April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रज्ञा–प्रतिष्ठानमा पुस्तक  प्रदर्शनी सुरुः  वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरुः वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भए पनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनः पुस्तक प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने— “नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।” उनले पाठकहरूको मागलाई आत्मसात गरेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको र यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने बताए । पुस्तक प्रदर्शनी उद्घाटन कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपालको उपस्थिति रहेको थियो ।

Advertisement

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै ।

प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।