April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बन्द बाक्सा हेरेपछि

बन्द बाक्सा हेरेपछि

– नरप्रसाद लिम्बु लुम्फुङ्वा

(रंगभूमि एकेडेमीको प्रस्तुति, मिलन चाम्लिङ राईको लेखन एवम् निर्देशन रहेको नाटक ‘बन्द बाक्सा’ धरानको सैनिक भवनमा २२ औँ पटक प्रदर्शन भई गत बैशाख १२ गते समापन भएको थियो । धरानको रंगमञ्चमा सबैभन्दा कान्छो पुस्ता बनेर देखा परेपनि एकेडेमीका कलाकारहरूले केही वर्षयता लगातार मन जितिरहेका छन् । यहीँ मेसोमा पुराना कलाकार एवम् याक्थुङ लिम्बु भाषाको पहिलो टेलिचलचित्र तरेबाका नायक नरप्रसाद लुम्फङ्वाले नाटक हेरेपछि प्रतिक्रिया लेखेका थिए । प्रस्तुत छ छोटो समीक्षात्मक अनुभूति । सं.)

Advertisement

धरानमा २०७८ चैत्र २७ गतेदेखि मञ्चन भईरहेको रङ्गभूमि एकेडेमीको प्रस्तुती “बन्द बाक्सा” हिजो २०७९ बैशाख २ गते धरानका युवा राजनीतिककर्मीहरुसँग बसेर हेरियो । हुनत योजना चुम्लुकर्मीहरुसँग हेर्ने थियो । तर नाटक सकिएपछि थाहा भयो, चुम्लुङकर्मीहरु नाटक हेर्न आईपुगेनन् ।


नाटक हेरिरहँदा त्यो अँध्यारो हलमा अरुको त थाहा भएन, मेरो चाहीँ आँखा आँशुले भिज्यो । एक पटक होइन । दुई तीन पटक । कलाकारहरुको स्वभाविक अभिनय, संवाद र कथाले यति मुग्ध र गम्भिर बनायो कि त्यस्तो गर्मि हलमा ८० मिनेटको नाटक ३० मिनेटमा बितेको जस्तो लाग्यो । संगीत–ध्वनी र प्रकाश तथा मञ्च सजावट उच्च कोटीको थियो । एक प्रकारले प्रयोग नै छ । मञ्चमा दर्शक बस्छन्, दर्शक दिर्घा नाटक मञ्चन गर्ने मञ्च बनेको छ । सबैभन्दा उच्चकोटीको थियो, नाटक र मञ्चनको परिकल्पना ।

नाटककाे एक दृश्य ।


म ४० को दशकको उत्तरार्धसम्म धरान र काठमाडौंमा नाटक हेरेर हुर्केको मान्छे । त्यतिबेला आरोहणको धेरै नाटक हेर्न भ्याएँ । अशेष मल्ल, सुनिल पोखरेल मुखमा झुण्डिएको थियो । अनामको नाटकहरु छुट्दा मन थक थक हुन्थ्यो । आज नाटक हेर्दा लाग्यो, वाह ! हामीले यहीँ धरान मै चिनेजानेका बिष्णु मोक्तान, मिलन चाम्लिङ राई, हरी इवाहाङ, तुलसा थापाहरु यत्ती उत्कृष्ट नाटक परिकल्पना गरेर मञ्चन गर्न क्षमता राख्छन् त !! आफैले हेरेपछि विश्वास गर्नैपर्छ, हो धरानमा पनि उत्कृष्ट नाटक मञ्चन हुन्छ । कलाकार र व्यवस्थापकहरु फोन गरी गरी नाटक हेर्न बोलाउँछन् र उत्कृष्ट नाटक दर्शक सामु पस्कन्छन् । हुनत यसभन्दा अगाडी पनि रङ्गभूमि एकेडेमीले म लगायत धेरै नाटकप्रेमीको मन जीत्न सफल भएको थियो ।

लेखक लुम्फुङ्वा ।


नाटकको शुरुआत किराती राईहरुको प्रख्यात सांस्कृतिक–प्राकृतिक नाच साकेला (चन्डी नाच) बाट हुन्छ । एक हुल युवा युवतीहरु पसिना तरतरी हुनेगरी साकेला नाच्छन् । नाचिसकेर उहिलेको जस्तो खाजा पानी बाँडेर खान्छन्, पिउँछन् । त्यहाँ माँया पिरती साट्नेहरु साट्छन् । तिनैमा हुन्छन् पारुहाङ र सुम्निमा । पारुहाङ र सुम्निमा किरात राईहरुको आदिम पात्र पात्रा हुन् । पुर्खा हुन् । त्यो नाउँ बिम्बलाई प्रयोग गरेर सुम्निमा पारुहाङको पे्रमिल संवाद र अभिनयले दर्शकको मन कुतकुताउँछ । नाटकमा सुम्निमाको अभिनय सम्झना राईले गरेकी छिन् भने पारुहाङका लागि हरी इवाहाङ लिम्बु देखिन्छन् ।


