May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल वायुसेवा निगमकाे ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा

कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो ।

यसमा ०५७ मा भएको लाउडा विमान भाडा प्रकरणको करिब २ अर्ब रुपैयाँ घाटासमेत समेटिएको छ । गत आवको पहिलो आठ महिनाको यथार्थ खर्च र अन्तिम चार महिनाको प्रक्षेपित खर्चको विश्लेषणका आधारमा निगमले यो तथ्यांक निकालेको हो ।

Advertisement

०७६/७७ मा निगमले २४ अर्ब ७९ करोड रुपैयाँ आम्दानीको प्रक्षेपण गरेको थियो । तर मध्य फागुनपछि कोभिड–१९ महामारीलगायत कारण निगमले प्रक्षेपण गरेको भन्दा १० अर्ब ९७ करोड रुपैयाँ कम आम्दानी गरेको हो । आम्दानीको स्रोत अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्रु सेवा, ग्राउन्ड ह्यान्डलिङ, कार्गो, चार्टर, घर तथा उपकरण भाडालगायत हुन् । निगमले अघिल्लो आवमा १६ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

निगम सञ्चालक समितिले हालै पारित गरेको ०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएअनुसार उसले गएको वर्ष आम्दानीको दाँजोमा ३ अर्ब ४६ करोड रुपैयाँ बढी खर्च गरेको छ । गत आवमा १३ अर्ब ८२ करोड आम्दानी र १७ अर्ब २८ करोड रुपैयाँ खर्च गरेको देखिन्छ । चालु वर्षमा पनि कोभिड–१९ को महामारी कायमै रहने भएकाले निगमले गत आवमा प्रक्षेपण गरिएकोभन्दा ११ प्रतिशत कम २१ अर्ब ९९ करोड रुपैयाँ मात्रै आम्दानी गर्ने लक्ष्य लिएको छ । जसअन्तर्गत चारवटा जेट विमान (दुइटा वाइडबडी र दुइटा न्यारोबडी) बाट अन्तर्राष्ट्रिय उडान गरेर यात्रु सेवाबाट १२ अर्ब ८१ करोड, ती विमानले नियमितबाहेक गर्ने चार्टर उडानबाट ७१ करोड, कार्गो ढुवानीबाट १८ करोड तथा यात्रुको बढी हुने सामान ढुवानीबापत १८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका सबै विधाबाट कुल १७ अर्ब ६१ करोड आम्दानीको लक्ष्य राखेको छ । आन्तरिक उडानतर्फ निगमले ५ वटा चिनियाँ विमान नउडाउने घोषणा गरिसकेको छ । अब निगमसँग चार दशक पुराना दुइटा क्यानेडियन टुइनअटर विमान मात्रै छन् । यी विमान उडाउँदै निगमले आन्तरिक बजारमा यात्रु सेवाबाट १५ करोड ४४ लाख उठाउने लक्ष्य लिएको छ । जसमा यात्रु सेवाबाहेक फ्युल सरजार्चबाट ५ करोड ९० लाख, कार्गो ढुवानीबाट १२ लाख, बढी सामान ढुवानी तथा मेलबाट ७ लाख, चार्टर उडानबाट ५ करोड ६३ लाख उठ्ने आकलन छ । चिनियाँ विमान नउडाउने निर्णयपछि आन्तरिक आम्दानीको लक्ष्य घटाइएको हो । निगमले चिनियाँ विमानसमेत उडाउँदा ०७५/७६ मा ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस वर्ष यात्रु सेवाबाट मात्रै २० करोड आम्दानी गरेको थियो । तर गत वर्ष यही शीर्षकमा १३ करोड मात्रै आम्दानी गरेको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानपछि दोस्रो ठूलो आम्दानीको स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वेदशी तथा विदेशी जेट विमानलाई दिइने भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) हो । चालु वर्षमा निगमले २५ वटा विदेशी वायुसेवा कम्पनी, हिमालय एयरलाइन्स तथा कार्गो र चार्टर उडानमा आउने विदेशी वायुसेवालाई भूमिस्थ सेवा दिई ४ अर्ब ६ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । अघिल्लो आवमा निगमले ग्राउन्ड ह्यान्डलिङबाट ४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा ५ अर्ब १६ करोडको लक्ष्य थियो तर २ अर्ब ७८ करोड हाराहारी मात्रै आम्दानी गरेको छ । यो लक्ष्यभन्दा झन्डै आधा मात्रै हो ।

