April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भदौभित्रै नेपालकाे रेल आइपुग्ने

भदौभित्रै नेपालकाे रेल आइपुग्ने

भाद्र १२, जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले भन्नुभयो ।

Advertisement

अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।
‘‘रेल्वे लिक हस्तान्तरण गर्न अहिले दुवै मुलुकमा गृहकार्य भइरहेको छ’’ उहाँले भन्नुभयो, “उक्त रेल सेवा कसरी सञ्चालन गर्ने, सञ्चालन भएको कति अवधिसम्म त्यसको मर्मतसम्भार भारतले गर्ने लगायतका सर्त र सेवाको खाका दुवै मुलुकले तयार गरिरहेका छन् ।”

लिक हस्तान्तरण गर्न लिकमा देखिएका समस्या र चोरी भएका ‘रेल्वे क्लिप’ मर्मतका लागि भारतीय प्राविधिक टोली यसै हप्ता जनकपुर आइपुग्ने उहाँले बताउनुभयो । करिब पाँच हजार ‘रेल्वे क्लिप’ हराइरहेका छन् । क्लिपले रेलको लिकलाई स्थिर बनाएर राख्ने काम गर्छ ।

दुुई वर्षअघि २०७५ पुस २९ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुईवटा रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि रेल विभागले जीटूजी प्रक्रियाबाट भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुईवटा रेल किन्ने प्रक्रिया अगाडि बढाएको थियो । सो रकममध्ये २० प्रतिशत भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी रेलको परीक्षणपछि मात्र गरिने रेल्वे कम्पनीले जनाएको छ ।