May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुख्यमन्त्री राईले पाए विश्वासको मत

मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो ।
पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

Advertisement

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५० मत प्राप्त भएको हो । त्यस्तै उनको विपक्षमा २९ मत परेको छ । त्यस्तै दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा शून्य मत परेको थियो । मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए ।

कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
‘प्रदेश सभामा तत्काल कायम रहनुभएका जम्मा ९२ जना प्रदेशसभाका सदस्यमध्ये आजको मतदानमा उपस्थित माननीय सदस्यको संख्या सभामुखबाहेक ७९ रहेको छ । माननीय सदस्यहरु, उल्लेखित माननीय सदस्यहरुबाट माननीय श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको छ । त्यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको छ । र मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ’, सभामुख भण्डारीले भने ।

नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि उनले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ । भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ ।