April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वस्तरीय लघुकथा प्रतियोगिताका विजयीहरू घोषणा

विश्वस्तरीय लघुकथा प्रतियोगिताका विजयीहरू घोषणा

इजरायल । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको विश्वस्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रतियोगिताका विजेताहरू घोषणा गरेको हो ।

भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ले नतिजा घोषणा गरेका थिए । जसअनुसार तारानाथ पराजुली(एसिया) प्रथम, भरतकुमार श्रेष्ठ ‘विवश’(यूरोप) द्वितीय, म्यामराज राई(प्रशान्त महासागर) तृतीय, कृष्ण कुसुम(अमेरिका) चौथो र सिन्धु पौडेल(अफ्रिका) पाँचौ स्थानका विजेताका रूपमा घोषणा गरिएको थियो । विजेताहरूमध्ये प्रथमले बीस हजार रूपैयाँ र अन्य चार जनाले जनही दश हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिता गत वर्ष फेब्रुअरीमा दिवंगत भएकी महासङ्घकी उपाध्यक्ष सावित्रा लुइँटेलको स्मृतिमा आयोजना गरिएको थियो । महासङ्घले यसअघि कविता, मुक्तक विधामा प्रतियोगिता आयोजना गरिसकेको छ ।

Advertisement

नतिजा घाेषणा कार्यक्रममा सहभागीहरू ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत समीक्षक नेत्र एटमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि परदेशी साहित्यिक समूहका अभियन्ता भीम विरही राई, डा. सोम बहादुर धिमाल, डा. घनश्याम न्यौपाने परिश्रमी, प्राज्ञ कविता आले, कृष्ण प्रसाद गौतम, रीतादेवी प्रधान लगायत उपस्थित थिए । यसैगरी, महासंघको केन्द्रीय समितिबाट डा. लेखनाथ न्यौपाने, डेन्जोम साम्पाङ, डा. मन भुर्तेल, अमित चाम्लिङ र विभिन्न मुलुक, प्रदेश र जिल्ला शाखाका पदाधिकारी सदस्यहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा लघुकथा प्रतियोगिताका विजेताहरूले आफ्नो धारणा र अनुभव सुनाएका थिए । यसैगरी, साे अवसरमा म्यानमारका तिलक पाेख्रेललाई महासङ्घका अध्यक्ष लिम्बुुले ‘नवप्रतिभा साहित्यिक सम्मान’ प्रदान गरिएको घाेषणा समेत गरेका थिए ।

गत साल दिवङ्गत भएकी साहित्यकार एवम् महासङ्घकी उपाध्यक्ष सावित्रा लुइँटेल ।

विनेसाम अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको सभापतित्व र महासचिव सुनिता राई कन्दङ्वाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रको दोस्रो सत्रमा उपस्थित भएका सर्जकहरूले विभिन्न विधामा आफ्नो सिर्जना वाचन गरेका थिए ।