May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सपनाको महल

सपनाको महल


राजकुमार बराल

प्रिय
तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए
तिमीले पनि देख्ने सपना यस्तै नभएको भए
भन्न सक्दिनथें होला
बिचारको भूमध्यरेखामा उभिएर
भरिएका भावनाका गाग्रीहरूले
कस–कसलाई भिजाउँथे र
कस–कसलाई सिंचित गर्थे भनेर ?

Advertisement

प्रिय
तिमीले भन्ने प्रेम कहानी अर्कै भैदिएको भए
तिमीले हिँड्ने गोरेटो अर्कै भैदिएको भए
सायद,
तिमीले गाउँने पालाम सुन्ने म हुँदैन थिएँ
मैले नाँच्ने बालन नाचमा तिमी हुँदैन थियौ ।

तर, पनि प्रिय
धर्ती एकै हुँदैमा
सपना एकै बुन्दैमा
एउटै गोरेटो हिँड्दैमा वा
पालाम बालनसँगै नाच्दैमा
सम्बन्धका डोरीहरू तान्दा
काटिएका मनका कित्ताहरू नजोडिन पनि सक्छन् ।

त्यतिबेला तिमीलाई लाग्नसक्छ
तिमीले जिएको जीवन
तिम्रो जस्तो छैन
मैले पढेको जीवन
मेरो जस्तो छैन ।
अनि ख्याल राख प्रिय
सपनाको आफ्नै बिरासत हुन्छ
यसको आफ्नै महल हुन्छ
तिम्रा विपनाका यादहरू भन्दा बिशाल ।।