April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनसरीको बाढीपीडितलाई एनआरएनए यूकेको राहत वितरण

सुनसरीको बाढीपीडितलाई एनआरएनए यूकेको राहत वितरण

इटहरी । बेमौसमी वर्षासँगै आएको बाढीका कारण पीडित बनेका परिवारलाई सहयोग गर्ने क्रममा सुनसरीका छ सय बढीलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले राहत वितरण गरेको छ ।

सुनसरीका ६५० परिवारलाई सहयोग गर्ने क्रमको पहिलो चरणमा इटहरी उपमहानगरपालिकाको वडा नं. १ र ३ का ५२ घर परिवारलाई राहत वितरण गरिएको हो । एनआरएनए यूकेको सहयोग तथा इटहरीका समाजसेवी सिजन गुरूङको समन्वयमा इटहरीमा राहत वितरण गरिएको महासचिव खुसी लिम्बुले सिलौटी टाइम्सलाई जानकारी दिए ।

Advertisement

राहत वितरणमा खटिएको टोली ।

जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पीडितहरूलाई केही राहत दिने अभियानअन्तर्गत यूकेमा बसोबास गर्ने नेपालीहरूको तर्फबाट सहयोग पठाइएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले बताए । उनका अनुसार करिब दस लाख रूपैया बराबरको रकम नेपालको प्राकृतिक प्रकोपबाट पीडितहरूको सहयोगका लागि सङ्कलन गरिएको छ ।

यो वर्ष बाढी पहिरोका कारण सबैभन्दा धेरै प्रदेश एक प्रभावित भएको थियो । बाढी पहिरोका कारण इलाम, पान्थर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, सप्तरी र उदयपुरमा गरी झण्डै चार दर्जन बढीले ज्यान गुमाएका छन् ।

राहत वितरण कार्यको एक झलक ।

सुनसरीका पीडित परिवारलाई राहत सामग्रीस्वरूप प्रति परिवार २५ केजीको चामल, एक प्याकेट नून, एक प्याकेट दाल र एक प्याकेट नून वितरण गरिएको छ । राहत वितरण कार्यमा दिव्यराज गुरूङ, पूर्ण राई, बहादुर तामाङलगायतका युवाहरूले घर घरमा पुगेर सामग्री हस्तान्तरण गरेका थिए ।


एनआरएनए यूकेले सुनसरी लगायत देशभरका विभिन्न ठाउँमा हुने प्राकृतिक प्रकोप, महामारी लगायतका अन्य विपतिका बेला आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको प्रवक्ता भरतमणि चोङवाङ लिम्बुले बताए ।