April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मिडिया र साहित्य सँगसँगै जानुपर्ने धारणा

मिडिया र साहित्य सँगसँगै जानुपर्ने धारणा

लन्डन । प्रवासमा नेपाली भाषा एवम् साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि मिडिया र साहित्य क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन् ।

साहित्य चौतारी यूकेले शनिबार आयोजना गरेको ‘मिडिया र साहित्य’ विषयक विशेष छलफल श्रृंखलामा बेलायतस्थित अग्रज साहित्यकार तथा सञ्चारकर्मीहरुले मिडियाकर्मी र साहित्यकारहरुबीच सहकार्य र सहयोग आदानप्रदानको आवश्यकता औंल्याए ।

Advertisement

साहित्य चौतारी यूकेका संयोजक साहित्यकार वासु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले विदेशमा हुर्किंदै गरेको नेपालीको नयाँ पुस्तालाई नेपाली भाषा तथा साहित्यतर्फ आकर्षित र प्रेरित गर्न सामुहिक पहल अघि बढाइनुपर्ने बताए ।

कार्यक्रममा साहित्यकार कृष्ण बजगाईंले विदेशस्थित नेपालीहरुको पहिलो पुस्तामा नेपाली साहित्यप्रति ठूलो लगाव भएपनि दोस्रो पुस्तालाई नेपाली साहित्यतर्फ आकर्षित गर्नु चुनौतिपूर्ण रहेको उल्लेख गरे ।

वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार खगेन्द्र नेपालीले साहित्य र सर्जकहरुको प्रवर्द्धनका लागि मिडियाका प्लेटफर्महरु उपयोगी बन्न सक्ने तर समय र प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न सक्नुपर्ने धारणा राखे ।

अन्तरराष्ट्रिय नेपाली वाङ्गमय प्रतिष्ठानका साहित्यकार गोपी सापकोटाले नेपाली सञ्चारमाध्यमहरुले नेपाली साहित्यमा अपनत्व महशुस गरी आफ्नो प्लेटफर्महरु उपलब्ध गराउनुपर्ने धारणा राखे । तर साहित्यकार तथा सर्जकहरुले पनि आफ्नो रचनाहरुको गुणस्तरमा ध्यान दिन उत्तिकै जरुरी रहेको उनको सुझाव थियो ।

साहित्य संगम यूकेका अध्यक्ष साहित्यकार विनोद अधिकारीले प्रवासमा नेपाली भाषा, साहित्यको संरक्षण चुनौतिपूर्ण रहेपनि असम्भव नरहेको धारणा व्यक्त गरे । भाषा, साहित्यको प्रवर्द्धनका लागि मिडियाको भूमिका नै प्रधान हुने भन्दै उनले सहयोगका लागि आग्रह गरे ।

वरिष्ठ पत्रकार भगिरथ योगीले प्रवासमा सञ्चालित नेपाली मिडियाले स्थानीय नेपाली सर्जक र साहित्यलाई पर्याप्त स्थान दिंदै आएको स्मरण गराए । नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले नेपाली साहित्य तथा साहित्यकारहरुको प्रोत्साहन र प्रवर्द्धनका लागि साझेदारका रुपमा सहकार्य र योगदान गर्न बेलायतस्थित सञ्चारमाध्यमहरु प्रतिबद्ध रहेको जनाए ।

बिएफबिएस रेडियोको साहित्यिक कार्यक्रम ‘सिर्जनाका फूलहरु’ का प्रस्तोता योगराज राईले पनि नेपाली साहित्य तथा स्रष्टाहरुको लागि मिडियाको तर्फबाट हुन सक्ने सबै सहयोगका लागि तयार रहेको सुनाए ।

साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले नेपाली भाषा, साहित्यको विकास र प्रवर्द्धनमा सबैभन्दा महत्वपूर्ण भूमिका मिडियाबाटै सम्भव रहने भएकाले साहित्य र मिडिया विषयमा छलफल शुरु गरिएको बताए । विदेशस्थित नेपालीको दोस्रो पुस्तामा नेपाली भाषा, साहित्य जिवन्त राखिराख्न थप कसरत आवश्यक देखिएको उनले सुनाए ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गायक प्रमोदराज न्यौपानेले गरेका थिए भने संयोजन साहित्य चौतारी यूकेका तर्फबाट अहिल्या कुंवरले गरेकी थिइन् ।