April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज च्याम्पियन्स लिग फाइनल, दुई महारथीको भिडन्त

आज च्याम्पियन्स लिग फाइनल, दुई महारथीको भिडन्त

काठमाडौँ — आज रातिको पौने एक बजे, हेर्न छुटाउनै नहुने खेल छ । त्यो भनेको युरोपेली च्याम्पियन्स लिगको फाइनल । उपाधि भिडन्तमा उत्रदै छन्, फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन च्याम्पियन बायर्न म्युनिक ।

विश्व क्लब फुटबल भनेपछि हामी इंग्ल्यान्ड, स्पेन र इटाली सम्झिहाल्छौं । तर यसपल्टको फाइनलमा फ्रान्स र जर्मनीका टिम भिड्दै छन् । अनि खेलाडिको नाम लिँदा हामी प्राय: लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको नाम लिन्छौं ।

Advertisement

यो अर्थमा पनि फाइनल फरक छ । सम्भवत: हामी विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी मेसी र रोनाल्डोको युग सकिएको अनुमान गर्न सक्छौं र यसकै सूचकका रूपमा रहनेछ, यो फाइनल । यो फाइनल भनेको नेयमारविरुद्ध रोबर्ट लेवनडोस्कीको हो, अनि केयलिन एमबापेविरुद्ध थोमस मुलर हो । त्यसो त नेयमार, लेवन्डोस्की अथवा मुलर नयाँ नाम होइनन, तर पनि अबको समय भने पुस्ता हस्तान्तरको हो । त्यसैले हुन सक्छ, अबको समय एमबापेको हो । अनि के पनि हो भने विश्व क्लब फुटबलको समीकरण पनि फेरिँदैछ ।

जर्मन लिग बलियो थियो नै, अब फ्रान्सले पनि दाबी गर्न सक्छ- ‘लिग फुटबलमा हामी पनि कम्तीका छैनौं ।’ त्यो अर्थमा जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानका लागि फाइनल राम्रो न राम्रो प्रचारको विज्ञापन पनि हो । नत्र हामीमा पनि बानी छ, खालि इंग्लिस प्रिमियर लिग, स्पेनी ला लिगा र इटालीको सिरी ‘ए’ को नै बढी चर्चा गर्ने । साँच्चै हामीले बुन्डेसलिगा र लिग वानप्रति अन्याय त गरेका छैनौं ? जे होस, फाइनल गज्जबको हुनेछ, यसमा शंका नगरे हुन्छ, किनभने यी दुवै महारथी टिम नै हुन् । आ–आफ्नो घरेलु लिगमा यिनलाई बादशाह भने पनि हुन्छ ।अनि दुवै टिम समान रूपमा निकै अब्बल दर्जाको लयमा पनि छन् । फ्रान्समा कोरोना भाइरस संक्रमणको महामारीबीच लिग रोकिँदा पीएसजी १२ अंकले अगाडि थियो । त्यही स्थितिमा लिग स्थगित गरियो र पीएसजीलाई विजेता पनि घोषित गरियो । यो पीएसजीले लिग वानको उपाधि जितेको पछिल्लो आठ वर्षमा सातौं पल्ट हो । बायर्नको प्रदर्शन पनि कम्तीको छैन, अझ बढी भन्दा हुन्छ । जर्मन बुन्डेसलिगामा बायर्नले लिग जित्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डभन्दा १३ अंकको अगाडि थियो ।

बायर्नले बुन्डे‍सलिगा जितेको यो लगातार आठौं पल्ट हो । च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा पनि बायर्नका लागि आरामदायी रह्यो र यसै क्रममा निस्केको हो, बार्सिलोनामाथि क्वाटरफाइनलमा प्राप्त ८–२ को जित । न कसैले बिर्सन सकेको छ, न यसले ल्याउने तरंग चाँडै रोकिने छ । पीएसजीले पनि फाइनलसम्मको यात्रा तय गर्न धेरै कठिन संघर्ष गर्नु परेको छैन, खाली एटलान्टाविरुद्ध अन्तिम समयमा भएको गोलको भर पर्नु परेको । बायर्नको आक्रमणको मुख्य अस्त्र हुन्, लेवनडोस्की ।

उनी विश्व फुटबलले पाएका सबैभन्दा उत्कृष्ट नम्बर ९ खेलाडी हुन् । यी पोलिस स्ट्राइकरले यो सिजन ५५ गोल गरिसकेका छन् । अनि उनलाई आक्रमणमा साथ दिने अका दुई बेजोड खेलाडी छन्, मुलर र जिनब्रे । पीएसजीसँग भने नेयमार छ । तर पीएसजीको बढी भर गर्न खोज्ने खेलाडी हुन्, एमबाप्पे ।

साँच्चै पीएसजीले च्याम्पियन्स लिग जितेमा उनले दुर्लभ इतिहास आत्मसात् गर्नेछन् ।