May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मृतकको शव तान्त्रिक विधिद्धारा जिवित गराउँछु भन्ने अन्धविश्वासी पक्राउ

मृतकको शव तान्त्रिक विधिद्धारा जिवित गराउँछु भन्ने अन्धविश्वासी पक्राउ

अर्घाखाँची – हाम्रो नेपाली समाज अझै कति अन्धविश्वासमा छ भन्ने यो घटनाले प्रष्ट पार्छ । सर्पले डसेपछि चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिक विधिबाट उपचार गरी ब्यूँताउने भन्दै झारफुक गरिरहेका बेला प्रहरीले एक जना अन्धविश्वासीलाई पक्राउ गरेको छ।

झारफुक गरिरहेका कपिलवस्तु वाणगंगा ७ मुर्मीका ७० वर्षीय कर्ताराम चौधरीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। जिल्लाको शितगंगा ५ थारपाइला करापु निवासी २६ वर्षीय यम बहादुर बेल्वासेलाई भदौ १३ गते राती ओछ्यानमै सिरकको खोलभित्र लट्पट्टिएर बसेको सर्पले शरीरको भुँडीमा डसेको थियो। सर्पले डसेपछि विकट ठाउँबाट गाउँलेले बिरामीलाई घण्टौंसम्म बोकेर एम्बुलेन्स चल्नसक्ने गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको ठाडा अमराईसम्म ल्याएका थिए।

Advertisement

हतार-हतार गरी छिटो उपचार गर्न गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रमा आफन्तले पुर्‍याए। गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रले बिरामीको अवस्था नाजुक भैसकेको र उपचार गर्न नसक्ने भन्दै बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिदियो। बिरामीलाई गोरूसिङ्गेबाट बुटवल लैजाँदा एक रात बितिसकेको थियो। बुटवल लैजाने क्रममा बाटोमै बेल्वासेको मृत्यु भयो।

अर्को दिन भदौ १४ गते बिहान ८ बजेर ३२ मिनेट जाँदा चिकित्सकले सर्पले डसेको बिरामीलाई मृत घोषणा गरी फिर्ता गरिदिए। अस्पतालले मृत घोषणा गरेपछि शवलाई फर्काएर आफन्तले अर्घाखाँची शितगंगा ५ थारपाइला करापु घरमा ल्याएर अन्तिम दाहासंस्कार गर्न सितखोलाको भाविन आर्यघाटमा लगेका थिए। आर्यघाटमा शव पुर्‍याउने बित्तिकै तराईबाट मृतकका आफन्तको टेलिफोन आयो। ‘सर्पले डसेको तीन दिन भित्र वैद्यले तान्त्रिक विधिबाट झारफुक गरि ओखती खुवाएपछि निको पार्ने खबर सुनेका छौं, अहिले अन्त्येष्टि गर्न रोकौँ’ भने। वैद्यले तान्त्रिक विधिबाट झारफुक गरेपछि ब्यूँत्याउन सकिने आशमा मृतकका आफन्त र मलामी गएका छिमेकीहरूले शवलाई करिव ५ घण्टा आर्यघाटमा राखेर गाउँ फर्काए।

निर्जीव शरीर ब्यूँतिने आसमा वैद्यको प्रतिक्षामा बसेका आफन्त र गाउँलेहरू बसे। आइतबार साँझ करिव ५ बजे वैद्य आएर झारफुक गर्दा आफुले बचाउन नसक्ने भनेपछि आफूहरूलाई झुक्क्याइएको थाहा भएको मृतकका बुवा लेख बहादुर बेल्बासेले दुखेसो गरे। ‘वैद्यको उपचारपछि छोरो ब्युँतिने आसमा आर्यघाटमा पुर्‍याइएको शवलाई फर्काएर गाउँ फर्काइयो, तर वैद्यले ब्युँत्याउन नसक्ने भनेपछि अन्तिम दाहासंस्कार गर्‍यौँ.’ गहभरी आँसु झार्दै मृतकका वुवा लेख बहादुरले भने, ‘यस्तो पीडा कसैलाई नपरोस्‌।’

मृत घोषणा गरिसकेको शवलाई तान्त्रिक विधिबाट सर्पको बीस मारेर ब्युताउँने भन्दै आफूलाई वैद्य हुँ भन्ने अन्धविश्वासीले झारफुक गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा निस्किएको प्रहरीको गस्तीले चिकित्सकले वैद्यलाई नियन्त्रणमा लिएको हो। वैद्यले ब्यूँताउने विश्वास दिएपछि निको हुने आसमा रहेका आफन्त र छरछिमेकले शवबाट दुर्गन्ध फैलिन थालेपछि सर्पले डसेको ३६ घण्टापछि शवको अन्त्येष्टि गरेका छन्।