April 15, 2024, Monday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘साधुचोर ! फाल्गुनन्द’

‘साधुचोर ! फाल्गुनन्द’

सन्दर्भ : फाल्गुनन्द लिङेदनको १३७ औँ जन्मजयन्ती

जसै हिजो एकताका आफूलाई खाट्टी कम्युनिष्ट देखाउन अरूलाई भक्कुमार गाली गर्नुपर्छ भन्ने मान्यता थियो । गालीका पदावली हुन्थे । ‘पूँजीवादीु’, ‘शोषक’, ‘सामन्ती’, ‘नवधनाढ्य’, ‘राष्ट्रघाती’, ‘दक्षिणपन्थी’ आदि ईत्यादि । कुनै व्यक्तिले भाषणपिच्छे या आफ्नो हरेक लेखहरूमा माथिका उद्गार प्रयोग गरे उसलाई खाट्टी कम्युनिष्ट, क्रान्तिकारी र परिवर्तनकारीको उपमा मिली हाल्थ्यो । ठ्याक्क यो प्रवृत्ति अहिले आएर लिम्बु समाजमा देखा परेको छ । आफूलाई मौलिकतावादी र पहिचानवादी बनाउनु छ भने केही गर्नै पर्दैन । एक शब्द आफ्नो मातृभाषामा बोल्न नजाने पनि भो । एक अक्षर आफ्नो लिपिमा लेख्न नजाने पनि भो । आफ्नो धर्म, संस्कृति पालना नगरे हुन्छ ।

Advertisement

आफ्नो रितीरिवाजहरू गोली मार्दिए भो । तर लिम्बु भाषा, धर्म संस्कृतिमा अमूल्य योगदान पुर्याएका व्यक्ति र संस्थालाई मन खोलेर गाली दिए पुग्छ । आफूले लिम्बु भाषामा भात मागिखान नजाने पनि किरात याक्थुङ चम्लुङ र लिम्बुहरूले सदियौंदेखि मान्दै आएको किरात धर्मको खिलापमा आमा चाकारी गाली गरे त्यो मान्छे छु मन्तर लगाएर मौलिकतावादी भई जान्छ । २४ क्यारेटको सुन जतिकै असली पहिचानवादी भई हाल्छ । आज लिम्बु समाजमा अतुलनीय योगदान गरेका तर केही लिम्बुहरूले गाली नगरी आफ्नो गाँस नरूचैझैँ गरिने १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्दको आज १३७ औँ जन्मजन्ती हो । आजको दिनमा देशविदेशका पवित्र हृदय भएका मान्छेहरु फाल्गुनन्दको सत्कर्म स्मरण गर्दै आफूलाई खुसी र भाग्यमानी सम्झिरहेका छन् । तर केही विद्रुप चेतना भएका तथाकथित मौलिकतावादी लिम्बुहरु आजको दिन फाल्गुनन्दलाई सम्झेर संसारकै दुःखी भई रहेका छन् । फाल्गुनन्दको नाम लिनेबित्तिकै दुःखी हुनेहरूको आत्माशान्तिका लागि उनीहरूले फाल्गुनन्दलाई गाली गर्ने शब्दमा शीर्षक राखेर यो लेख अघि बढाउन चाहन्छु ।


महागुरु फाल्गुनन्द(वि.सं. १९४२ – २००५) जुन समयमा लिम्बु समुदायमा पर्दापित भए त्यसलाई हामी लिम्बुहरूले यस युगकै महान् उपहार सम्झेर गौरव गर्नु पर्ने हुन्छ । फाल्गुनन्दको यस्तो बेलामा लिम्बु समुदायमा आगमन भयो कि जतिखेर लिम्बुहरूले आफ्नो धर्म संस्कृति बिर्सदै थिएँ । आफ्नो भाषा लिपि बिर्सदै थिए । र, आधुनिक मानव समाज निर्माण गर्ने पथ बिर्सेर राउटे समाज निर्माण गर्ने बाटो पछ्याईरहेका थिए । राजाले दिएको सुभाङ्गी पदको दुरुपयोग गर्दै केही लिम्बुहरूले ठाउँ ठाउँमा आफूलाई छोटे राजा समान सम्झिँदै आफ्नै समुदायमाथि चरम शोषण गरिरहेका थिए । सम्भवतः त्यो समयमा फाल्गुनन्दले समाजमा शिक्षा र चेतनाको जागरण नचलाएका भए यतिखेर लिम्बु जातिहरू पूर्वको राउटे भएर जंगल जंगल चहारी रहेका हुन्थ्यौं ।

