April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोन भेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम हुन लागेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदान गर्दै नेपाली समुदायमा ओमिक्रोन भेरिएन्टबारे आवश्यक जानकारी दिन कार्यक्रम गर्न लागिएको एनआरएनए यूकेले जनाएको छ । एनआरएनए यूकेको स्वास्थ्य विभागले उक्त कार्यक्रम आयोजना गर्न लागेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए । ‘अहिले यूके लगायतका विश्वका विभिन्न ठाउँमा कोभिडको नयाँ प्रकार ओमिक्रोनबारे त्रास फैलिएको छ । यस्तोमा आवश्यक जानकारी दिन र आम समुदायमा यसबारे सर्तकता अपनाउन विज्ञहरूको सहभागितामा परामर्श र अन्तरक्रिय गर्न लागेका हौँ,’ उनले भने, ‘तसर्थ सम्पूर्ण नेपाली जनहरूमा सहभागी भएर लाभ लिन आह्वान गर्दछु ।’ अध्यक्ष मगरले कार्यक्रमको सन्देश संसारभर रहेका नेपालीहरूमाझ पु¥याउँदै कोभिडबाट सुरक्षित रहन त्यससँग सम्बन्धित उपायहरू पनि सुझाउने बताए । अन्तरक्रिया भर्चुअल रूपमा जुमबाट यूके समयअनुसार अपरान्ह २ बजे हुनेछ ।

Advertisement

अन्तरक्रिया एनआरएनए यूकेको स्वास्थ्य विभागका प्रमुख संयोजक डा. विशाल गुरूङको संयोजनमा हुँदैछ भने कार्यक्रमलाई एनआरएनए यूके उपाध्यक्ष गोविन्द खरेलले सञ्चालन गर्दैछन् । अन्तरक्रियामा वाटर एडका सिनियर म्यानेजर एवम् जनस्वास्थ्य विज्ञ डा. ओम प्रसाद गौतमले ओमिक्रोनको संक्रमण र यसबारे सुरक्षित रहने उपायबारे बोल्नेछन् । त्यस्तै, नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. कमल अर्यालले कोभिडबाट सुरक्षित रहने उपाय र खोपको प्रभावकारिताबारे जानकारी दिँदैछन् । बकिंहेम्प्सायर विश्वविद्यालयका सह लेक्चरर एवम् आइसीयू सीसीओकी सिनियर नर्स प्रसन्ना कँडेलले ओमिक्रोनको लक्षण र यूकेको अस्पतालको क्षमतासँगै प्रभावबारे आफ्नो धारणा राख्नेछिन् । त्यस्तै, नर्थहेम्प्टनसायर हेल्थ केयर राष्ट्रिय स्वास्थ्य सेवा फाउन्डेसन ट्रष्टसँग आबद्ध मनोचिकित्सक परामर्शदाता डा. प्रेम राईले कोभिड महामारीले र मानसिक रोगको अवस्थाबारे राय राख्नेछन् । एनडीए यूकेका पूर्व अध्यक्ष एवम् अवकाशप्राप्त मनोचिकित्सक परामर्शदाता डा. चुडा कार्कीले समेत मानसिक रोगले परिवारमा पार्न सक्ने प्रभावबारे आफ्नो महत्वपूर्ण अनुभवहरू सेयर गर्नेछन् ।

सन् २०१९ को नोभेम्बरमा कोभिड १९ को पहिलो संक्रमण भएको व्यक्ति फेला परेको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म २८ करोड ३० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै, कोभिडका कारणले ५४ लाख बढीले ज्यान गुमाइसकेका छन् । यूकेमा पनि एक लाख ४८ हजार बढीको कोभिडका कारण मृत्यु भइसकेको छ । यूकेमा ७९.९ प्रतिशतले कोभिडको दुवै खोप लगाइसकेका छन् भने एक खोप लाउनेहरू ८७.७ प्रतिशत छन् । हाल बुस्टर डोज लाउनेको संख्या पनि बढिरहेको छ । यूकेमा गत नोभेम्बर २७ मा ओमिक्रोन भेरिएन्टको पहिलो संक्रमण फेला परेको थियो । यो भेरिएन्ट दक्षिण अफ्रिका र बोट्सवाना मुलुकबाट फैलिएको वैज्ञानिकहरूले आशंका गरेका छन् ।