May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

आसफोर्ड । लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि सक्रिय रहने एक व्यक्तित्वलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान प्राप्तिका लागि विभिन्न विधामा योगदान दिने एक जनालाई समाजले पुरस्कार प्रदान गर्ने भएको हो ।

शनिबार भएको समाजको भर्चुअल जुम बैठकले काङ्सोरे पुरस्कार विनियमावली २०२१ पारित गर्दै पुरस्कार लागि रकम संकलन सुरु गरिने अध्यक्ष छत्र वनेमले बताए । उनले पुरस्कार आगामी महाधिवेशनमा प्रदान गरिने गरिने पुरस्कार स्थापना गरिएको बताए । पुरस्कार प्रत्येक तीन तीन वर्षमा प्रदान गरिनेछ । पुरस्कारका लागि दश लाख नेपाली रूपैयाँको अक्षयकोष स्थापना हुनेछ । पुरस्कार एक लाख रूपैयाँ नगद र ताम्रपत्रसहतिको हुने अध्यक्ष वनेमले जनाए । पुरस्कृत हुने व्यक्तित्वको सन्दर्भमा राजनीति, भाषा, सँस्कृति, इतिहास,कला लगायत विभिन्न क्षेत्रका विज्ञहरू समेत सम्मिलित भएको एक छनोट समितिले सिफारिस गर्ने गरी प्रावधान राखिएको वनेमले जानकारी दिए ।

Advertisement

लिम्बुवानका तत्कालीन सेनापति काङ्सोरेको काल्पनिक रेखा चित्र ।

सन् १७७४ मा सभाया खोलाको दोभानमा तत्कालीन लिम्बुवानका सेनापति काङ्सोरे राय लिम्बु र गोर्खालीतर्फका सनेपापति रघु रानाबीच मल्लयुद्ध हुँदा काङ्सोरे सहिद भएका थिए । काङ्सोरेको स्वामित्वका सम्बन्धमा याक्थुङ लिम्बु समुदायभित्र दुई तीन थरगत समूहहरूको दाबी रहँदै पनि आएको छ । उनलाई लिम्बुवान आन्दोलनकर्मीहरूले एकदम श्रद्धाका साथ लिने हुनाले उनीप्रति सम्मान गर्दै पुरस्कार स्थापना गरिएको महासचिव लाहाङ चेम्जोङले बताए । बैठकमा विनियमावलीको मस्यौदा संयोजक एवम् लेखक विजय लुम्फुङ्वाले प्रस्तुत गरेका थिए । समितिको सदस्यमा देव हुक्पा चोङवाङ, लाहाङ चेम्जोङ र शरण लिम्बु रहेका थिए । पुरस्कारको अक्षयकोष निर्माणका लागि उपाध्यक्ष दिल इङ्वारमको संयोजकत्वमा समिति निर्माण गर्ने निर्णय पनि भएको छ । यसैगरी, आगामी महाविधेशनमा प्रस्तुत हुने गरी संशोधित विधानको खाका महासचिव चेम्जोङले प्रस्तुत गरेका थिए ।

बैठकले कार्य समितिको कार्यकाल छ महिना समेत थपेको छ । कोभिड महामारीको कारण जनाउँदै विधानलाई टेकेर कार्य समितिको अवधि छ महिना थप गरेको महासचिव चेम्जोङले बताए । समाजको चौथो महाधिवेश सन् २०१९ को जनवरी १५ मा आसाफोर्डमा भएको थियो । विधानतः समितिको कार्यकाल तीन वर्ष रहन्छ । समाजको स्थापना बुद्धिजीवि एवम् अन्वेषक स्व. प्रसाद थेवेको अध्यक्षतामा सन् २००९ मा भएको थियो ।

लिम्बुवान नागरिक समाज यूकेको भर्चुअल जुम बैठक ।

यसैगरी, मिडिया सचिव एवम् कवि अमित थेवेको सम्पादनमा रहेको लिम्बुवानी कविताहरूको संग्रहलाई अन्तिम रूप दिँदै जनवरी महिनामा एक कार्यक्रमबीच लोकापर्ण निर्णय गरेको छ । सङ्ग्रहका लागि तीन दर्जन कविहरूको रचना प्राप्त भएको सम्पादक थेवेले जनाए । पुस्तकमा लिम्बुवान जागरण, साँस्कृतिक चेत र संघर्षका कविताहरू रहको उनले जनाए ।

त्यस्तै, बैठकले प्रदेशमा नयाँ सरकार आएसँगै प्रदेश एकको नामाकरणको राजनीति पुनः सुरु भएको भन्दै लिम्बुवान नाम नछुटाउन समाजले माग गरेको छ । ऐतिहासिक पहिचानका आधार र निरन्तरताका आधारमा लिम्बुवान नाम अनुमोदन गरिनुपर्ने सल्लाहकार दिल सम्बाहाङ्फेले जनाए । उनले पूर्वमा सबैभन्दा धेरै लिम्बुवानकै नामबाट स्वायत्तताको आन्दोलन चर्किएको पनि बताए । बैठकले भदौमा भाषा आयोगले सिफारिस गरेअनुसार याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्यवयन गर्न तत्काल संसदमा विध्येयक प्रस्तुत गर्न माग गरेको छ । बैठक अध्यक्ष वनेमको अध्यक्षता र मिडिया सचिव अमित थेवेको सञ्चालनमा सम्पन्न भएको थियो । बैठकमा सल्लाहकार राजेन्द्र खिम्दिङ, निर्मल पतङ्वा, तिल खवाहाङ, देवेन्द्र खिम्दिङ लगायत उपस्थित थिए ।

काङ्साेरेसम्बन्धी एक भिडियो वृत्तचित्र ।