April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूकेमा पाँचथरेहरुको १३औं बार्षिक भेलाः कार्यक्रम ‘सफल’ तर बिर्सियो समाजसेवाले नै समाजसेवीहरुलाई

यूकेमा पाँचथरेहरुको १३औं बार्षिक भेलाः कार्यक्रम ‘सफल’ तर बिर्सियो समाजसेवाले नै समाजसेवीहरुलाई

लण्डन । पाँचथर जिल्ला उदगम भई हाल बेलायतमा रहँदैआएका पाँचथरे जनहरुको १३औं बार्षिक भेला सम्पन्न भएको छ । गत शनिबार भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कैलाश काम्बाङले गरे भने बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहे

जुन ११ को दिन अल्डर्शटको एम्पायर हलमा भएको कार्यक्रममा समाजका अगुवा, संस्थापक, सल्लाहकार, पूर्व कार्यसमिति, अन्य सदस्य र विभिन्न अतिथिहरु गरेर झण्डै २०० जनाको उपस्थिति रह्यो ।

Advertisement

कार्यक्रमको पहिलो सत्रमा गत बर्ष सैनिक, शैक्षिक, लेखन, खेलकुद र साहित्यको क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिहरुलाई प्रमुख अतिथि महामहिम ज्ञानचन्द्र आचार्य र अध्यक्ष कैलाश काम्बाङको हातबाट खदा र प्रमाणपत्रद्धारा समाजले सम्मान गर्यो । सम्मानित हुनेहरुमा आआफ्ना विधामा डिग्री प्राप्त गरेका डा. रुक्साना तुम्रोक (एमबीबीएस), डा. जेम्स आङथुप्पो (पीएचडी), अस्मिता लावती (एलएलएम), शान्ति खिम्दिङ सेःलिङ (एमबीए), लिला सेलिङ माबो, अनुराधा केरुङ र सामसोगेन नेम्बाङ (एमएससी), सनम सङबाङफे, क्याप्टेन विनोद केरुङ, यमुना नेम्बाङ, नमुना नेम्बाङ, देउप्रकाश पन्धाक, प्रणेश हेम्ब्या, हर्ककुमारी नेम्बाङ र बिजय काम्बाङले बीएससी डिग्री गरेकोमा बधाई तथा सम्मान पाए ।

त्यस्तै वीए गर्ने नुमा हेम्ब्या र रोशनी लिङदेन र जीसीएसइमा उत्कृष्ट नतिजा ल्याउने मास्कट राई, मिसाङ सुहाङ र लिपोहाङ राई पनि सम्मानितका सूचीमा परे ।

कार्यक्रममा समाजका ४० जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र र व्याज प्रदान गरियो । कार्यक्रमको पहिलो औपचारिक चरणमा समाजकी बरिष्ठ उपाध्यक्ष शान्ति लिम्बूले स्वागत मन्तव्य दिइन् भने महासचिव प्रेम धलाव सुहाङ र क्याप्टेन वीरेन्द्र काम्बाङले संयुक्त कार्यक्रम सञ्चालन गरे ।

लिम्बू समुदायको हराउन लागेको पालामलाई गहिरो अध्ययन अनुसन्धान गरी मा लाजे निङसुवा पुस्तक प्रकाशन गर्ने लेखक, गीतकार, संगीत साधक तथा अभियन्ता सुवर्ण नेम्बाङ र खेलकुदमा उल्लेखनीय सफलता प्राप्त गर्ने मिसेक आङथुप्पो र सपिमा गुरुङलाई पनि समाज बधाई ज्ञापन गर्दै सम्मान गर्यो ।

त्यस्तै, ब्रिटिश सेनामा रहेर बिभिन्न उच्च पदमा पदोन्नति भएका अधिकृतहरु मेजर गजेन्द्र आङदेम्बे, मेजर चक्रबहादुर खत्री, मेजर युगल आङबो, क्याप्टेन वीरेन्द्र काम्बाङ, क्याप्टेन विनोद केरुङ र समाजका जेष्ठ नागरिहरुलाई पनि समाजले विेशेष सम्मान गर्यो ।

समाजको संस्कृति विभाग प्रमुख श्रीमती शकुन यक्पाङदेन नेम्बाङको संयोजनमा ‘दि भ्वाइस अफ नेपाल सीजन-३’ की फाइनालिस्ट तारा शिरिश मगर, ‘नेपाली तारा सीजन-२’ का उपविजेता तारा लक्समले विभिन्न लोक तथा आधुनिक गीतहरु गाएर सबैलाई मनोरञ्जन दिलाए । त्यस्तै, ब्याण्डमा कार्यरत गमान माखिम र गायक वीर नेम्बाङको सांगीतिक प्रस्तुतिले पनि थप रौनकता प्रदान गरेको थियो ।

मुन्धुमविद पदमबहादुर सम्बाहाम्फे र अर्का संस्कृतिकर्मी सुवर्ण नेम्बाङले हाक्पारे साम्लो मीठो भाकामा गाए । शान्तवीर नेम्बाङ, सुवर्ण नेम्बाङ, कल्पना आङबुहाङ, राजेन्द्र नेम्बाङ, महेश्वरी नेम्बाङलगायतले येलाङ प्रस्तुत गरी मनोरञ्जन दिलाए ।

