May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

काठमाडौँ – प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् ।

बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमित ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको सामान्यावस्था छ ।

Advertisement

आलोपालो प्रशासनिक सेवा कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । यही साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेल जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले राससलाई जानकारी दिनुभयो । प्रजिअ पन्थका अनुसार आइतबार सिद्धार्थ नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइनेछ ।

यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी साँस्कृतिक नगरपालिकावासीलाई सेवा दिइनेछ । मङ्गलबार देवदह नगरपालिका तथा ओमसतिया र कोटहीमाई गाउँपालिका एवं बुधबार बुटवल उपमहानगरपालिका तथा सियारी र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइनेछ । बिहीबार सैनामैना नगरपालिका तथा गैडहवा र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइनेछ ।

शुक्रबार मायादेवी र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालयले तालिका बनाएको छ । यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने तथा शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।