May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मानव ओसारपसारमा संलग्न व्यक्ति कन्सुलरको दौडमा

मानव ओसारपसारमा संलग्न व्यक्ति कन्सुलरको दौडमा

भदाै २७, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोल्याण्डका लागि सदस्य डा बोधराज सुवेदी मानव ओसारपसारमा संलग्न रहेका व्यक्ति यतिखेर कन्सुलर (वाणिज्यदूत) बन्ने दाैडमा लागेका छन् । गैरआवासीय नेपाली संघ पोल्याण्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै कार्यक्रमको लागि नेपालबाट केही व्यक्ति पोल्याण्ड ल्याएर भगाएको आरोप उनीमाथि लागेको छ।

अहिले तिनै डाक्टर सुवेदी पोल्याण्डको लागि वाणिज्यदूत बन्ने दौडमा लागेको भन्दै पोल्याण्डका संघ-संस्थाहरुले आपत्ति जनाएका छन्।सुवेदीले एनआरएन पोल्याण्डको सन् २००९ को नयाँ वर्षमा कार्यक्रम गर्ने भन्दै काठमाडौंका मल्ल र म्याग्दीका पुन थरका व्यक्तिलाई दूतावासमा निमन्त्रणा पत्र लेखेर गोप्य रुपमा बोलाएका थिए। उनीहरु हाल बेल्जियममा रहेको बताइएको छ। ८ जनालाई गोप्य रुपमा निमन्त्रणा गरेकोमा अन्यको भिसा नलागेको श्रोतले बतायो। गैरकानुनी धन्दाको रूपमा उनले मानिसहरूलाई युरोप छिराएको स्थानीय पोल्याण्डबासीको आरोप छ ।

Advertisement

नेपालबाट कोही पनि मान्छे त्यसरी कार्यक्रम गर्न बोलाउने निर्णय कहिले भएको थिएन श्रोतले बतायो। स्रोतका अनुसार गैर आबासीय अन्तराष्ट्रीय समन्वय परिषदमा सप्रमाण उजुरी प्रक्रियामासमेत रहेको छ ।

कम्युनिष्ट हुँ भन्दै सुवेदी कन्सुलरको दौडमा

पोल्याण्डमा कट्टर काङ्ग्रेसी भनेर चिनिने बोधराज सुवेदी अहिले नेपालमा कम्युनिष्टको सरकार भएकोले आफू पनि कम्युनिष्ट नै भएको दाबी गर्दै आफ्नो पक्षमा लबिङ गरिरहेको बताइएको छ। तर नेकपाको प्रवासी भातृसंगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले  सुवेदी नेकपा पक्षधर व्यक्ति नरहेकाे बताएकाे छ ।

‘उहाँ त नेकपा समर्थकलाई एनआरएन पोल्याण्ड लगायतका कुनै पनि संस्थामा छिर्न पनि दिनु हुन्न भन्ने कट्टर कांग्रेसी हाे,’ प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका एक सदस्यले भने । यो केवल सुवेदीमाथिकाे आरोप मात्र नभएर एनआरएन पोल्याण्डको अहिलेसम्मको संरचनालाई हेर्दा त्यो प्रमाणित भएकाे कुरा रहेकाे उनले बताए।

नेपाली कांग्रेसको प्रवासको संगठन जनसम्पर्क समिति पोल्याण्डलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय मार्फत नेपालबाट पठाउने सूचना र आधिकारिक पत्रहरु पठाउने पोल्याण्डको इमेल ठेगाना आजको दिनसम्म पनि सुवेदीको नै उल्लेख छ, जुन जोकोहीले पनि हेर्न सक्छन्।

अवसरमा आत्मकेन्द्रित व्यक्तिको रूपमा परिचित सुवेदी श्रीमतीलाई एनआरएन पोल्याण्डले सल्लाहकार नबनाएको भन्दै वर्तमान कार्यसमितिको समानान्तर समितिको रुपमा युवा संयोजक भीम परियारको नेतृत्वमा सुरु गरेका थिए । तर परियारलाई संस्थाको हितविपरीत लागेको भन्दै केही दिनअघि समितिले युवा संयोजकबाट बर्खास्त गरेको छ। त्यस्तै एनआरएन पोल्याण्डको संस्थापकहरुको नाम वेबसाइटबाट हटाएको र सुवेदीले आफ्नो मात्र नाम राखेको भन्दै संस्थापकहरुले प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेका छन्।

