April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

काठमाडौं– प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्।

निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न आवश्यक रहेको बताएका हुन्।

Advertisement

‘निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ,’ उनले सन्देशमा भनेका छन्।

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाउने गरिन्छ। विसं २०१३ सालमा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ।

तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य रहेको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्रीले विभिन्न संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै पीडितहरुप्रति सहानुभूति प्रकट गरेका छन्।

‘आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ,’ प्रधानमन्त्रीले भनेका छन्,‘यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ। यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ।’

दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने प्रधानमन्त्रीले शुभकामना पनि व्यक्त गरेका छन्।