April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू

‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू

चौबिस(धनकुटा) । पूर्वको प्रदेशमा बस्ने याक्थुङ लिम्बु र राई समुदाय आदिवासी समूहमा सँस्कृति र मुन्धुमका धनी जाति मानिन्छन् । आ–आफ्नै विशिष्ट साँस्कृतिक विशेषता बोकेका यी दुई समुदायको आदिम बसोबासको भूगोल भने अरुण खोलाले छुट्याउँछ । फरक भूगोल र सँस्कृतिका बावजुद यी समुदायमा सरोबरी रूपमा प्रेम र बिहेबारी हुने गरेको छ । तरुण तन्नेरीबीचको यहीँ प्रेमभावलाई चौबिसे समूहको युवा जमातले ‘सिटि सफारी’ गीतमार्फत प्रस्तुत गरेको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहेको ‘हाम्रो ऐतिहासिक साँघुरीगढी धनकुटा’ र ‘हाम्रो चौबिस ग्रुप’मा आबद्ध युवाहरूको विशेष प्रस्तुतिमा शुक्रबार ‘सिटि सफारी’ सार्वजनिक भएको हो । पूर्वेली लोक लयमा तयार भएका साढे एघार मिनेट लामो गीत र भिडियोमा अरुण पारिका राई समुदायका युवतीहरू र वारिका याक्थुङ लिम्बु समुदायका युवाहरूको मायालु भावमा भएको जुहारी सुन्न र हेर्न पाइन्छ । अनुकला राईले आफ्नो शब्दमा भिज्युअल आर्टससँग मिलेर प्रस्तुत गरेको गीतमा दुई वर्षअघि भएको विश्वव्यापी पाःलाम प्रतियोगिताबाट चर्चामा आएका गायक पेपराज माबुहाङ र व्यस्त गायिक सुनिता सङ्यक लिम्बुको स्वर सुन्न सकिन्छ । सर्जक सञ्जय तुम्बाहाङ्फेको संगीत संयोजन रहेको गीतलाई किङ्स स्टुडियोमा सुरेश राई र मनोज साम्सोङ राईले रेकर्ड र राजु कार्कीले एरेन्ज गरेका छन् ।

Advertisement

धरानको नाट्य क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका युवा रंगकर्मी हरि इवाहाङ लिम्बुको कथा र निर्देशनमा सुशील चेम्जोङ र सविता याक्खा राईले अभिनय गरेका छन् । आफ्नो डेब्यू भएपनि दुवैले भिडियोमा शानदार अभिनय गरेका छन् । उनीहरूलाई साथ दिने कलाकारहरूमा सागर सरगम चेम्जोङ, कमल चेम्जोङ(याक्थुङ्बा कान्छा), बादल चेम्जोङ, सुरेन हाङ्गाम लिम्बु, सुप्रिया राई, मौसमी मगर, युवराज राई(अलौकिक), एसिका राई, इन्द्र राई र सविना कुरुम्वाङ रहेका छन् । धरानमा सिटि सफारीमा चढेको बेला भेट भएको प्रसंग जोड्दै जीवनका विविध पाटोबारे गीतमार्फत् दोहोरो संवाद गर्दै बनेको भिडियोको छायाङ्कन धनकुटाको राजारानी र धरान आसपासका क्षेत्रमा गरिएका छन् ।

सागर गौतमको सहायक निर्देशन रहेको गीतमा हरि बहादुर घलेले छायाँकारमा, भूपेन्द्र अधिकारीले सम्पादनमा, रेनिस फागोले रंगमा, विवेक रसाइलीले पोष्टर डिजाइनमा, एडम लिम्बुले ड्रोनमा, महेश सिग्देलले श्रंगारमा, देवराज सिग्देल(मोती) र रञ्जित लावाले प्रकाशमा, सुरेश थापा मगरले यातायातमा, उत्तम अर्यालले फोकस पुलरमा र सुरेश पाण्डेले क्यामेरा टेकरमा आफ्नो काम देखाएका छन् । धरानको ड्रिम हाई स्टुडियो र नयाँ भावाना रेकर्डिङ स्टुडियोमा स्वराङ्कन गरिएको छ भने हेल्लो नेपाल इन्टरटेन्टमेन्ट प्रालि र कोशी भिजन इटहरीले उपकरण उपलब्ध गराएका छन् ।

गीति भिडियो सुन्न र हेर्न यहाँ थिच्नुहोस् –