढी नगद श्रीमती पुनम गुरुङ्ग नेतृत्वको निर्वतमान कार्य समितिले अहिले सम्म बुझाएको छैन ।

संघको विभिन्न समयमा सार्वजनिक गरिएका प्रतिवेदनहरुका आधारमा संघको नाममा विभिन्न बैंक खातामा करिब २ लाख २७ हजार पाउण्ड भन्दा बढी नगद बचत रहेको देखिएको छ । तर संघको निवर्तमान कार्यसमितिले त्यो बचत निर्वाचित कार्यसमितिलाई हस्तान्तरण गर्न मानी रहेको छैन । १८ जनवरी २०२० मा पूर्व कार्यसमितीका तर्फबाट कोषाध्यक्ष सचिन श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा एनआरएनए युकेको लोयड्स बैंक  करेन्ट एकाउण्टमा २८८ पाउण्ड, लोयड्सकै सदस्यता एकाउण्टमा ४४ पाउण्ड, एचएसविसीको च्यारिटी एकाउण्टमा ८ हजार ६६३ पाउण्ड, संघको पेपाल एकाउण्टमा १,३३९ पाउण्ड गरी जम्मा १० हजार ३३९ पाउण्ड तथा एचएसविसीको नेपाल हाउस एकाउण्टमा ४३ हजार ४१ पाउण्ड ब्यालेनस रहेको उल्लेख थियो । प्रतिवेदनमा तत्कालिन अवस्थामा संघले तिर्न पर्ने दायित्व पनि थियो, तर त्यो  दायित्व हालसम्म तिरिएको छैन भने उक्त प्रतिवेदनमा भएको नगद ब्यालेन्सको बारेमा त्यस पछाडी प्रस्तुत प्रतिवेदनमा कहिं कतै उल्लेख गरिएको छैन ।

Advertisement

यसैगरी संघको  निवर्तमान कार्यसमितिको तर्फबाट प्रस्तुत प्रतिवेदन अनुसार वर्ष २०२० र २०२१ मा सबै खर्च कटाएर सदस्यता तथा उम्मेदवारी  शुल्क वापत भएको आम्दानीबाट १ लाख ७३ हजार ७८५ पाउण्ड ब्यालेन्स छ । यसरी संघको नाममा करिब २ लाख २७ हजार पाउण्ड अर्थात ३ करोड ७४ लाख नेपाली रुपया भन्दा बढि नगद छ । यो पैसा गैर आवासीय नेपाली संघका सदस्यहरुले सदस्यता शुल्क बापत तिरेको रकम हो । श्रीमति पुनम गुरुङ्गको नेतृत्वमा रहेको निर्वतमान कार्यसमितिले यी सबै बैंक एकाउण्ट तथा संघको नाममा रहेको नगद बचत हस्तान्तरण गर्न मानेको छैन ।

यस अगाडी संघको हिसाब किताव बुझाउन अनुरोध गर्दै संघको नव निर्वाचित कार्यसमितिले निवर्तमान अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र  रोका मगरलाई पटक पटक पत्राचार गरेको थियो  भने मौखिक रुपमा समेत पटक पटक अनुरोध गरिएको थियो । संघका अध्यक्ष प्रेम गाहा मगरले संघको यस्तो अनुरोधलाई बेवास्ता गरिएकोले कानुनी प्रकृया अगाडी बढाउनु पर्ने अवस्था आएको बताए । ‘उहांहरुले हस्तान्तरण गर्छौ भन्दै भाका मात्र सार्नु भयो, तर हस्तान्तरण गर्नु भएन । आजभोलि आफुले रोक्न नचाहेको तर अर्कोले रोकेको, आफनो नाममा खातापाता नभएको बताउन थाल्नु भएको छ,’ अध्यक्ष गाहा मगरले भने । ‘खाता कस्को नाममा छ, के छ, हामीले जान्ने कुरा भएन । तर हामी एनआरएनएको सम्पत्ति बेवारिसे छोड्न सक्दैनौं ।’

जानकार सूत्रका अनुसार आफु अनुकूल नेतृत्व निर्वाचित हुने अपेक्षा सहित पुनम गुरुङ्ग नेतृत्वको समितीका केही ब्यक्तिहरुले एनआरएनए युकेको सदस्यता वापतको रकम आफ्नो नियन्त्रण भएको एउटा कम्पनीको एकाउण्टमा जम्मा गराएकाले हस्तान्तरणमा समस्या भएको हो । तर गाहा मगरको नेतृत्व निर्वाचित भए पछि अव त्यो पैसा देखाउनु पर्ने भएको छ जुन त्यति सजिलो छैन । २०१९ को निर्वाचनताका समेत सदस्यताबाट उठेको पैसा लगायत ठूलो धनराशी हिनामिना भएको थियो । त्यस विरुद्ध बेलायतको अदालतमा मुद्दा चलिरहेको छ । स्मरण रहोस् एनआरएनए युकेको कोष वापतको रकम हिनामिना गर्ने तथा डमी कम्पनी खोलेर जम्मा गर्ने गरिएकोमा त्यसको विरुद्ध मुद्दा परे पछि कम्पनी नै बन्द गर्ने प्रयास गरिएको थियो ।