काेराेना संक्रमण पुष्टि भएपछि सिन्धुली आयुर्वेद स्वास्थ्य केन्द्र र बस्नेत होटल ‘सिल’

भाद्र ७,सिन्धुली। कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली र एक होटालमा सिल गरिएको छ । शुक्रबार उक्त कार्यालयमा कार्यरत पाँचजना कर्मचारीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि १४ दिनसम्मका लागि केन्द्र शिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै केन्द्रका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलन नदिनका लागि १४ दिनसम्मका लागि शिल गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले आयुर्वेद केन्द्रको सेवा केन्द्र १४ दिनका लागि शिल गरिएको जनाकारी दिए ।
यस्तै जिल्लाको कमलामाई नगरपालिका ६ स्थीत रातमाटामा रहेको बस्नेत होटल एण्ड लज पनि १४ दिनका लागि सिल गरिएको छ । ‘उक्त होटलमा बसेका एक पुरुषमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि होटल सिल गरिएको छ,’ उनले भने ।
उनकाअनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका १ घर भइ सर्लाहीको ब्रमपुरी गाउँपालिकामा लेखापाल पदमा कार्यरत कर्मचारी पीसीआर परिक्षणको लागि स्वाब पठाएर सर्लाहीबाट सिन्धुलीमाढी आइ उक्त होटलमा बसेको र उनीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि होटल सिल गरिएको हो । संक्रमित पुरुष करिब एक सातादेखि त्यस होटलमा बस्दै आएको पाइएपछि संक्रमण थप फैलन नदिन होटल सिल गरिएको जानकारी दिए । जिल्लामा शुक्रबार र शनिवार हालसम्मकै सर्वाधिक ९ जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका पाँचजना कर्मचारी, कमलामाई नगरपालिका ६ र ७ नम्बर वडाका साथै बर्दबहादुर गणमा कार्यरत नेपाली सेना समेत रहेका छन् ।
सिन्धुलीमा हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जना उपचारपछि घर फर्किएका छन् ।



प्रतिकृया दिनुहोस्