यसरी पोल्याण्डमा विवादास्पद छवि बनाएका सुवेदीलाई कन्सुलरजस्तो जिम्मेवारी नदिन परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी गराइसकेको बताइएको छ।

कर्तुतबाट बच्न कारिन्दाको प्रयोग

अहिले डा सुवेदी आफ्नो कर्तुतबाट बँच्न पोल्याण्डका केही आफ्ना कारिन्दाको प्रयोग गरी सामाजिक सञ्जालमा आफू गलत नभएको भनेर लेख्न लाइरहेका छन्। उनले भने समाचार आएको ७ दिनमा पोल्याण्डका नेपाली समुदायको चर्को दबाब भएपछि समाचारको खण्डन गरेका तर आधिकारिक विज्ञप्ति निकाल्न सकेका छैनन्।

उनी सदस्य रहेको एनआरएनए आइसिसीले उनको बचाउमा अहिलेसम्म केही बोल्न सकेको छैन। एनआरएनए पोल्याण्डले सन् २००९ को नयाँ वर्षको कार्यक्रम गर्ने भनेर सुवेदीले पदको दुरुपयोग गरी मानिस बोलाएको खुलेको छ।

अर्को ठूलो अवैधानिक काम त के छ भने सुवेदीले एनआरएनको अध्यक्षको हैसियतले सही गरेर पठाएको निमन्त्रणा पत्र ११ डिसेम्बर २००८मा लेखेका छन् । तर  अझै अचम्मको कुरा छ- एनआरएनए पोल्याण्ड २३ मे २००९ मा दर्ता प्रक्रिया सुरु गरेर २० जुन २००९ मा मात्र दर्ता गरेको रेकर्ड पोल्याण्ड सरकारको सम्बन्धित कार्यालयको वेबसाइटमा उपलब्ध छ ।

यस आधारमा हेर्दा डा. सुवेदीले एनआरएनए पोल्याण्ड दर्ता हुनुभन्दा पहिले नै गैरकानुनीरूपमा मान्छे भित्र्याउन पत्र पठाएको देखिन्छ । उनले आफ्नो पेशाप्रति पनि इमानदारिता देखाएको देखिँदैन । किनकि मानिस बोलाएको निमन्त्रणा पत्रमा आफू एक सर्जन डाक्टर भएको समेत उल्लेख गरेर आफ्नो पेशागत मर्यादाको समेत धज्जी उडाएका छन् ।

पोल्याण्डका सरोकारवाला के भन्छन्?

गैरआबासीय नेपाली संघ आईसीसी सदस्य डा.सुबेदी पोल्यान्डको अध्यक्ष रहदा गरेको मानब ओसारपसार बारे प्रश्न गर्दा संस्थापक महासचिब मित्रलाल पार्देले “उहाँले केही मानिस ल्याएको र सोही बखत डा.सुबेदीले गल्ति स्वीकार गर्दै माफी मागेको” यस सम्बाददातालाई बताए ।
गैर आबासीय नेपाली संघ पोल्यान्डका बर्तमान अध्यक्ष नरेश सापकोटा र महासचिव कविन्द्र सुवेदीले बक्तब्य प्रकाशित गर्दै डा. सुबेदीले आफु अध्यक्ष रहदा अबैधानिक रूपमा मानिस भित्राएकोबारे तत्कालिन समयमै कुरा टुगिएको र त्यस बिषयमा हालको कार्यसमितीको कुनै चासो नरहेको बताएका छन् ।

मानब तस्कर नै कन्सुलर बन्ने दौडमा भन्ने समाचार आएपछि प्रतिक्रिया बुझ्न खोज्दा डा सुबेदीले यो बिषयमा आफु केही नबोल्ने बताए ।
पोल्याण्डमा नेपालीको संख्यात्मक चाप बढेपछी सामान्य कागजी प्रक्रियाको निम्ति कन्सुलर अति आवश्यक भएकोले पोल्याण्ड समेत हेर्ने नेपाली दुतावास जर्मनीले कन्सुलरमा मानार्थ पर्यटन दूत समेत रहेका डाक्टर उदयदेव आचार्य र विवादमा मुछिएका डाक्टर बोधराज सुवेदीको नाम परराष्ट्र मन्त्रालयलाई सिफारिश गरेको छ। जर्मनीका राजदूत रमेश प्रसाद खनालले दुवै जनाको नाम मन्त्रालयमा सिफारिस गरेको पुष्टि गरे।