कार्यक्रममा बरिष्ठ समाजसेवी नरकुमारी लिम्बु र धरान समाजका अध्यक्ष किरण लिम्बूले मन्तब्य राखे । अन्य अतिथिहरुमा नेपाली राजदूतावास लण्डनका द्धितीय सचिव रामबाबु नेपाल, किराँत याक्थुङ चुम्लुङ यूके, थामेन्दिङमा चुम्लुङ यूके, याक्थुङ माङगेन्ना चुम्लुङ, धरान समाज यूके, ताप्लिाजोङ समाज यूके, तेह्रथुम समाज यूके, धनकुटा समाज यूके, संखुवासभा समाज यूके, इलाम समाज यूके, सेवारो कलाकार संघ जस्ता संघसंस्थाहरुबाट प्रतिनिधिहरु उपस्थित थिए ।

पाँचथर समाजसेवामा समाजसेवीहरु नै अपहेलित

“समाजसेवा गर्ने” भनेर बेलायतमा सन् २००७ स्थापित पाँचथर समाज सेवा यूकेले कार्यक्रममा समाजसेवीहरुलाई नै सम्मान नगरेर आफू असम्मानित भएको छ । अन्य क्षेत्रमा सफलता हासिल गरेकाहरुलाई राजदूतको हातबाट सम्मानपत्र प्रदान गरेर समाजसेवाको क्षेत्रमा पाँचथर जिल्ला र पाँचथरेहरुको नाम उच्च राख्ने कुनै एउटा व्यक्तिलाई पनि मञ्चमा बोलाएर एउटा खदासम्म दिइएन । तिमध्ये थिए समाजका पूर्व अध्यक्ष नरवीर आङबो, समाजकै उपाध्यक्ष बिमला लिम्बू र कियाचु युकेका पूर्व उपाध्यक्ष तथा माङगेन्ना चुम्लुङ यूकेका संस्थापक अध्यक्ष कमला लिम्बू ।

यसबारेमा कार्यक्रममा उपस्थित पाँचथर समाजसेवा यूकेकै पूर्व महासचिव खुशी लिम्बूले भने, “पाँचथर समाजेसेवा यूकेले सबैलाई सम्मान गर्दैगर्दा समाजसेवीहरुलाई नै भुलेर गल्ति गरेको छ । बेलायतमा रहेका २५ हजारभन्दा बढी लिम्बूहरुको नेतृत्व गर्न पुगेका नरवीर आङबो जसले कियाचु यूकेकै इतिहासमा पहिलो पटक दुईतिहाई मत ल्याएर केन्द्रीय अध्यक्ष भए र सारा पाँचथर र पाँचथरेहरुको शीर उँचो पारे उनलाई समाजले सम्मान त के बधाईसम्म दिएन । इङल्याण्डदेखि स्कटल्याण्ड र वेल्सदेखि लिएर नर्दन आयरल्याण्डसम्मका जनताको झण्डै पाँच हजार भोट ल्याएर एनआरएनए यूकेकी महिला संयोजक भएकीपाँचथरकी छोरी पाँचथरकै बुहारी बिमला लिम्बु आफैं समाजको उपाध्यक्ष भएर आफ्नै कार्यक्रममा उपस्थित नहुनु पनि सायद उनलाई कार्यक्रमको ढाँचाबारे पूर्व जानकारी थियो।”

“यस्तै हो भने अब समाजको नाम ‘पाँचथर समाज सेवा’ होइन, ‘पाँचथर शैक्षिक सेवा यूके’ वा ‘पाँचथर सैनिक सेवा’ राखे हुन्छ । किनभने समाजको यस्ता गतिविधिहरुबाट भविष्यमा कोही पनि पाँचथरेहरु समाजसेवाप्रति आकर्षित हुने छैनन्” उनले पाँचथर समाजसेवा यूकेको पदधारण गरेर समाजसेवाप्रति नै उदास रहेका साथीहरुलाई कटाक्ष गर्दै भने ।
त्यस्तै समाजका पूर्व महासचिव लिम्बुले आफ्नो समाज मिडियाप्रति पनि उत्तिकै अमैत्री भएको विचार बताए । आयोजककै अनुरोधमा आफू दिनभर नेपाल मामिलाबाट प्रत्यक्ष प्रसारण गरेको तर आफ्नै जिल्लाका पत्रकारहरुद्धारा सञ्चालित मिडिया ‘नेपाल मामिला’ को नाम लिनसम्म आयोजक समिति ‘लजाएको’ प्रसंग झिके ।

“पाँचथर समाजसेवा आफैं समाजसेवीहरुप्रति अनुदार रहने र मिडियाप्रति असहिष्णु हुँदै जाने हो भने यो समाज कतै पुग्नेवाला छैन” उनले रोष प्रकट गर्दै भने ।

पाँचथर समाजसेवा यूकेको स्थापना सन् २००७ भएको थियो । कोभिडको कारण गत दुई बर्ष यो कार्यक्रम हुन सकेको थिएन ।