April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ (लिम्बु)हरूले धर्ममा किन युमा धर्म लेख्ने ?

याक्थुङ (लिम्बु)हरूले धर्ममा किन युमा धर्म लेख्ने ?

पृष्ठभूमि :

वास्तवमा याक्थुङहरुको धर्म हुँदैन । उनीहरू संस्कारप्रधान हुन् । तर नेपाल सरकारले जनगणना लगायत विभिन्न फारमहरुमा धर्मको महल राखे पछि र उल्लेख गर्नु परेपछि धर्म लेख्नु पर्ने बाध्यता आईपरेको हो । यदि धर्म लेखिएन भने हिन्दू धर्ममा चढाईन्छ । हिन्दूबाट फरक हुनका लागि पनि धर्मको नाम चाहिने भएकोले याक्थुङहरुमा धर्मको नाम के लेख्ने भनेर समस्या आयो । कसैले युमा धर्म, कसैले मुन्धुम धर्म, कसैले किरात धर्म भनेर छलफल गर्दा गर्दै वि.सं. २०४८ सालदेखि किरात धर्म अधिकांशले लेखे । थोरैले युमा र मुन्धुम लेखे ।

Advertisement

किरात लेखेकोमा धेरैको चित्त नबुझेकोले अहिले युमा लेख्नु पर्छ भनेर याक्थुङहरु जागरुक भइरहेका छन् । वास्तवमा धर्म उल्लेख गर्नु नपरेमा याक्थुङहरु खुसी हुनेछन् । बाध्य भएर धर्मको नाम जुराउनु र लेख्नु परेको छ ।

किरात धर्म लेख्न किन वितृष्णा बढेको हो ?

कारणहरू

१. किरात शव्द याक्थुङ शब्द नभएर संस्कृतवाट आएको शव्द हो । त्यस्तै भारत देशको अन्य भाषाहरुमा प्रयोग हुने शव्द हो । यो शब्दले नराम्रो अर्थ दिने गर्दछ । जस्तै : असभ्य, पाखे, नबुझ्ने भाषा बोल्ने, फोहोरी आदि निँच जनाउँदछ ।

यो भारतमा प्राचीनकालमा बसोवास गर्ने जातिलाई पश्चिमवाट नव आगन्तुक आर्य हिन्दुहरुले प्रयोग गरेको शव्द हो । यो शव्दलाई याक्थुङहरु पचाउन सक्दैनन् । यो शब्दलाई ग्रहण गर्ने कि नगर्ने भन्नेमा विवाद छ । याक्थुङलाजेबाट बाहिर शहरमा बसोवास गर्ने र याक्थुङवारे अध्ययन कम भएकाहरु मात्र यो अपमानित शव्दलाई अंगीकार गर्दा हुन्छ भन्ने मान्यतामा छन् । उनीहरुलाई याक्थुङ शव्दमा मणि छ भन्ने हेक्का छैन । उनीहरुको लोभ नेपालमा राज्य गर्ने किरात भन्दा गमक्क हुन पाइन्छ भन्ने हो । तर यलम्बर र याक्थुङको सम्वन्ध स्पष्ट छैन । त्यसका लागि इतिहास पुनःलेखन गर्नु पर्दछ । यसर्थ याक्थुङ शब्द नभएको र नसुनिएकोले र नराम्रो अथ्र्याएकोले याक्थुङलाजेमा बस्ने याक्थुङहरु किरात शव्द प्रयोग गर्न चाहँदैनन् ।

२. याक्थुङहरुको सत्यहाङ पन्थीहरुले किरात शब्दलाई धेरै मान्यता दिएर शीरमा राखेको र धर्मको नाम किरात बनाएको र धार्मिक संस्कार पनि परिवर्तन गरी हिन्दूको अनुसार गरेकोले यो शब्दप्रति अति घृणा जागेर आएको देखिन्छ ।

३. सत्तेहाङहरु आफ्नै याक्थुङ वंशहरु र केही राजनीतिक घटकहरुले, किरात राईहरुले याक्थुङलाजे (लिम्वुवान)लाई नामेट पारी किरात शव्दसँग खेली किरात जाति, किरात भाषा, किरात लिपि, किरात राज्य बनाउने दाउपेच गरेकोले यो शब्दसँग वितृष्णा जागेको देखिन्छ ।

धर्मको नाम युमा नै किन ?

युमा शव्द याक्थुङ शब्द भएकोले र सर्वाेच्च ईश्वर सम्बन्धि भएकोले र मानिसलाई जीवन सञ्चालनका लागि दर्शन दिएकोले धर्मको नाम उपयुक्त भएको ठानिएकोले युमा नाम सही भएको ठानिएको छ ।
धर्म हुनका लागि ईश्वर चाहिन्छ । ईश्वरमा हिलिङ पावर(बिरामी निको पार्ने शक्ति), अदृश्य शक्ति, जीवन जिउने दर्शन आदि तत्व हुनु पर्दछ । यी सबै कुराहरु युमामा भएकोले धर्मको नाम सान्दर्भिक छ ।

युमा साम्यो अभियन्ताहरुले प्रयोग गर्दै आएको सिलाम साक्मा अंकित साँस्कृतिक झण्डा ।

युमा धर्म र किरात धर्ममा के फरक छ ?