को हुन् फाल्गुनन्द ?


वि.सं. १९४२ कात्तिक २५ गते इलामको इभाङस्थित चुक्चिनाम्बामा बुबा जगनबाज लिङ्देन र आमा हंसमति लिम्बुको कोखबाट जन्मिएका फाल्गुनन्द सानैदेखि आध्यात्मिक स्वभावका थिए । फाल्गुनन्दको यिनै आध्यात्मिक स्वभावको चरित्रलाई चित्रण गर्दै एकथरी धर्मान्धाहरुले उनलाई मिथक जस्तो पात्र पनि बनाएका छन् । कतिसम्म भने उनलाई जन्मिने बित्तिकै आमाको दूध नखाएर घरमा पालिएको गाई र काली बाख्राको थुनको दूध खान गोठसम्म गएको भ्रामक कथा पनि लेखेका छन् । कतिले उनलाई सानोमा घरछेउको खोलानेर देउताले सिमी जस्तो लहराले रुखमा बाँधेर शिक्षा दिएको, प्रथम विश्वयुद्धमा जापानी सेनाको गोली थुन्चेमा थाप्दै दुश्मनको प्रहार निकम्मा बनाई दिएको, ठाउँको ठाउँ असिनापानी पार्ने काम गरेको, सुख्खा ठाउँमा पानी उमारेको, मान्छेको रोगव्याधी छोएरै निको पारेको जस्ता मिथकीय घटना जोड्दै रहस्यमयी पात्र बनाउने कोसिस गरेका छन् । अघिल्लो दशकसम्म फाल्गुनन्दसँगै प्रथम विश्वयुद्ध लडेका योद्धाहरू विश्वभरी फाट्ट फुट्ट भेटिन्थे । अतः उनलाई भगवान कृष्ण, पैगम्बर मोहम्मद, जिसस जस्तो रहस्यमयी पात्र मान्न सकिन्न । भौतिक तवरले फाल्गुनन्द एक शताब्दी अघि जन्मिएका आम मानिस हुन् भने कर्मले उनी धर्मगुरु, समाजसुधारक र एक क्रान्तिकारी व्यक्तिसम्म हुन् । एकथरी धार्मिक अतिवादीहरुले भन्ने गरेको जिसस क्राइस्ट जस्तो जन्मँदै रहस्यमयी काम गर्ने भगवान होईनन् ।

लिम्बु समुदायमा फाल्गुनन्दको योगदान के छ ?

