May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कार्य समितिप्रति एनआरएनए यूके अध्यक्ष गाहा मगर असन्तुष्ट

कार्य समितिप्रति एनआरएनए यूके अध्यक्ष गाहा मगर असन्तुष्ट

अल्डरसट । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेले गत अगष्टमा भएको महाधिवेशनपछि कार्यकाल सहज ढंगले बित्ने छनक देखाएको थियोे । बेलायतका महत्त्वपूर्ण मुद्दाहरूमा देखाएको संलग्नता र सक्रियताले सुरुवातकाे सय दिन ‘उपलब्धिमूलक’ भएको धेरैले ठहर गरेका थिए ।

एनआरएनएकाे केन्द्रमा आएको फाटाेसँगै त्यसको असर यूकेमा पनि देख्न थालिएको छ । महाधिवेशनमा सहभागी हुँदै करिब दुई महिना नेपाल बसेर आएका यूके अध्यक्ष प्रेम गाहा मगर पछिल्लो समय कार्य समितिकाे कार्यशैलीप्रति असन्तुष्ट बनेका छन् ।

Advertisement

एक विज्ञप्ति लेख्दै भनेका छन्, ‘पछिल्लो समय कार्यसमितिको यस्तो निष्क्रियता, संघप्रति अनुत्तरदायी भूमिका, नकारात्मक टिप्पणी एवं राज्य परिषदतिर ग्रुपिजमले म निकै बेखुशी भएको छु ।’ उनले केही व्यक्तिहरूले विभाग र पद लिए पनि सही ढंगले जिम्मेवारी निभाउन नसकेकाे भन्दै राेष प्रकट गरेका छन् ।

अध्यक्ष मगरले अगष्ट ६ मा हुने साधारणसभामा कार्य समितिको कामकाे समीक्षा हुने र महाधिवेशनमा पूर्ण कार्य प्रगतिको विवरण पेश हुने बताए ।

मगरले जारी गरेको विज्ञप्तिकाे पाठ जस्ताको तस्तै :

यहांहरु सबैलाई अवगत नै छ, एनआरएनए यूकेको २०२१–२३ कार्यसमिति अहिलेसम्मकै सबैभन्दा बढी ७० प्रतिशत जनमत ल्याएर निर्वाचित भएको हो ।

निर्वाचन अघि हामीले गरेका प्रतिवद्धतालाई विश्वास गरेर जनताले हामीलाई जिताउनुभयो । त्यो बेला हाम्रो एकमात्र उद्देश्य समाजका लागि केही योगदान दिने भन्ने थियो ।

तर, विडम्बना आज म यो कार्यसमिति सबैभन्दा निष्क्रिय भएको देख्दा निराश भएको छु । तपाईंहरुले आफ्नो विभाग, समिति उपसमिति ‘होल्ड’ गरेर राख्नुभयो तर काममा सिन्को भांच्नु भएन । एनआरएनए यूकेलाई काम गर्न कसैले अवरोध गरेको छैन् भन्नेमा म विश्वस्त छु ।

अहिले एनआरएनए यूकेले गरेका कार्यक्रममा संयोजक र अध्यक्षमात्र उपस्थित हुने अवस्था आएको छ । म हिजो र आज हुने दुई कार्यक्रमकै उदाहरण दिन्छु । हामीले गत १५ मेमा कार्यसमितिको प्रत्यक्ष बैठक बसेर आज सांझको डा. महावीर पुनसंग स्वागत तथा अन्तरक्रिया कार्यक्रम र भोलि ४ जुन शनिबार अल्डरसस्थित क्वीन्स् एभिन्यूमा हुने नेपालीहरुको सबैभन्दा ठूलो जमघट गोर्खा कपमा एनआरएनए यूकेको हेल्थ क्याम्प राख्ने कार्यक्रम पारित गर्यौं । तर बिडम्बना यी दुवै कार्यक्रममा कोही पनि सहभागी हुने स्थिति देखिएन । गोर्खा कपको हेल्थ क्याम्प अध्यक्ष एक्लैले चलाउनुपर्ने अवस्था सृजना भएको छ ।

गाहा मगरले जारी गरेको विज्ञप्ति ।

पछिल्लो समय कार्यसमितिको यस्तो निष्क्रियता, संघप्रति अनुत्तरदायी भूमिका, नकारात्मक टिप्पणी एवं राज्य परिषदतिर ग्रुपिजमले म निकै बेखुशी भएको छु । त्यस्ता केही इष्यू भए तपाईंहरुले मलाई सिधा भने हुन्थ्यो ।

यहांहरुलाई थाहै छ मेरो पृष्ठभूमि आर्मी भएकाले संघसंस्था कसरी अगाडि बढाउने भन्ने मलाई राम्ररी थाहा छ।अरु कसैको साथ नभए म एक्लैले संस्था हांकेर लैजान सक्छु । म पब्लिकलाई दिएको वाचा अनुसार २४/७ उपलब्ध हुनेछु र काम निरन्तर गरिरहन्छु।

एनआरएनए यूकेमा कसले के योगदान दियो, को सक्रिय थियो आदिबारे करिअर रिपोर्ट लेखिने छ । कार्यसमितिका पदाधिकारी अनि सदस्यहरुले गरेको काम कारवाही सम्बन्धि प्रगतिको अर्धवार्षिक समिक्षा आउंदो ६ अगष्टमा हुन गइरहेको साधारण सभामा र करिअर रिपोर्टको पूर्ण विवरण महाधिवेशनमा पेश हुनेछ ।

कार्यसमितिमा दुई तीन जना पदाधिकारी र एक दुई विभागले आफ्नो तर्फबाट योगदान गरिरहनुभएको छ, म उहांप्रति आभारी छु । तर, जसले केही योगदान गरिरहेको छैन्, पद र जिम्मेवारीमात्र ओगटेर बसेको छ, उसको मूल्यांकन अवश्य गरिनेछ । त्यो मूल्यांकनले आगामी दिनमा तपाईंको चुनाव र समाजमा पर्ने प्रभाव कत्तिको प्रतिकुल हुन्छ म जिम्मेवारी लिन सक्दिन ।

अर्को कुरा यहांहरुलाई अवगत गराउं, अब हुने संघको बैठक एनआरएनए यूके फेसबुक पेजबाट लाइभ गरेर जनतासमक्ष सार्वजनिक गर्छु । त्यसबाट हाम्रो कार्यशैली कस्तो छ ? कामप्रति को कति गम्भीर छ ? आदिबारे मतदाताले छर्लंग देख्नेछन् । त्यहींबाटै ‘दुधको दुध, पानीको पानी’ हुनेछ । अहिले जस्तो पानी माथिको ओभानो बनेर अध्यक्षले सबै गल्ती कमजोरी खेप्नुपर्ने अवस्था रहन्न ।