April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुनै एक परिधि

कुनै एक परिधि

भत्किएर ढल्यो
मेरो आस्थाको हिमाल
तिम्रो स्वार्थको गहिराइमा
उज्यालो हुन नपाउंदै
बिहानीको धमिलो मन्द कुहिरो भित्र कता-कता
पुरिए कयौं मेरा रंगीन सपनाहरु !!

◾️◾️◾️

Advertisement

अलपत्र पोखिएर झरे शीतसँगै
तल, धेरै,,,, तल
तिम्रो मतलबको मैदानमा
र सुके त्यहीँ
फेरि कहिले नफूल्ने गरी
मेरा चाहनाका अनगिन्ती सुनाखरीहरु !!

◾️◾️◾️

म इमान्दारिताको
घुम्टोभित्र मुहार लुकाएर
चुपचाप, चुपचाप
तिम्रा चाहनाका फूलहरू चुमिरहें
तिमी निस्फिक्री मुस्कुराई रह्यौ

◾️◾️◾️

मैले फेरि पनि, आफ्ना हाँसोका मनमोहक बुट्टाहरु
तिम्रो आँखामा उतारेर
एक्लै, एक्लै प्रेमको उत्सव मनाई रहेँ !!

◾️◾️◾️

सधैं मनले, आत्माले, प्रेमले
तिम्रो काँडा रुपी मन
बेहिसाब, बेहिसाब सुम्सुम्याउँथेँ
अनि,
निस्वार्थ मुस्कुराउँदै रमाउँथे
पुतलीझैं तिम्रा परेली वरिपरि घुमेर !!

तिमी,
न मलाई रोक्न सक्थ्यौ
न म तिमीलाई रोक्न सक्थें
हाम्रो ढुकढुकीको गहिरो तालमा
नाचिरहथे चाहनाका सप्तरंगी ईन्द्रेणीहरू
गोधूलीमा झरनाको पानी नाचे सरी
प्रेमका प्रतिविम्बहरू कोर्दै कोर्दै !!

◾️◾️◾️

जहाँ तिमी पनि हुन्थ्यौ
म पनि हुन्थेँ
अनि प्रगाढ हाम्रा मायामा
मुस्कुराउने अनगिन्तौ हाँसोका फोहोराहरू पनि
ओठभरि भरि छरपष्ट छरिएर
रुमानी मुस्कान मुस्कुराई रहेका हुन्थे !!

◾️◾️◾️

हाम्रो प्रेमको आँगनमा
टुटेर झरेका नौ लाख ताराहरू
टिपेर मेरो सिउँदो सजाउँछु भन्दा
खुशीले जून तल ओर्ले झैं लाग्थ्यो
इत्रिंदै बतासले निधार चुमे झैं लाग्थ्यो
बनपाखाहरुले कपाल सुमसुम्याए झैं लाग्थ्यो
हाम्रा मिलनका कयौं सुनौला रातहरूमा !!

◾️◾️◾️

तर, अचेल त लाग्छ, तिमीले साटेछौ
मेरा चाहानाका फूलहरू काँडासँग
र त काँडाले गुलाबलाई
सदियौं देखि व्यर्थ‌ै अंगालेर चुमी रहेछ !!

◾️◾️◾️

हो ! म पनि त्यहीं दिनदेखि
जुनेली रात भूलेर
अन्धकार रातभित्र रमाउन थालेको छु
तिम्रो हल्लाहरूमा रमाउने
मन एकान्तमा रम्न थालेको छ !!

◾️◾️◾️

तिम्रै खुशीका निम्त्ति
शीतझैं टिल्पिलाउने
मेरा सबै रहरहरू बेचिदिएँ
र, त
आज तेसै तेसै बिन्दास रमाएर
घाटाको जिन्दगी जिउन थालेको छु !!

◾️◾️◾️

आज पनि तिमी समयको पोल्टोमा
अतीतका ईतिहास लुकाउन
बेस्सरी तातिएको मेरो मुटु
माथि घन ठोकिरहेछौँ

◾️◾️◾️

म, तिम्रो मनको परिदृश्यबाट
पग्लेर झर्दै झर्दै गैरहेको छु
तिमीले ढाल्नु खोजेको
कुनै एक परिधिमा !!

◾️◾️◾️

ताप्लेजुङ । हाल : यूके ।