बन्द बाक्सा नेपालको सरकारी तथ्यांकमा औसत गरिवीको रेखा घटेपनि गरिवीको जाँतोमा पिल्सीएका युवा युवतीको कथा हो । प्रेमिल जोडीको भविष्यको कथा पनि हो । मेलापात गरेर इत्रिदै हिढ्ने युवा युवतीको पनि कथा हो । गरिवीसँग संघर्ष गर्ने आम युवाहरुको कथा हो । नाटकमा त्यसलाई आरा काट्ने दृष्यमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । बन्द बाक्सा एक छिन नछुटिने जोडी उमेर (पीयर एज) को साथीहरुको पनि कथा हो । बन्द बाक्सा एकल आमाको कथा हो, जो डाँडामाथिको घाम हुँदै छिन्, तर छोराको लागि असिम माँया र पिडा र आँशु पिउन बाध्य छिन् । अनि यो कथा ति युवतीहरुको कथा हो, जसले जीवनभरी सँगसँगै बाँच्ने रहर र इच्छा गर्दागर्दै तिनलाई आँशुको भेलमा बगाएर बाँच्न बिवश छन् । नाटक किरात खम्बु राईहरुको मुन्दम पनि कहने कथा हो, “तिम्रो हाम्रो बाटो अबदेखि अर्कै भयो, तिमी हाँसी खुशीसाथ जानु,” भनेर नाक्छुङले भन्दा धेरैको आँखा रसाउँछ । अनि यो नाटक ति अभागी युवाहरुको कथा हो, जसले आफ्नो आमा, प्रेयसी, साथी सँगी, आफन्त नातागोतालाई सपना देखाएर बिदेसिन्छन् तर उतै जीवनलिला समाप्त पारेर बन्द बाक्सामा फर्कन्छन् ।

नाटकको पाेष्टर ।


नाटकको कथा सरल छ । किनभने यो हाम्रै समाजको कथा हो । यस्तै त भईरहेको छ नी भन्ने लाग्छ । नाटक हेरिरहँदा मन असरल्ल हुन्छ । हाम्रा युवा युवतीले गरिबीको भूमरीमा परेर कहिलसम्म यसरी विदेशिएर बन्द बाक्सामा फर्कनु पर्ने हो ? हामीले २०४६ सालमा प्रजातन्त्रको लागि लडयौं । ०६२÷०६३ मा लोकतन्त्रको लागि लडयौं । त्यसपछि गणतन्त्रको लागि लडयौं । सबै लडाईंमा जनताले जीवन आहुती गरेका छन् । तर गरिवी र भोक विरुद्ध कहिलेसम्म लड्ने हो ? को सँग लड्नुपर्ने हो ? हिजो लडाईंको मोर्चामा सँगै लड्नेसँगै नै लड्नुपर्ने हो कि ? एकजना आमा, नवयौवना पत्नी र साथीको सपना पुरा गर्न कहिलेसम्म को सँग लड्नपर्ने हो ? नाटक हेर्दा र हलदेखि निस्किँदै गर्दा यस्तै प्रश्न मनमा खेलाउन बाध्य पार्छ नाटक बन्द बाक्साले ।

