April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

विराटनगर । प्रदेश नम्बर एकले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गर्दै मन्त्रिपरिषद विस्तार गरेको छ । सातवटा मन्त्रालय रहेको मन्त्रिमण्डल अब १३ पुगेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो ‘मौसम’ ले थप ६ नयाँ मन्त्रालयसहित मन्त्रिमण्डल पुनगर्ठन गरेको बताए । ‘कमभन्दा कम आर्थिक व्यय भार कम हुने, कार्यसम्पादनमा प्रभावकारिता हुने र परिणाम आउने गरी विषय मिल्ने कार्यालयहरुको समायोजन गरिएको छ । र, अब मुख्यमन्त्रीको कार्यालयसहित १३ वटा मन्त्रालयहरू हुनेछन्,’ मन्त्री आङ्वोले भने ।

Advertisement

विस्तारित मन्त्रिमण्डलको सूची ।

पाँच दलीय गठबन्धनको सरकार रहेको प्रदेश एकको मन्त्रिमण्डल नेपालको संविधानको धारा १६८ को उपधारा(९)बमोजिम प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले स्वीकृत गरेपछि नयाँ मन्त्रीहरूको नाम स्वीकृत भएको हो । मन्त्री पदमा नियुक्ति हुनेहरूको सूची आइतबार नै प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर सूचित गरेका थिए ।

गत कात्तिक १६ गते गठन भएको मन्त्रिपरिषद पहिलोपटक विस्तार भएको हो । जसअनुसार मुख्यमन्त्रीमा राजेन्द्र कुमार राई, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्वो, सडक, पूर्वाधार तथा शहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा सँस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बु छन् । त्यस्तै, कृषि मन्त्रीमा झलक बहादुर मगर, वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा शेखर चन्द्र थापा, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा ओमप्रकाश सरावगी, उद्योग, श्रम तथा रोजगार मन्त्रीमा प्रताप प्रकाश हाङ्गाम, यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्र प्रसाद घिमिरे र सामाजिक विकास मन्त्रीमा विष्णु तुम्बाहाङ्फे छन् ।