कुनै बाह्य धर्मवाला एजेण्टहरुको पैसा नखाई बिना स्वार्थ भन्नुपर्दा लिम्बु समुदायमाथि फाल्गुनन्दको योगदान जति तारिफ गरेपनि कम हुन जान्छ । करिब १२ वर्षसम्म ब्रिटिश सेनामा रही काम गरेका उनी बर्मा, आसाम, भोटाङ (हालको म्यानमार, भारतको पूर्वोत्तर राज्य आसाम र भुटान) तिर कै कुनै एक समथर र मलिलो भेगमा उताकै सुन्दरीहरुसँग घरजम बसाएर सुती खेती गरिखाँदै सांसारिक जीवन रोज्न सक्थे । त्यतिखेर प्रथम विश्वयुद्ध लड्न गएका धेरैजसो हाम्रो पुर्खाहरू नेपाल फर्किएनन् । आज यी क्षेत्रमा फाल्गुनन्दसँगै परदेशिएका पुर्खाहरूको डायस्पोरिक सन्तानहरू छ्याप्छ्याप्ती पाइन्छन् । तर फाल्गुनन्दले व्यक्तिगत जीवन रोजेनन् । उनले सिंगो समुदायको सम्मुनती र सुखलाई आफ्नो स्वार्थ माने । फलस्वरूप लिम्बु समाजमा उनले क्रमिक रूपमा चेतना र शिक्षाको ज्योती फैलाउने अभियान शुरू गरे । जतिखेर फाल्गुनन्दले लिम्बु समुदायमा जागरणको अभियान चलाए उतिखेर लिम्बु समुदाय अशिक्षा र अज्ञानताको पूर्ण भुमरीमा रुमल्लिई रहेको थियो । पूरै लिम्बु समुदायभरी साँवा अक्षर फुटाउन सक्ने व्यक्तिहरू औंलामा गन्न सकिने गरीको संख्यामा मात्र सीमित थिए । गाउँघरभरी राजाको आधिकारिक प्रतिनिधि मानिएका सुब्बाहरुको जहानियाँ छोटे शाषन थियो । केही बोल्यो कि केही माग्यो कि गोर्खे लौरी कसी हाल्थे । राम्रो राम्रो खेत राम्रो राम्रो उब्जाउ हुने जमीन यिनै सुब्बाहरुको कब्जामा हुन्थ्यो । एकातिर गरिबीले गाँजेको समुदाय अर्कोतिर अशिक्षाको चपेटामा पिल्सिएको जमात । उनले यहीँ जमातमा उभिएर गाउँ गाउँ डुल्दै चेतना प्रवाहको काम गरी रहे । आफ्नो भाषा बिर्सदै गएकाहरूलाई भाषा सिकाए, लिपि बिर्सदै गएकाहरुलाई लिपि सिकाए । आफ्नो धर्मकर्म र मौलिक संस्कृतिको महत्व बुझाए । धार्मिक र ऐतिहासिक क्षेत्रहरुलाई संरक्षण गर्न र महत्व दिन सिकाए । लोप हुँदै गएको मुन्धुमलाई लेख्य रूप दिलाउने काम गरे । छोरी चेलीलाई सुन र पैसासँग खरिदबिक्री गर्ने कुरीति हटाउन लगाई छोरी चेलीलाई पनि समान अधिकार दिन आग्रह गरे । छोरासमान अधिकार र शिक्षा दिन लगाए । गाउँघरमा स्वास्थ्य र सरसफाईको महत्व सिकाए । यति काम गरेर मात्र नहुने सोचेर अन्ततः उनले लिम्बु वस्ती भएको पूर्र्वी नेपाल भरिका र भारतका लिम्बु प्रतिनिधिहरूलाई बृहत भेला गराई माथिको कामहरू अनिवार्य लागू गराउन सात बुँदे सत्यधर्म मुचुल्का नामक सामाजिक थितिको दस्तावेजीकरण नै गराए ।

