April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

धरान । याक्थुङ संस्कृतिकर्मी श्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् । तिन दशक अघिदेखी पालाम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतीका कार्यमा योगदान पु¥याउँदै आएका उनले याक्थुङ लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् ।

धरान स्थित चक्रवहादुर पालुङवा फाउण्डेशनले प्रदान गर्दै आएको उक्त सम्मान पुरस्कारको राशी २० हजार रुपया छ । बुधवार आयोजित एक समारोहबीच मदन पुरस्कार विजेता लिम्बुवानको इतिहास खोजकर्ता भगिराज इङनामको हातबाट उनलाई प्रदान गरिएको हो ।

Advertisement

फाउण्डेशन स्वर्गिय चक्रवहादुर पालुङवाका छोराहरु तथा परिवारले उनको स्मृतिमा कल्याणकारी कार्य सञ्चालन गर्न स्थापना गरेको हो । गतवर्ष उक्त सम्मान पुरस्कार वरिष्ठ पत्रकार हर्ष सुब्बालाई प्रदान गरिएको थियो । सम्मान पुरस्कारका साथै फाउण्डेशनले छात्रवृत्ति, गम्भीर विरामीलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।

यसपाली ल्याबोटरी उच्च मावि, धरान–८ कक्षा १२ का छात्र रोमन थापा मगरलाई १३ हजार ५ रुपयाको छात्रवृत्ति भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेको हातबाट प्रदान गरियो । अघिल्लो वर्ष कक्षा ११ मा पढ्दा पनि उक्त छात्रवृत्ति उनैले पाएका थिए । यसपाली ढाडको उपचार गराई रहेका गम्भिर विरामी खोटाङ हलेसीका ७२ बर्षिय गुरुपती भट्टराई नगद ५ हजार ५ रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ ।

समारोहमा मदन पुरस्कार विजेता इङनामले भने ‘स्वर्गिय चक्रबहादुर पालुङवा इतिहासकार पनि थिए, उनले ताप्लेजुङको समकालिन समाज र लिम्बुवानको चलनका बारेमा आफैले देखेको भोगेको इतिहास लेखेका छन् ।’ चक्रबहादुरको पुस्तक ‘चक्रको युग चक्र’मा उल्लेख भएका घट्ना, संस्मरण तत्कालिन इतिहास भएको बताए ।

खोजकर्ता इङनाम ‘लिम्बुवानको ऐतिहासीक दस्तावेज संग्रह’ पुस्तकका लागि २०७७ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका हुन । लिम्बुवानको इतिहास खोजकर्ताहरु इतिहासकार इमानसिंह चेम्जोङ सहितका पुस्तक प्रकाशित भएतापनि पहिलो पटक दस्तावेज संग्रह पुस्तकले मदन पुरस्कार पाएको हो ।

भाषाविद् प्राडा.टंकप्रसाद न्यौपानेले नेपालका मातृभाषाहरु लोप हुन लागेको बताउँदै लिम्बु भाषा लेख्य परम्परामा अहिले पनि जीवन्त रहेको बताए । चक्रबहादुर पालुङवा जस्ता समकालिन समाजका चलनहरु, अनुभवहरु लेखेर राख्ने असल व्यक्तिहरुका कारण लिम्बुवानको इतिहास खोज्न सहज भएको उनको भनाई थियो ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख अशोक लोहरुङ राईले फाउण्डेशनले मातृभाषी सांंस्कृतिकर्मी यासेलीलाई सम्मान गरेर उदाहरणिय कार्य गरेको बताए । मौलिक सांस्कृतिका गीत, संगीतमा काम गरेका संस्कृतिकर्मीहरु ओझेलमा परेको बेला यो सम्मान उदाहरणीय बनेको उनको भनाई थियो ।

गतवर्ष सम्मानित पत्रकार हर्ष सुब्बाले चक्रबहादुर पालुङवा बहुमुखी व्यक्ति रहेको बताउँदै महान पिता, संघर्षशील व्यक्ति, शिषा सेवी तथा सामाज परिवर्तनका संवाहक रहेको बताए । पालुङका जेठा छोरा केपी पालुङवाले बुवाको स्मृतिमा हरेक वर्ष जन्मजयन्ती मनाउँदै असल काम गर्न पुरस्कार र छात्रवृत्ति स्थापना गरिएको बताए ।

फाउण्डेशनको अध्यक्ष डा.योगेन्द्र पालुङवाको सभापतित्वमा भएको समारोहमा चक्रबहादुरका बयोबृद्ध श्रीमति विष्णुमाया पतङवा, परिवारका सदस्यहरु, विशिष्ठ व्यक्तिहरु उपस्थित थिए । ताप्लेजुङ निवासी स्वर्गिय चक्रवहादर पालिूङवाको ८५ वर्षको उमेरमा दुई वर्ष अघि धरानमा बसोबास गर्दै आएको बेला निधन भएको थियो ।