March 22, 2024, Friday
२०८० चैत्र ९, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चार वर्षमा सकियो १८ महिनामा सक्ने पुलको काम

चार वर्षमा सकियो १८ महिनामा सक्ने पुलको काम

बागलुङ- बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ ।

पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो ।

Advertisement

पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो । ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ ।

पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो । फाउन्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिलाइ भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारिक प्रतिनिधि कुमार खड्काले जानकारी दिनुभयो । “पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ”, खड्काले भन्नुभयो, “तीनपटक निर्माण गर्ने समयमा पुलका निर्माण सामग्री बगायो, एक श्रमिककै मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो ।”

पुल निर्माणसँगै गलकोट नगरपालिकाको केन्द्र मजुवाफाँट, हरिचौर र तारखोलालगायतका स्थानमा सिधा यातायात सेवा सञ्चालन हुने गलकोट नगरपालिका–३ हटियाका वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । ढिलै भए पनि पुल निर्माण सम्पन्न भएको छ तर पुलको दाँयाबाँयाको खोलामा तटबन्ध लगाउन आवश्यक रहेको भण्डारीको भनाइ छ ।