सत्यधर्म मुचुल्का : लिम्बु समुदायको म्याग्नाकार्टा

१०४ वर्षीय राणा शासनकालमा भारदारी सभाबाहेक सबैभन्दा ठूलो नागरिक भेला मानिएको वि.सं. १९८८ वैशाख २४ गते सभा(पान्थर, लब्रेकुटी) मार्फत उनले सत्य धर्म मुचुल्का नामक महत्त्वपूर्ण सामाजिक दस्तावेज पारित गराए । सो भेलामा लिम्बु जातिहरू बसोबास गर्ने पूर्वी नेपालका विभिन्न भूभागका तत्कालीन राजाका स्थानिय प्रतिनिधि सुब्बाहरु र भारतका लिम्बु प्रतिनिधिहरू भेला भएका थिए । चार दिनसम्म चलेको भेला मार्फत पारित सत्यधर्म मुचुल्कालाई लिम्बू समुदायको म्याग्नाकार्टा मान्नु पर्ने हुन्छ । जसरी राजा जोनबाट हस्ताक्षरित म्याग्नाकार्टाको अभिसन्धिले आधुनिक यूरोपको सम्मुन्नति भयो उसैगरी सत्य धर्म मुचुल््काले लिम्बु समुदायलाई उज्यालो बाटो पछ्याउन प्रेरित गर्यो । व्यवहारतः बाइबल अफ इंग्लिस कन्स्टिच्युसन मानिने म्याग्नाकार्टामा स्वयम् तत्कालीन शासक राजा समेत जोडिएकाले केही राजनैतिक प्रबन्धहरु पनि उल्लिखित छन् । तर म्याग्नाकार्टामा भएका सामाजिक प्रबन्धहरु र सत्य धर्म मुचुल्काको विषयहरू भने धेरै हदले मिल्न जान्छन् ।

लिम्बुहरूको मौलिक र परम्परागत निर्णय गर्ने तुम्याहाङ प्रणालीलाई अनुसरण गर्दै फाल्गुनन्दले सत्यधर्म मुचुल्का गरेका थिए । सत्य धर्म मुचुल्कामा थेबासाम्, युमासाम्, तागेरा निङवाभुमाङ अर्थात इष्टदेवको नित्य सेवा र पूजापाठ गर्ने मातृभाषा लिपिमा अध्ययन र अध्यापन गर्ने गराउने, धार्मिक तथा सांस्कृतिक कार्यमा मासू र मदिराको साटो धुप, नैवेद्य, दूध प्रयोग गर्ने उल्लेख छ । छोरीचेलीको विवाह कर्ममा सुनौली र रूपौली दाईजो नलिने साथै जारी उठाउने जस्ता कार्य नगर्ने, छोराछोरीलाई बराबर लेखपढ र समान अंशबन्डा दिने, धूम्रपान मद्यपान नगर्ने जस्ता सामाजिक थितिको कुरा उल्लेख गरिएको छ । घरेलु उद्योगलाई प्राथमिकता दिँदै खाडी र ढाका बुनेर कपडा लगाउने प्रचलनलाई बढावा दिनुपर्ने मुचुल्कामा उल्लेख छ । लिम्बु समाजमा मृत्युसुतक बार्ने चलनमा समेत अनेकता देखिएकोले छोरी मान्छेको भए तीन दिनमा र छोरा मान्छेको भए चार दिनमा सकाएर लिम्बु समाजमा समान सांस्कृतिक रिवाज कायम गराउने सर्त पनि अघि सारिएको छ ।

फाल्गुनन्दको किन विरोध गरिन्छ ?


