असहायलाई मनोक्रान्ति र नेम्वाङ समाज यूकेको आर्थिक सहयोग
लन्डन । मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेले पक्षघात बिरामी लगायत असहायलाई आर्थिक सहयोग गरेका छन् । लन्डन मनोक्रान्ति समुह यूके र नेम्वाङ समाज यूकेले उनीहरूलाई सहयोग गरेको हो ।
नेपाली पर्व तिहारको अवसर पारेर देउसी भैलीबाट संकिलत रकम नेपालको सुदूर पुर्व पान्थर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका चार फरक क्षमता भएका व्यक्ति र प्यारालाइसिस बिरामीलाई सहयोग प्रदान गरिएको मनोक्रान्तिका यूके अभियन्ता नगेन्द्रराज नेम्वाङले सिलौटी टाइम्सलाई उल्लेख गरे । गाउँपालिकाको साविक इम्बुङमा रहेका चार जना फरक क्षमता भएकाहरू प्रदीप लिम्बु , पुजन चेम्जोङ, सुन्दर तामाङ र प्यारालाइसिस बिरामी सुसुला तुम्रोक नेम्वाङलाई आर्थिक सहयोग गरिएको उनले बताए । उक्त सहयोग रकम चर्चित भाइरल समुह चियावली सृष्टी तामाङ मनोक्रान्ति विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्वाङ, समाजसेवी सविता तुम्बापो नेम्वाङले हस्तान्तरण गरेका थिए । मनोक्रान्ति समुह युके र नेम्वाङ समाज यूकेबाहेक टेक्सास अमेरिकाबाट गायक, नायक तथा चलचित्र निर्माता एवम् समाजसेवी नरेन्द्र सेन्दाङ र ललितपुरनिवासी सफल व्यवसायी उपेन्द्र नेम्वाङले पनि आर्थिक सहयोग गरेका थिए ।
अभियानअन्तर्गत संकलित भएको एक लाख रूपैयाँ बढी रकम हस्तान्तरण भएको थियो । भाइरल समुहको पुर्वी क्षेत्रको भ्रमणको अवसर पारेर सहयोग रकम वितरण गरिएको कार्यक्रममा अनलाइन टेलिभिजन पत्रकारहरु इन्द्र जिजीविसा, सिलिचुङ्ग टेलिभिजन, म्यागाङ मिडियाका भुवन तामाङ, अप्सु टिभीबाट सञ्चालिका अप्सरा दाहाल, मिडिया सन्चालिका वसन्ती तामाङ, हाम्रो साथी अनलाइन सञ्चालिका गङ्गा थापा मगर र प्रतिना राई उपस्थित थिए ।
यसैगरी, पान्थर फाल्गुनन्द गाउँपालिका –२ इम्बुङमा हरेक वर्ष लाग्ने कात्तिक पूर्णे मेलामा खेलाइने फुटबल प्रतियोगितामा अमेरिकाका नरेन्द्र सेन्दाङ र बेलायतका नगेन्द्र नेम्वाङले जनही दस हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । उक्त सहयोग रकम समाजसेवी सविता नेम्वाङ तुम्बापो र चियावली सृष्टी तामाङले आयोजक टु स्टार ग्रामीण क्लबका अध्यक्ष सागर नेम्वाङलाई फुटबल खेल समारोहमा हस्तान्तरण गरेका थिए ।



प्रतिकृया दिनुहोस्