May 8, 2024, Wednesday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स पानीधारामा दुर्घटना : पाँच जना घाइते

काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स पानीधारामा दुर्घटना : पाँच जना घाइते

भाद्र १६, चितवन  । बिरामी लिएर काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

मंगलबार बिहान सवा पाँच बजे उक्त दुर्घटना भएको मुग्लिन इलाका प्रहरी कार्यालयले जानकारी दिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी नान्तीराज गुरुङले बताए । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।

Advertisement

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । अन्य घाइतेमा बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर, र ३४ वर्षका नरबहादुर मगर रहेका छन् । उनीहरुको अवस्था पनि मध्यम रहेको छ ।

घाइते दिलमाया रानामगर क्यान्सरकी बिरामी हुन् । उनको उपचारपछि घर फर्कंदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरु सवैलाई उपचारका लागि भरतपुर पठाएको मुग्लिन प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिन बजारबाट १४ किलोमिटर पर रहेको छ । एम्बुलेन्स सडकबाट खसेर नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ ।