May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कर्णालीमा पुग्‍यो भेन्टिलेटर र आइसियु

कर्णालीमा पुग्‍यो भेन्टिलेटर र आइसियु

सुर्खेत – काठमाडौंको नजरमा कर्णालीमा हरेक वर्ष सामान्य औषधिका अभावमा नागरिकले ज्यान गुमाउने  कुरा सामान्य नै हुन थालिसकेको थियो। ​कर्णालीवासीले राम्रो उपचार पाउनको लागि प्रदेशबाहिर काठमाडौंदेखि भारतको लखनऊ लगायतका शहरहरूमा जानुपर्ने बाध्यता थियो।   

अहिले कर्णालीमा कोरोनाका कारण आर्थीक अवस्था तहसनहस भएको छ। नागरिकले रोजगारी गुमाएका छन्। दैनिकी छाक टार्न समस्या भइरहेको छ। तर, स्वास्थ्य क्षेत्रमा कर्णालीलाई भने कोरोनाका कारण केही फाइदा पुगेको छ भन्दा फरक नपर्ला। आइसियु र भेन्टिलेटरको विस्तार   कोरोना भाइरसको महामारी अघि सुर्खेत र जुम्लाबाहेक कर्णालीका अन्य जिल्लामा आइसियु र भेन्टिलेटर सेवा थिएन।

Advertisement

जिल्ला अस्पतालहरूमा आइसियु र भेन्टिलेटर नभएकै कारण जटिल प्रकृतिका बिरामी रिफर गर्नुपर्ने बाध्यता थियो।  जुम्ला र सुर्खेतमा पनि आइसियु र भेन्टिलेटरका सीमित बेड भएकाले बिरामीले मृत्युको सामना गर्नुपर्ने अवस्था थियो। तर, कोरोना भाइरसको त्राससँगै कर्णालीका अस्पतालहरूमा भौतिक पूर्वाधारमा सुधार भएको छ। प्रदेश अस्पताल सुर्खेतमा थपिए बेड कोरोनाअघि पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटर भएको प्रदेश अस्पताल सुर्खेतमा २० बेड आइसियु र सात बेड भेन्टिलेटर थप गरिएका छन्। 

अस्पताललाई एउटा भेन्टिलेटर कुमारी ट्रष्ट (संविधानसभा सदस्य राजिवविक्रम शाह)ले उपलब्ध गराएका हुन् भने बाँकी ६ वटा भेन्टिलेटर अस्पताल आफैंले खरिद गरेको हो। हाल अस्पतालमा २५ आइसियु र १० भेन्टिलेटर छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाअघि तीन आइसियु र पाँच बेड भेन्टिलेटर थिए। हाल प्रतिष्ठानमा १० आइसियु बेड र ६ वटा भेन्टिलेटर तयार गरिएको छ। डोल्पाबाहेक सबै जिल्लामा आइसियु सेवा कोरोना महामारी सुरु भएसँगै डोल्पाबाहेक अन्य सबै जिल्लामा आइसियु सेवा पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार तथ्याङ्क अनुसार मुगुमा दुई वटा आइसियु र एउटा भेन्टिलेटर, हुम्लामा पाँच बेड आइसियु र दुई बेड भेन्टिलेटर, कालिकोटमा पाँच बेड आइसियु र दुई बेड भेन्टिलेटर, दैलेखमा पाँच बेड आइसियु र दुई बेड भेन्टिलेटर, जाजरकोटमा दुई बेड आइसियु र एक बेड भेन्टिलेटर र रुकुम पश्चिममा दुई बेड आइसियु र एक बेड भेन्टिलेटर सेवा थपिएको छन्। त्यस्तै, सल्यानमा दुई बेड आइसियु र एक बेड भेन्टिलेटर र रुकुम चौरजहारी सामुदायिक अस्पतालमा चार बेड आइसियु सेवा सञ्चालनमा ल्याइएको छ। डोल्पामा पनि छिट्टै आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने तयारी छ। प्रदेशभर कुल ६२ बेड आइसियु र २६ बेड भेन्टिलेटर सेवा सुरु भएको छ।

कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिदमा कर्णाली प्रदेश सरकारले प्रदेशका १७ वटा अस्पताललाई कुल ३० करोड ५९ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको थियो।