निगमका एक अधिकारीका अनुसार ग्राउन्ड ह्यान्डलिङबाट निगमले वार्षिक डेढ अर्ब हाराहारी नाफा आर्जन गर्दै आएको छ । यो नाफा विमान उडान सञ्चालनमा हुने घाटालाई परिपूर्ति गर्न खर्च हुने गरेको छ ।

निगमले यस वर्ष २१ अर्ब १६ करोडको खर्च लक्ष्य निर्धारण गरेको छ । निगमको सबैभन्दा धेरै बजेट खर्च हुने क्षेत्र उडान सञ्चालन हो । यस शीर्षकमा चालु आवका लागि निगमले ७ अर्ब ३८ करोड खर्च अनुमान गर्दै बजेट विनियोजन गरेको छ । हवाई इन्धनमा मात्रै ४ अर्ब ५४ करोड बजेट छुट्याएको छ । गत आवमा हवाई इन्धनमा ५ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । जसमध्ये ५ अर्ब ९ करोड रुपैयाँ खर्च भएको अनुमान छ । अघिल्लो आवमा ४ अर्ब २१ करोड रुपैयाँ खर्च भएको थियो ।

हवाई इन्धनपछि विमानको ल्यान्डिङ, पार्किङ र विभिन्न मुलुकको आकाश भएर उड्दा तिर्नुपर्ने भाडामा धेरै खर्च हुने गरेको छ । यो शीर्षकमा निगमले चालु वर्षमा ९० करोड विनियोजन गरेको छ । गत वर्ष यही शीर्षकमा १ अर्ब २५ करोड विनियोजन गरेकोमा १ अर्ब १७ करोड हाराहारी खर्च भएको देखिन्छ । यीबाहेक चालकदलको तलब, भत्ता, तालिम, होटल खर्च, विभिन्न मुलुकमा विमान व्यवस्थापन गरेको शुल्क पनि ७ अर्बभित्रैबाट खर्च गर्नुपर्छ । अघिल्लो आवमा उडान सञ्चालन खर्च ७ अर्ब ३६ करोड भएको थियो भने गत वर्ष ७ अर्ब ९६ करोड पुगेको स्रोत बताउँछ ।

पुँजीगतअन्तर्गत निगमले यस वर्ष विमानका स्पेयर्स पार्ट, ग्राउन्ड उपकरण, वर्कसप आदिका लागि ३ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । चारवटा जेट विमान खरिद गर्दा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न यसमध्येबाट १ अर्ब ३२ करोड रुपैयाँ छुट्याइएको छ । चालु वर्षमा लक्ष्यअनुसार आम्दानी भए थप ४ अर्ब बैंक तथा वित्तीय संस्थाको ऋण तिर्ने जनाइएको छ । चारवटा जेट विमान तथा ६ वटा चिनियाँ विमान खरिदका लागि विभिन्न वित्तीय निकायबाट लिएको ऋण कम्तीमा ४० अर्ब पुगिसकेको छ ।

निगमले चालु वर्षमा विमान मर्मतअन्तर्गत सिचेक, इन्जिन मर्मत, ओभरहललगायत मर्मतसम्भारका लागि १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रुलाई दिइने क्याटरिङ सेवाका लागि यस वर्ष ५८ करोड खर्च हुने जनाएको छ । हालै सकिएको आवमा क्याटरिङ तथा खानपिनमा ४४ करोड रुपैयाँ बराबर खर्च भएको थियो । यो रकम अघिल्लो आवको तुलनामा १५ करोडले कम हो ।