पहिलो कुरो नाममा फरक विशेषता छ । युमा याक्थुङ शब्द हो । किरात आयातीत शब्द हो । युमा आफैँमा पवित्र र सम्मानित शब्द हो । ईश्वरसँग सम्बन्धित हो । किरात अपवित्र र अपमानित जनाउने शब्द हो । युमा भन्ने बितिक्कै याक्थुङ सुगन्ध आउँछ । किरात भन्ने बितिक्कै दुर्गन्ध आउँछ । हिन्दुको तल्लो जातिमा हिन्दू बनाएको आभाष आउँछ ।
धर्म संस्कारमा पनि ठीक विपरीत हुन्छ । किरात भन्ने बितिकै होम यज्ञ गर्ने, चरु पोल्ने, शंख फुक्ने शिव पार्वती मान्ने भन्ने आउँछ अर्थात् हिन्दू धर्मको एक सम्प्रदाय जस्तो बुझिन्छ भने युमा भन्ने बितिक्कै प्रकृति पुज्ने, युमा पुज्ने, कलश राख्ने, फेदाङ्मा चलाउने, माङ्गेना गर्ने, तङसिङ गर्ने जस्ता छुट्टै मौलिक विशेषता बुझिन्छ ।

अब धर्मको नाम के भन्ने त ?

मैले छोटकरीमा युमा र किरातको बारेमा प्रष्ट पारे । अब तपाईहरुलाई धर्मको नाम के लेख्दा समुदायलाई उचित हुन्छ उसरी नै लेख्न सक्नु हुनेछ । यदि तपाईहरु सच्चा याक्थुङ हो भने युमा धर्म लेख्नु प्रयुक्त हुन्छ । यदि खच्चडपन हो भने आफु्ूखुसी लेख्दा हुन्छ । तर याक्थुङ वंशको जोसुकैले पनि युमा धर्म लेख्नु उपयुक्त हुनेछ ।

लेखक पालुङ्वा ।

टुङ्ग्याउनी :

मेरो रोजाई युमा धर्म नै लेखौं र लेखाऔं भन्ने हो । युमा धर्मावलम्बी भनेको याक्थुङहरुले परम्परागत रुपमा मान्दै आएको संस्कार र संस्कृति मान्नेवालाहरुलाई भनिन्छ । यसमा प्रकृति पुजा, युमा पुजा, फेदाङमा, साम्वा, येवा, येमा, युमा थुक्मा प्रयोग गर्नेहरु पर्दछन् । त्यस्तै, माङ्गेना, नाहेन, नाहाङमा, तङसिङ गर्ने गर्दछन् । तक्सोक थिसोक, फाकसोक, चासोक आदि गर्ने पर्दछन् । आत्मा(साम) मान्ने, साम्सामा गर्ने पर्दछन् । सृष्टिकालदेखि आफ्नै परम्परा मानिल्याएको याक्थुङहरुले युमा धर्म लेख्नु पर्दछ । जसले आफ्नो मौलिकता झल्कने छ । आफ्नो पहिचान कायम रहने छ । जब धर्मको महलमा किरात धर्म लगायत अरु धर्मको नाम लेख्छौँ । आफ्नो अस्तित्व र पहिचान क्रमशः गुम्दै समाप्त हुनेछ ।
तसर्थ कुन बाटो रोज्ने त भन्दा युमा धर्मको बाटो रोज्नु पर्दछ । तब हामी हाम्रो अस्तित्व कायम राख्न सफल हुनेछौं । युमा भनेको प्रकृति पनि भएकोले सुदूर भविष्यमा अन्य मानव निर्मित धर्म भन्दा प्रकृतिमा आधारित धर्म नै चीरस्थायी हुनेछ । स्वाभावैले हामी प्रकृतिका सन्तान हौँ । नजानिँदो हिसाबमा प्रकृतिले नै आफ्नो अनुकूल बनाइरहेको हुन्छ । मानवले निर्मित धर्म लगायतका कुराहरु क्षणिक मात्र हुन ।
तसर्थ वर्तमान घडीमा याक्थुङहरुले आफ्नो पहिचान, हैसियत र मौलिकता कायम राख्न धर्मको महलमा, जनगणना आदिमा युमा धर्म लेखाउनु अनिवार्य जस्तो भएको छ । यसो भयो भने याक्थुङ जातिको हरेक क्षेत्रमा पहिचान स्थापित र विकास हुँदै जानेछ ।