May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
१७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

१७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

भोजपुर । किरात राई जातिभित्रको सबैभन्दा ठूलो वक्ता संख्या भएको बान्तावा भाषीहरूको १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुने भएको छ । बुङ्वाखा मासिक पत्रिकाको आयोजनामा मंसिर चौथो साता प्रतियोगिता हुन लागेको हो ।

बुङ्वाखा मासिक पत्रिकाका सम्पादक एवम् कार्यक्रम संयोजक पदम राईले पत्रिकाको १७ औँ वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता हुन लागिरेहको जानकारी दिए । सम्पादक राई र साहित्य विभागका संयोजक असीम बान्तावाले प्रेस नोट सार्वजनिक गर्दै आगामी मंसिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिकामा वार्षिकोत्सवसँगै राष्ट्रिय बान्तावा कविता प्रतियोगिता आयोजना हुने जनाएका छन् । प्रतियोगिताका लागि १७ कविहरू छनोट भएका छन् । छनोट भएका कविहरूमा इलामबाट अर्जुन वेदना राई, दिलु राई, पुजन राई, उदयपुरबाट चाँदनी राई, धनकुटाबाट तुलसा ‘स्वदेशी’ राई, खोटाङबाट नन्द हाङखिम, पाँचथरबाट प्रदीप राई, काठमाडौँबाट प्रजितकला राई, संखुवासभाबाट बिबिमाया राई, झापाबाट हरिबहादुर राई, भारतबाट शोभा राई र भोजपुरबाट बलबहादुर राई, रविन्द्र बान्तावा, रामकुमार राई, लंकामान राई, विनोद राई र सन्दीप राई रहेका छन् ।

Advertisement

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रमाणपत्रसहित ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ बाट क्रमशः रू १५,०००, रू १०,००० र रू ५,००० राशीले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

बुङ्वाखाको अर्थ बान्तावा भाषामा फूलबारी भन्ने अर्थ लाग्छ । २०६१ मंसिर २४ गते दर्ता गरेर पुस १ गतेदेखि पत्रिका प्रकाशन हुन थालेको संस्थापक सम्पादक एवम् व्यवस्थापक समेत रहेका पदम राईले बताए । सन् २०११ को नेपालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२३ भाषाहरू बोलिन्छन् । जसमध्ये, बान्तावा भाषा बोल्नेको संख्या १,३२,५८३ रहेको छ । हुन त सन् २००१ को जनगणनामा भने बान्तावा भाषी वक्ताहरूको संख्या ३,७१,०५६ रहेको थियो । जनगणनामा अलग अलग शीर्षकमा भाषा उल्लेख गरेका कारण वक्ता संख्या कम देखिएको अभियन्ताहरूले बताउँदै आएका छन् । भाषा आयोगले प्रदेश एकको सरकारी कामकाजको भाषाका लागि लिम्बु र मैथिली भाषालाई सिफारिस गरिसकेको छ ।