अब अन्तमा, नाटक हेरिरहँदा मनमा खेलेको अर्को कुरा हो, नाटक मञ्चन सिर्जनाको कुरा । अभिनय, कथा, संवाद, सिर्जना र परिकल्पनाको कुरा हो । बरमझियाको बुढोको असली पेडाभन्दा स्वादिलो यत्तिको नाटक निर्माण गर्न परिकल्पनाकार र सिर्जनशीलताका लागि सबै प्रकारको लगानी कति चाहिन्छ ? जीवन भनेको राजनीति मात्रै होइन; कला, गीत–संगीत, चित्रकला, नाटक, अभिनय, साहित्य, खेलकुद सबै सबै हो । र प्रश्न गर्न मन लाग्यो, हाम्रा राजनीतिकर्मीहरु यी पक्षहरुमा निरश भएर पो जीवनमुखी योजना बनाउँदैनन् कि ? यद्यपी म नँया धार निर्माण गर्न उद्धत राजनीतिककर्मीहरुसँग नाटक हेरिरहेको थिएँ । नत्र यत्तिको नाटकलाई स्थानीय तहले कुनै पक्षको सम्पूर्ण भार बोकिदिनुपर्ने हो । जस्तैः हल भाडा, मञ्च निर्माण । निस्कँदा निस्कँदै मूल पात्र अभिनेता हरी भाईलाई सोधेँ, टिकटबाट उठेको पैसाले खर्च बेहोर्छ ? उनको उत्तर थियो, “आधापनि बेहोर्दैन दाई । हल सञ्चालकहरुले बुझेर केही डिस्काउन्ट गरिदिए पनि हुने । अब भोलि अन्तिम दिन हो । खर्च कसरी जोहो गर्ने भनेर पिरलो छ ।” खर्च जोहो गर्ने पिरलो बोकेर कुदिहिँड्ने कसरी सिर्जनामा अब्बल गर्ला र ? तर संसारमा गरेका छन् हरि । यहीँ धरान मै ४० र ५० को दशकमा अग्रज रंगकर्मीहरुले गरेका छन् । पीर नगर्नु । पेट पाला गर्न सकेनन् होला, तर इतिहास निर्माण गरेका छन् हरि ।

अब चाहीँ साञ्चै अन्तमा, हरिको अभिनयको कुरा म गर्दिनँ । अब उ धरानको रङ्गमञ्चको लागि नँया नाम होइन । तर सुम्निमाको अभिनय गर्ने सम्झना राई, आमाको भूमिकामा अभिनय गर्ने रमिता राईको अभिनयमा खोट लाउने ठाउँ मैले चाहीँ देखिनँ । हुन त म कला वा रङ्गकर्म समीक्षक नभएर पनि राम्रै राम्रो देखेको हुनुपर्छ । आमाको भूमिका गर्ने त यत्ति स्वभाविक थियो कि बाहिर मैले हरिलाई सोधें, आमाको रोल गर्ने साँच्चैकाे सुड्डी हाे कि ? हरिको उत्तर थियो, कहाँ दाई सबै बहिनीहरु हो नी ! अर्को शक्तिशाली रोल बोली प्रष्ट नबोल्ने अपाङ्गताको अभिनय गर्ने इन्द्र राईको हो । त्यो भूमिका वास्तवमा कठिन पनि हो । अरु सबैको भूमिका र अभिनय यत्ति स्वभाविक र आनन्दलाग्दो छ कि कहिले मनोरञ्जन प्राप्त हुन्छ त कहिले गम्भिर बनाउँछ ।

सानोतिनो बिम्ब प्रयोगले नाटकलाई घतलाग्दो र रोचक बनाएको छ । घाँस दौरा गर्ने युवतीहरु जसको धेरै जीवनसाथीहरु विदेशमा हुन्छन्, उनीहरुको संवाद सुन्दा रोचक लाग्छ । “मोबाईलमा सबै सबै देखाउ भन्छ, म पनि आफ्नै बुढा त हो भनेर सबै देखाईदिन्छु नि !” भन्दा दर्शकको हाँसो फुत्त निस्कन्छ । तुरुन्त संवादले भन्छ, “घर, गोठ, आँगन पो देखाउ भनेको त !” त्यसबेला बोली नआउने अपाङ्गता हुने पात्रले ढुंगाको खोप्पी खेलेको दृष्यले अर्कै संकेत गरिरहेको छ । पात्रहरु यति स्वभाविक छन् कि, एउटाले रमाईलोका साथ एउटा भाव गरिरहेको हुन्छ, अर्को कोणमा अर्को पात्रले अर्कै भावमा देखिन्छन् । यत्ति राम्रो अभिनय गराउन भुमिका खेल्ने र नेपाली कथालाई नाटकमा ढलान गर्ने लेखक तथा निर्देशक मिलन चाम्लिङ राई वास्तव मै धन्यवादका पात्र छन् । र टिम लिडरको रुपमा नेपथ्यमा छन् रंगभुमी एकेडेमीको अध्यक्ष बिष्णु मोक्तान । धरानको पछिल्लो रंगकर्मलाई ब्युँताउने श्रेय जाने मोक्तानलाई एक पटक पुःन धराने नाटक दर्शकको मद्धत चाहिएको छ । त्यो हो, टिकट किनीदिएर नाटक हेरिदिनु वा कुनै प्रकारले मद्धत गर्नु ।

धन्यवाद रंगभूमी एकेडेमी ।