April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेले राजदूत रेग्मीको औपचारिक विदाइ गर्ने

एनआरएनए यूकेले राजदूत रेग्मीको औपचारिक विदाइ गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले बेलायतको राजनीतिक तहसँगै सम्बन्ध विस्तार गर्ने भएको छ ।

बेलायतमा रहेका नेपालीहरुको समस्या समाधान तथा स्थानीय जना निर्वाचित निकायहरुमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता वृद्धिका लागि राजनीतिक तहमा नै सम्बन्ध विस्तार गर्ने योजना बनाएको अध्यक्ष प्रेम गाहा मगरले बताए ।

Advertisement

एनसीसी यूके कार्यसमितिको मंगलबार बसेको बैठकले बेलायत सरकारका मन्त्री, विभिन्न दलबाट निर्वाचित सांसदहरु, विभिन्न दलका नेता, मेयर, काउन्सिलर  तथा विभिन्न निकायका पदाधिकारीहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

अध्यक्ष गाहा मगरका अनुसार आगामी १९ डिसेम्बरमा यस्तो छलफलको आयोजना हुने छ । रशमुर बरो काउन्सिलसँगको समन्वयमा हुने रात्रिभोजसहितको छलफलमा बेलायत सरकारका रक्षा मन्त्री, विभिन्न दलबाट निर्वाचित सांसदहरु, काउन्सिलरहरु, मेयर तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहने छ । उक्त कार्यक्रमको समन्वयका लागि सचिव विष्णु चालिसेलाई जिम्मेवारी दिइएको छ ।

‘यस प्रकारको कार्यक्रमले नेपाली समुदाय र ब्रिटिश  नेतृत्वका बीचमा सम्बन्ध विस्तारसँगै समस्या समाधानमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ अध्यक्ष गाहा मगरले भने ।

रेग्मीको बिदाइ सोमबार

यसै बीच एनसीसी यूकेले बेलायतबाट फर्किन लागेका निवर्तमान राजदूत लोकदर्शन रेग्मीको बिदाइमा औपचारिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल सरकारले दुई साता अघि रेग्मीलाई फिर्ता बोलाउने  निर्णय गरेको थियो । रेग्मी आगामी साता नेपाल फर्किने छन् । उनी फर्किनुअघि आगामी सोमबार एनआरएनए यूकेले विदाइ समारोहको आयोजना गर्न लागेको हो ।

बिदाइ समारोह संयोजनका लागि एनसीसी यूकेले उपाध्यक्ष मोहन कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा सदस्य बालकृष्ण दाहाल, विशाल राई र नम्रता घलेलाई सजावटको जिम्मेवारी दिइएको छ भने सुरेश परियारलाई फोटोग्राफी, सचिव विष्णु चालिसे र सदस्य भानुभक्त घिमिरेलाई खाना, महासचिव खुसी लिम्बु, प्रवक्ता भरतमणि चोङवाङ लिम्बु र सदस्य श्याम लुइटेललाई मिडिया, मायाको चिनो व्यवस्थापन गर्न पदम शाही र उपहार व्यवस्थापन गर्न उपाध्यक्ष शकुन्तला गुरूङलाई जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउन जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए ।