March 22, 2024, Friday
२०८० चैत्र ९, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘चुनावी खर्च नियन्त्रण गर्नुपर्छ’ – पूर्व निर्वाचन आयाेग प्रमुख पाेख्रेल

‘चुनावी खर्च नियन्त्रण गर्नुपर्छ’ – पूर्व निर्वाचन आयाेग प्रमुख पाेख्रेल

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको निर्वाचन खर्चको सीमाको विषयमा प्रश्न उठाएका छन् ।

काठमाडौंमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आयोगले खर्च नियन्त्रण गर्नुपर्ने बताउनु खर्चको सीमा निर्धारण गर्ने विषय कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

Advertisement

पोखरेलले अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गएको बताए । ‘उम्मेदवारको खर्च तीव्र गतिमा बढेको छ, आयोगको एउटा मापदण्ड छ, मापदण्ड एकातिर छ उम्मेदवारको खर्च अर्कातिर छ, कि आयोगले उम्मेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्‍यो कि यो खर्च सीमा हटाउनु पर्‍यो, नत्र त यो हाँस्यापद मात्र भयो,’ उनले भने ।

खर्चिलो प्रकियाले चुनौती

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पछिल्यो समय बढ्दै गएको खर्चिलो प्रकियाले चुनौती थपिएको बताए ।

उनले  निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारले खर्च गर्ने गरेको बताउँदै यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।

नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने उल्लेख गर्दै यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए ।

‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन्, कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ । अहिले त्यो खर्चमा एक–दुईले निर्वाचन लडेका होलान्, नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ताखालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन्,’ उनले भने ।

कार्यक्रममा नीति अध्ययन प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजाल लगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा धारणा राखेका छन् ।