May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

सरकारविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

भाद्र ११, जनकपुरधाम । तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धरासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले विहीबार दिउँसो जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

उद्योगी व्यापारीहरुले तिरेका ट्याक्सको पैसाले सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले तलब भत्ता लिइरहेका समयमा व्यापारीहरु मारमा परेको भन्दै जनकपुरको जनकचोकमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।

Advertisement

विरोध प्रदर्शनमा बोल्दै धनुषा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले व्यापारीहरूले सरकारी ट्याक्स, बैंक ब्याज, पसल भाड़ा, आर्थिक खर्चको मार खेपिरहेको समयमा पनि सरकारले व्यापारीहरूलाई नै लकडाउनको नाममा धरासायी बनाउने काम गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘व्यापारीहरुको सटर बन्द छ । तर, बोर्डरदेखि बजारसम्म लकडाउन खुकुलो छ । त्यसैले सरकारको यस षडयन्त्रको बिरोधमा सम्पूर्ण उद्योगी व्यापारीहरुलाई एकजुट हुन हामीले आग्रह गरेका छौं ।’

दुई चरण गरी १ सय २० दिनको लामो लकडाउनको मार, बैंकको ब्याज, सरकारी कर, पसल भाड़ा र दैनिक घर चलाउने भार थेग्न नसक्ने उद्योगी व्यापारीहरुले सरकारलाई आफ्नो व्यथा सुनाउन र त्यसको निराकरणका लागि आज धनुषा चेम्बर अफ कमर्सको अगुवाईमा प्लेकार्डसहित तीन वटै तहका सरकारको सांकेतिक विरोध गरेका हुन् ।