April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

काठमाडौं – कोरोना जोखिम नियन्त्रण नभएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो।

एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुगेको ठम्याईसहित निषेधाज्ञा अझै एक साता थप हुनसक्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

Advertisement

आज दिउँसो ३ बजे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक काठमाडौंमा बस्न लागेको र बैठकले आवश्यकताका आधारमा निर्णय लिने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। एक हप्ताको निषेधाज्ञाको प्रभावकारीताका समीक्षा गर्ने, अझै कडा बनाएर निषेधाज्ञा लागू गर्नेबारेका सुझावहरु अध्ययन गर्ने र तीनवटै जिल्लाको विपद् व्यवस्थापन केन्द्र डीसीसीएमसीको सुझावका आधारमा अघि बढ्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। 

हिजो मात्रै काठमाडौं उपत्यकाका स्थानीय तहहरुले भदौ १५ गतेसम्म आफ्नो सेवा बन्द गर्ने निर्णय गरेका थिए।

उपत्यकाका चहलपहल कम हुँदा कोरोना संक्रमणको दर स्थिर रहेकाले केही समय सेवा बन्द गरी संक्रमणको दर घटाउन सकिने सुझावका आधारमा उपत्यका नगरपालिका फोरमले जिल्ला प्रशासन कार्यालयहरुलाई १५ गतेसम्म निषेधाज्ञा थप गर्न सुझावसमेत दिएका छन्। 

निषेधाज्ञा थप भएमा अत्यावश्यक सेवाहरु सुचारु गर्न दिइनेछ भने अनावश्यक हिँडडुल रोकथामका लागि प्रहरी परिचालन बढाउने तयारी गरिएको छ।  हाल काठमाडौं उपत्यकामा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्।