May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

भरतपुर – थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ । समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ ।

शनिवार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर (भर्चुअल बैठक) छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले बताउनुभयो । ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको चौधरीले जानकारी दिनुभयो । “कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना सङ्क्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ”, उहाँले भन्नुभयो । चितवनका थारु समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादसी, खिचरा, फगुवा आदि पर्वहरु विशेष महत्वका साथ मनाउँछन् । हरेक चाडपर्वमा नातागोता एवं आफन्तहरुसँग भेटघाट गरी सामूहिकरूपमा खुसी साटिन्छ ।

यो वर्ष भिडभाड हुने गरेर सामूहिकरूपमा कुनै पनि पर्व नमनाउन थाकस चितवनले अपिल गरेको छ । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पाहुर)  पुर्याउने चलन पनि  छ । कार्यविधिमा सामूहिकरूपमा केही पनि नगर्न भनिएको छ । 

Advertisement