लिम्बु समाजको कुनै पनि पुस्तालाई जागरणको कुरा हजम भएन । प्रत्येक लिम्बुहरूको डीएनएमा समान र अनौठो गुण छ कि लिम्बुहरूलाई उपदेश मन पर्दैन । लिम्बुहरूलाई उठ, काम गर, पढ भनेर उपदेश दिएको जागरण दिएको पटक्कै मन पर्दैन । खाऊ पिऊ धान नाच्न हिँड मेला बजार धाऊ मोजमस्ती गर यहीँ हो तिम्रो मौलिक संस्कृति भनेर तारिफ गर्याे भने भोलिपल्ट नै कार्यक्रम आयोजना गरेर सम्मानपत्र दिन बोलाई हाल्छन् । उनीहरुको भारे टाकुरे संस्थामा सल्लाहकार पद दिई हाल्छन् । अघिल्लो वर्ष केही लिम्बुहरूले मनग्गे पैसा खर्च गरेर टिकटकमा नाच्ने प्रतियोगिता राखेका थिए । मैले यस्तो झिना मसिना काम गर्नु भन्दा बरु त्यो पैसाले कुनै एकजना गरीब लिम्बु विद्यार्थीलाई छात्रवृत्ति देऊ, उपचार नपाएको बिरामीको लागि खर्च गर भन्ने सुझावयुक्त कमेन्ट लेखेको थिएँ । अहिलेसम्म पनि ती आयोजक भाई बहिनीहरुले मेरो व्यक्तिगत फोन नम्बर माग्दै जहाँ भेट्यो त्यहीँ भौतिक आक्रमण गर्ने धम्की पठाई रहन्छन् । हाम्रो गाउँको एकजना बाहुन काकाले हमेशा भन्थेँ – म त लिम्बु केटाहरूलाई कहिले पनि स्कुल जाओ भन्दिनँ । भएछ के भने काकाले एकदिन केही लिम्बु केटाहरु बरालसिङ भएर मेला बजार कुद्दै गरेको देखेछन् । ती केटाहरुलाई पढ्ने उमेरमा किन मेला बजार कुदेको भनेर सम्झाउँदा उल्टै करङ गनि दिएछन् । लिम्बुहरूलाई जागरणको कुरा पिटिक्कै मन नपर्ने डीएनएमा उत्परिवर्तन आउन अझै निकै समय लाग्छ । यो समस्या आजको मात्र होईन हिजो पनि थियो । लेप्मुहाङले पृथ्वी डुब्दैछ बच्नुपर्छ भनेर डुङ्गा बनाउँदै गर्दा पनि खिसी गर्नेहरु थिए । सिरिजंगाले लिम्बु भाषा लिपि पढाउँदै हिँड्दा उल्टै लिम्बु दाजुभाइले नै पोल झोस गरेर थातथलो छाड्न बाध्य बनाए । इमानसिं चेम्जोङलाई ईतिहास खोज्न गाउँ गाउँ डुली हिड्दा कतिपय लिम्बुहरूले घरमा खान नपाएर भात खोजी खान हिँडेको डुलुवा भतुवा भन्थे । लिम्बु समुदायको प्रतिनिधि बन्न आम चुनावमा उठ्दा इमानसिं चेम्जोङले जम्मा सत्र भोट मात्र पाएर रुँदै रुँदै नेपाल छाडेका थिए । रनधोज नेम्बाङले लिम्बु भाषा लिपिबाट सर्वप्रथम चिना, सुतिका र पात्रो बनाउँदा हलो जोती खान नसकेर पण्डित्याइँ गरी हिँडेको भन्दै आरोप लगाउँथे ।

वीर नेम्बाङले लिम्बुवानको राजनीति गर्दा लिम्बुहरूले नै गाउँ गाउँबाट लखेट्थे । किरात धर्म संरक्षणको कुरा गर्ने किरात धर्मगुरु आत्मानन्द लिङ्देनलाई आज दिनको एक खेप गाली नगरी भात नखानेहरु पनि छन् । लिम्बुहरूको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङको भवनमा बम हानेर खैराते खैराते बनाउँछु भनेर लेखिएको फेसबुके सामग्रीहरू यत्रतत्र भेटिन्छन् । लिम्बुहरूको माङ्हिम र फाल्गुनन्दको शालिक तोडफोड गरिरहेकै छन् । ई सबै किन भइरहेका छन् ? मैले अघि पनि लेखे लिम्बु समुदायका मान्छेको डीएनएले जागरणको कुरा स्वीकार गर्न सक्दैन । हाम्रो डीएनएमा भेटिने यो गुण उत्परिर्तन हुन समय लाग्ला । अतः गहन उपचारको खाँचो छ । हामी लिम्बुहरूको डीएनएमा भेटिने यो दुर्लभ रोगको उपचार नभएसम्म हामीलाई जागरणको कुरा सिकाउने फाल्गुनन्द र फाल्गुनन्दहरुको विरोध गरिरहन्छौं । उनीहरु लाई गाली गरी रहनेछौँ । उनीहरुको शालिक तोडिरहने छौं । उनीहरु लाई साधुचोर, खराने, चन्दने भनेर लाञ्छना लगाई रहनेछौँ ।

(लेखमा व्यक्त विचार लेखकका निजी धारणा हुन् । सं.)