April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

भाद्र ११, एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएकाे छ । इस्पेन डट कमका अनुसार मेस्सीले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ ।

६ पल्टका बलोन डे’अर विजेता खेलाडी मेस्सी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध नभएपछि मेस्सीले आफूले क्लब छाड्न चाहेको पत्र पठाएका थिए । पछिल्लो समय असन्तुष्ट रहँदै आएका मेस्सी झन्डै दुई दशक लामो सम्बन्ध अन्त्य गर्ने मनस्थितिमा पुगेका छन् ।

Advertisement

ग्वार्डिओलाले बार्सिलोनाको अवस्थाका बारेमा जान्नका लागि मेस्सीसँग कुरा गरेको बताइएको छ । आफ्ना पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलासँग मेस्सीको सम्बन्ध राम्रो रहेको बताइन्छ । ग्वार्डिओलाकै कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ ।

मेस्सी र ग्वार्डिओलाबीच बार्सिलोनामा रहँदा राम्रो सम्बन्ध रहेको थियो । त्यति बेला बार्सिलोनाले निकै सफलता प्राप्त गरेको थियो । क्लबमा रहेका अन्य स्टाफ पनि मेस्सीसँग काम गरिसकेकाले उनलाई केहि सहज हुने अनुमान गरिएको छ ।

मेस्सीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लब मध्ये सिटी पनि एक हो । च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेस्सी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ । मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि त्यहि रहेकाले उनी जान सक्ने अर्को कारण हो ।

सिटी मेस्सीलाई खरिद गर्न ३ सय मिलियन युरो सम्म खर्च गर्न तयार हुने बुझिएको छ । सिटीसँगै इन्टर मिलन, पेरिस सेन्ट जर्मेन जस्ता केहि क्लब मेस्सीलाई बार्षिक ५० मिलयन युरो पारिश्रमिक दिन सक्षम छन् । तर सिटीले बार्सिलोनाको नजरमा रहेका एरिक गार्सिया, एन्जेलिनो लगायत खेलाडीसहितको प्रस्ताव अगाडि बढाउन सक्छ ।