पहिरोमा परेकाकाे उद्धारका लागि ताप्लेजुङमा हेलिकोप्टर पुग्दै
सिनाम । ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ ।

अविरल बर्षसंगैको पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नुपर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ।
हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरु पुगिसकेको ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो । पहिरोमा परी ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको प्रजिअ पोखरेलले बताए ।
सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोदा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको शव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेकाे उपाध्यक्ष माबोले जानकारी दिए ।
गृहमन्त्री खाँडले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । उनको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ ।
#सिरिजङ्गा गाउँपालिकासम्वन्धित समाचार

प्रतिकृया दिनुहोस्