May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
७ महिनाकी  गर्भवती शौचालयमा लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु

७ महिनाकी गर्भवती शौचालयमा लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु

भदाै १९, मोरङको कानेपोखरी गाउँपालिका–५ की  २३ बर्षीया सविना दर्जीको  घरकै शौचालयमा  लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु भएको छ।

७ महिनाकी  गर्भवती सविना लडेको दिन मंगलबार सामान्य नै थिइन्। भोलिपल्ट बुधबार उनको स्वास्थ्य विग्रिन थाल्यो।

Advertisement

शरीर पुरै दुख्यो भन्न थालिन्। उनका पति भरत दर्जीले  हतार हतार अस्पताल तिर दौडाए। उनलाई बुधबार राति नै उपचारका लागि विराटनगरको नोबेल पुर्‍याए। आइसियु अभाव भएको भन्दै अस्पतालले भर्ना लिन मानेन। 

त्यसपछि उनलाई विराटनगरकै  विराट शिक्षण, विराट नर्सिङ होम, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पताल पुयाएको सविनाका बुवा चन्द्र थापाले बताए।

‘एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल अस्पताल चहारेछन् तर कसैले लिन मानेनन्। २३ बर्षको कलिलै उमेरमा छोरी गुमाउनु पर्यो,’ उनले भने।

अस्पतालहरूले आईसीयू र भेन्टिलेटर नभएको बहाना बनाएको कसैले  कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भन्ने जवाफ दिएको पनि उनले बताए।

यस्ता अस्पताललाई कारबाही हुनुपर्ने सविनाकी आमा सीता थापाको माग छ।

‘विराटनगरका  अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरू गरिदिएको भए बाँच्ने थिइ,’ उनले भने, ‘अकालमा छोरीको ज्यान गुम्यो मान्छे बचाउन बनाएका अस्पतालले नै मेरी  छोरी मारे।’

लडेर घाइते भएकी छोरीलाइ कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही भएको उनको गुनासो छ।

थापाका अनुसार विराटनगरका अस्पतालहरूमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान २:३० बजेतिर  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। भर्ना लिएको प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थालेर प्रसूति कक्षमा रेफर गर्‍यो।

प्रसूति कक्षमा पुर्‍याएर उपचार थालेको आधा घण्टा पनि नहुँदै सविनाको मृत्यु भएको जानकारी  अस्पतालले दिएको सविनाका बुवा थापाले बताए।

बीपी प्रठिष्ठान प्रवक्ता निदेश सापकोटाले भने सविनालाई अस्पताल ल्याउँदा उनी मृत अवस्थामै रहेको र केहिबेरमै अस्पतालले मृत घोषणा गरेको  बताए।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सवितालाई आफुकहाँ नल्याइएको दाबी गरे। ‘उहालाई यहाँ ल्याएका थिएनन्,’ उनले भने, ‘तर सामान्य बिरामीको भर्ना नोबेलले लिइरहेको छ । हामीले आइसीयुमा मात्रै अहिले खालि नहुदा राख्न सक्दैनौ भन्ने हो।’

मोरङमा उपचार नपाएर गर्भवतीले ज्यान गुमाउनुपरेको यो दोस्रो घटना हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसअघि पनि यस्तै घटना भएपछि सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएको समाचार नआउने वातावरण बनाउन सम्झाएको बताए।

‘छलफलमा अब अस्पतालले भर्ना लिएन, धेरै वटा अस्पताल चाहार्नु पर्यो भन्ने गुनासो नआउने गरी काम गर्न निर्देशन दिइएको थियो,’ उनले भने,’उहाँहरूले पनि प्रतिबद्धता जनाएर जानुभएको थियो फेरी यस्तो गुनासो आएको छ यसका  बिषयमा कुरा बुझेर कारबाहीको प्रकृयामा जिल्ला प्रशासन अघि बढ्नेछ।’

सिडियो कार्यालयमा यस्तो छलफल भएको तेस्रो दिन उपचारका लागि अस्पताल चाहार्दा चाहार्दै  सबिनाको ज्यान गएको हो।

लडेका कारण मृत्यु भएकाले शबको पोष्टमार्टम गर्न लगिएको छ। रिपोर्ट आएपछि सत्यतथ्य थाहा हुने इलाका प्रहरी कार्यलय पथरीका उप्रहरी नायब निरिक्षक दिलिप गिरीले बताए।  सबिनाको ५ बर्ष अघि बिबाह भएको थियो। उनकी ४ बर्षकी छोरी छन्।