May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राहत पाइनन् दुई सन्तान  गुमाएकी कमलाले

राहत पाइनन् दुई सन्तान गुमाएकी कमलाले

काठमाडौँ – दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् ।

पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ निवासी कमला थामीको दिनरात रोएरै बित्ने गरेको छ । गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुन थामीको कमलधाप सिमसारका लागि खनिदै गरेको पोखरीमा डुबेर मृत्यु भएको थियो । उनीहरुसँगै सोही स्थानका अनिल तामाङको १० वर्षका छोरा अङ्कुशको पनि मृत्यु भएको थियो ।

Advertisement

पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको भोलिपल्ट भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठसहित कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग मृतकका परिवारको पाँच बुँदे लिखित सहमति भएको थियो । सहमतिमा पीडित परिवारलाई रु १० लाख राहत र रोजगारी प्रदान गर्ने विषय उल्लेख गरिएको थियो तर हालसम्म सो सहमति कागजमै सीमित रहेको परिवारको आरोप छ । विर्तामोड नगरपालिका–९ घर भएकी कमलाका पति १० वर्ष अघि वैदेशिक रोजगारमा गए पनि उतै बेपत्ता बने । श्रीमान् बेपत्ता बनेपछि माइतीको सहारामा बस्न छोरा लिएर भद्रपुर–२ डिगाउँ पुगेकी कमला अहिले एक्लो बनेकी छिन् ।

“अहिलेसम्म खोइ कसैले कुनै राहत दिएको छैन”, उहाँले भन्नुभयो, “सम्पतिको नाममा तिनै छोरा थिए, ती पनि गुमाएँ । राहत दिन बनेको समितिसमेत एकपटक फर्केर आएको छैन ।” थामी समाज झापाका अध्यक्ष मेघराज थामीका अनुसार भद्रपुर नगरपालिका, कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग भएको सहमतिको एउटा बुँदामा तीनै जना बालकको परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भनिएको थियो ।

अर्को बुँदामा मृतकका परिवारका एक÷एक सदस्यलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारीको व्यवस्था गर्ने र पुनः यस्तै घटना नदोहोरियोस् भनेर निर्माणस्थलमा सुरक्षाको व्यवस्था गर्ने उल्लेख थियो ।