August 16, 2022, Tuesday
२०७९ भाद्र १, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

धरान । धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिण तर्फ बाँसका चार ठूला झ्याङहरु छन् । बुढासुब्बाको किम्बदन्तीसंगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताव्दी पुरानो मानिन्छ ।

दशक यता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको विच भाग खाली हुँदै आएको छ । झ्याङको वरिपरी सिमेन्टको टेवा पर्खाल लगाइएको थियो । सोही अवस्थामा रहे बाँस विस्तारै नष्ट हुने सरोकारवालाहरुले चिन्ता गर्न थालेका थिए । यसवारे गतवर्ष पुजारी उत्तम आले मगरले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

Advertisement

उनका अनुसार वनस्पति विज्ञले अध्ययन गरी सिमेन्टको टेवा घेराले बाँसलाई अवरोध गरेको प्रतिवेदन दिएपछि उपमहानगरपालिकाले संरक्षण कार्य थालेको हो । अहिले सिमेन्टको टेवा पर्खाल सहित बनाइएको श्रध्दालु वस्ने ठाउँ हटाइएको छ । बाँसको लागि १० फिट ठाउँ छाडेर सिमेन्ट बिना ढुंगाको टेवा उठाउने कार्य धमाधम भैरहेको छ ।

संरक्षण कार्यका लागि चालु आर्थिक वर्षको बजेटबाट कुल १० लाख रुपयाको लागत स्टमेट बनेकोमा उपमहानगरपालिकाले ९ लाख बाँकी उपभोक्ता समितिले व्यहार्नुपर्ने छ । अहिले संरक्षण कार्य भैरहेको बाहेक दक्षिण तर्फ ठूलो झ्याङको अवस्था पनि त्यस्तै छ । सामाजिक अभियन्ता प्रेम पराजुलीले भने ‘नगरपालिकाले आउँदो बजेटमा त्यस्को लागि बजेट छुट्याउन जरुरी छ ।’

यसअघि बुढासुब्बाको बाँस नष्ट हुनलागेको समाचार मिडियामा आएपछि तत्कालीन नगर प्रमुख तिलक राईले दुई पटक स्थलगत अवलोकन गरेका थिए । पछिल्लो पटक केन्द्रीय प्रविधि क्याम्पसका बनस्पति शास्त्रका प्राध्यापक सञ्जु पराजुली सहितको टोलीलाई बाँसको अवस्था अध्ययन गरी संरक्षणका उपाय बारे लिखित प्रतिवेदन पेश गर्न लगाइएको थियो ।

वनस्पति शास्त्रकी प्राध्यापक पराजुलीका अनुसार बाँसको झ्याङलाई घेराव गरी सिमेन्टीको पर्खाल लगाएकोले बाँस प्रभावित भएको बताइन् । बाँसको वंश वृद्धिका लागि सूर्यको प्रकाश र पानी आवश्यक हुन्छ । बुढासुब्बाको बाँसका झ्याङहरु बढेर प्रकाशको अभाव भएका विचका भागमा बाँसको टुसा पलाउन नसकेको हो । सिमेन्टको संरचनाले पानी सोसेर राख्ने प्रकृया पनि अवरुद्ध भएको उनको भनाई छ ।

बाँसको प्राकृतिक विकास झ्याङ बढ्दै गएपछि सूर्यको प्रकाश जतातिर बढी हुन्छ त्यतैतिर नयाँ झ्याङ बढ्दै जाने स्वभाव हुने बताउँदै पराजुलीले भनिन् ‘यँहा बाँस झ्याङलाई घेराव गरी सिमेन्टको पर्खाल लगाएकोले प्राकृतिक रुपमा बाँस अघि बढ्न पाएको देखिएन् ।’ यस्तै अवस्था रहेमा नयाँ बाँस पलाउने प्रकृया अवरुद्ध हुनसक्छ ।

पुजारी आलेका अनुसार गएको ७-८ वर्षयता बुढासुब्बाको बाँसका झ्याङहरु विचमा नयाँ तामा नलागी खाली हुँदै गएको देखिन थालेको हो । हरियो बाँसका बोटहरुमा खोपेर श्रद्धालु युवा युवतीले प्रेमको चिनो स्वरुप नाम लेख्ने प्रचलन बढेको थियो । त्यस्ले बाँसको वृद्धिमा असर पुर्‍याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाइएको थियो । त्यसै अवधिमा सिमेन्टको दुई देखी तीत फिट सम्मको टेवा उठाएर बाँसलाई तारजाली समेत लगाइएको हो ।

बुढासुब्बा विजयपुरको इतिहाससंगै जोडिएको पाइन्छ । त्यस आधारमा यहाँको बाँसको प्रजाति तिन शताव्दी पुरानो मानिएको हो । पृथ्वी नारायाण शाहको एकिकरण अभियान विसं १८३० तत्कालिन चैनपुर हुँदै विजयपुर तिर आएको अनुसन्धाता अर्जुनबाबु माबुहाङले उल्लेख गरेका छन् । लिम्बुवानका अर्का अनुसन्धाता डा.कमल तिगेला अनुसार त्यस अघि सेनहरुले विजयपुरमा शासन गरेका थिए ।

पुजारी आलेका अनुसार उनका पुर्खाहरुलाई पूजाआजाको लागि प्रदान गरिएको निशान नेपाल एकिकरण भन्दा अघिको अघिको हो । पुरातत्व विभागबाट आएका विज्ञहरुले यस्को पुष्टी गरेका उनको भनाई छ । त्यस बेलाका तरवार जन्य हातहतियारहरु पनि छन् । तर, निशानमा सम्बत् भने छैन् । डा.तिगेला भन्छन् ‘उक्त निशान सेनकालमा सेनवंशी राजाले दिएको हुनसक्छ ।’

बुढासुब्बाको बाँसमा टुप्पो नहुनुको कारण किम्बदन्ती पनि छ । प्रागऐतिहासीक कालमा लिम्बु दाजु बहिनी शिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भए । उनै शिकारीको धनुषवाण पलाएकोले बाँसको र टुप्पो नभएको हो । बुढासुब्बामा दाजुको मुख्य र बहिनीको सुब्बेनी मन्दिर छ ।

बुढासुब्बाको टुप्पो विनाको बाँसको प्रजातिका बारेमा आधिकारीक अनुसन्धान भएको पाइन्न । पहाडि क्षेत्रमा पाइने भालुबाँस प्रकृतिको उक्त बाँस भानुबाँस भने नभएको नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीले बताए । भालुबाँसमा सुकेपनि कढापन यथावत रहन्छ । बुढासुब्बाको सुकेको बाँस भने फोश्रो भएको पाइएको छ । उनले भने ‘यो बाँस कतै नपाइने लोप हुन लागेको बाँसको प्रजाति पनि हुनसक्छ ।’

(मर्निङ टाइम्स बाट)